कर्मचारीले रातभर कार्यालयमै थुने टेलिकमका प्रबन्ध निर्देशक अधिकारीलाई

  २०७८ साउन ६ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीले प्रबन्ध निर्देशक डिल्लीराज अधिकारीलाई रातभर कार्यालयमा थुनेका छन् । कर्मचारीले राखेको माग पूरा नभएको भन्दै कर्मचारीले मंगलबार रातभर अधिकारीलाई कार्यालयमै थुनेका हुन् ।

पछिल्लो केही दिनयता टेलिकमका कर्मचारीहरु कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर आन्दोलित बनेका छन् । कर्मचारीसँग भएको सहमति अनुसार विनियमावली संशोधन नभएपछि कर्मचारीहरुले अधिकारीलाई कार्यकक्षमा थुनेका हुन ।

‘कर्मचारी विनियमावलीमा कर्मचारीका ‘जेन्युइन’ समस्या सम्बोधन गर्ने गरी संशोधन गर्ने सहमति भएको थियो तर, व्यवस्थापनले संशोधन गरेर पठाएको विनियमावलीमा हाम्रा माग सम्बोधन भएनन्, त्यसैको प्रतिक्रिया स्वरुप साथीहरुले उहाँसँग रातभर छलफल गरेछन्,’ टेलिकमका एक कर्मचारी नेताले भने ।

आधिकारिक कर्मचारी यूनियनले आज दिउँसोसम्म कर्मचारीको माग पूरा गर्ने सहमति भएपनि एमडी अधिकारीलाई विहान ५ बजेटतिर घर जान दिएका थिए ।

कर्मचारी विनियमावली २ वर्षदेखि संशोधनको प्रक्रियामा रहेको भएपनि कर्मचारी र व्यवस्थापनबीच सहमति हुन नसक्दा संशोधन भएको थिएन । कर्मचारी युनियनको सहमति अनुसार टेलिकम व्यवस्थाले विनियमावली संशोधन गरेर सहमतिको लागि लोकसेवा आयोग पठाएको थियो । संगठित संस्थाहरुले कर्मचारी विनियमावली बनाउँदा वा संशोधन गर्दा लोकसेवा आयोगको सहमति लिनुपर्ने व्यवस्था छ ।

तर, टेलिकम व्यवस्थापनले विनियमावलीमा गरेको केही व्यवस्था हटाएर वा संशोधन गरेर मात्रै कार्यान्वयन गर्न लोकसेवाले सहमति दिएको थियो । लोकसेवाले भने जसरी विनियमावली बनाउँदा कर्मचारीहरुले विगतदेखि उठाउँदै आएका मागको सम्बोधन नभएको कर्मचारी, व्यवस्थापन र संचालक समितिको साझा धारणा थियो ।

तर, विनियमावली पारित गरेर कार्यान्वयनमा ल्याउने र त्यसपछि संशोधन प्रक्रिया सुरु गरिहाल्ने सहमति भएपछि गत असार मसान्तमा कर्मचारी युनियनको असहमति रहेको विनियमावली पारित भएको थियो । विनियमावली पारित गरेर नयाँ संशोधन प्रक्रियामा आफूहरुका माग सम्बोधन नभएको भन्दै कर्मचारी युनियनले एमडी अधिकारीलाई रातभर कार्यकक्षमै थुनेका हुन् ।

यसअघि रहेको उक्त व्यवस्था केही दिन अघि लोकसेवा आयोगले परिमार्जन गरेको थियो । यसअघि उप प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्षपछि स्वतः अवकासमा जानुपर्ने व्यवस्था रहेको थियो ।

तर, नयाँ विनियमावली अनुसार यस किसिमको क्यापिङ हटेको छ । क्यापिङ हटाउँदा तल्लो तहका कर्मचारीको वृत्ति विकासमा अवरोध हुने भन्दै कर्मचारी युनियनले यसको विरोध गर्दै आएका छन् ।

सञ्चार मन्त्रालय मन्त्री विहीन हुनु र टेलिकमका अध्यक्ष समेत रहेका सञ्चार सचिव हरिप्रसाद बस्याल भोलिबाट अनिवार्य अवकाश पाउने भएपछि कर्मचारीहरुले दबाद दिन प्रबन्ध निर्देशक अधिकारीलाई माग सम्बोधन गर्न कार्यालयमै थुनेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.