जनकपुर–जयनगर रेल सञ्चालनकाे सबै तयारी पुरा, दुई देशबीच समझदारी हुन मात्रै बाँकी

  २०७८ साउन ६ गते ११:१९     विकासन्युज

काठमाडाैं । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी कार्यक्रम राखिएको थियो । अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ । उनले भने, ‘पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने हो ।’

भारत सरकारले नेपाल सरकारलाई रेल सञ्चालनका लागि बनाएको सबै संरचना हस्तान्तरण गर्ने महाप्रबन्धक भट्टराईले बताए । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका रेलको ट्र्याक, स्टेशन, भवन, आवास भवन, कम्प्युटरलगायतका सामग्री विधिवत् हस्तान्तरण हुनेछ । दुई देशबीच रेल सञ्चालनका लागि आवश्यक पर्ने अरु कागजात आदानप्रदान गर्नुपर्ने उनले बताए । भारतको सरकारी कम्पनीसँग गरेको समझदारीको कागजात पनि आदानप्रदान गर्न बाँकी छ । उनले भने, ‘यी तीनवटै विषयमा कागजात आदानप्रदान गर्ने कार्यक्रम थियो, सरकार परिवर्तनले गर्दा केही दिन ढिला भएको छ ।’

कम्पनीले रेल सञ्चालनका लागि आवश्यक जनशक्ति पनि तयारी गरेको छ । रेल सञ्चालनमा संलग्न जनशक्तिलाई तालिम दिइएको कम्पनीले जनाएको छ । तीन जना भारतीयले तालिम दिएका थिए भने पाँच/छ जना भारतीय एक/दुई दिनभित्र ल्याउन लागिएको छ । अब आउन लागेका व्यक्तिले रेलको संरचनाका बारेमा र सञ्चालन खाकाका बारेमा जानकारी गराउने उनले बताए । उनले भने, ‘कसको जिम्मेवारी के हो र कसरी गर्ने भनी बुझाउने काम हुनेछ ।’

रेल सञ्चालनका लागि आवश्यक परीक्षण सकिएको छ । ‘ट्रायल ट्र्याक टेस्ट’ भइसकेको महाप्रबन्धक भट्टराईले बताए । उनका अनुसार ट्र्याक, सिग्नल काम गरे÷नगरेको हेरिएको छ । रेल सञ्चालन गर्नुभन्दा पहिले ट्र्याकमा सवारी साधन ल्याएर ठीक छ/छैन हेर्नुपर्ने उनले बताए । ट्र्याकमा समस्या छ/छैन भनी त्यसमा सवारी साधन दौडाएर हेरेर मात्रै जानकारी हुने उनले बताए । परीक्षणका क्रममा ‘एलाइनमेन्ट’ तलमाथि छ कि भनेर हेरिएको थियो । रेल सञ्चालनका लागि ट्र्याक उपयुक्त छ भनेर प्रमाणीकरण गर्नुपर्नेमा त्यो काम भइसकेको उहाँले जानकारी दिए ।

एक वर्षयता रेल सञ्चालनका विषयमा सरकारले पटक–पटक भारत सरकारसँग कुराकानी गरिरहेको छ । भारतीय पक्षले नेपालमा छिटो सञ्चालन होस् भनी घच्घच्याइरहेको कम्पनीले जनाएको छ । अहिले कोभिड सङ्क्रमणको त्रास भए पनि भारततर्फ जयनगरसम्म जानका लागि बाधा नहुने उनले बताए । अरु सार्वजनिक सवारी साधन चलिरहेकाले रेल पनि आपसी छलफलपछि चलाउन सकिने उनले बताए । त्यसका लागि दुई देशका सरकारको तहबाट निर्णय गर्नुपर्छ । अहिले तत्कालका लागि जयनगर–जनकपुर चलाउने भन्ने छलफल भइरहेको छ । रेल चलेपछि नेपालबाट भारत र भारतबाट नेपाल दुवैतर्फ नै आवतजावत हुनेछ । उनले भने, ‘त्यसैले पनि दुवै देशका प्रतिनिधि बसेर छलफल गरेर टुङ्ग्याउनुपर्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले केही समय पहिले रेलसम्बन्धी अध्यादेश स्वीकृत गर्नुभएको थियो । अध्यादेश आएको ६० दिनभित्र संसद्मा पेश गर्नुपर्ने व्यवस्थानुसार अहिले त्यो पेश भइसकेको छ । प्रतिनिधिसभा विघटन हुनुपूर्व पनि संसद्मा रेलसम्बन्धी अध्यादेश संसद्मा पेश भएको थियो । सोही विधेयक नै अध्यादेशका रूपमा सरकारले ल्याएको थियो । अहिले पुनः संसद्मा टेबुल भएकाले त्यसलाई अघि बढाउनुपर्ने महाप्रबन्धक भट्टराईले बताए ।

कम्पनीले रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका जनशक्ति तयार गरिसकेको छ । त्यसमा नेपाली र भारतीय गरी दुवै किसिमका जनशक्ति छन् । नेपालमा रेल सञ्चालनको अनुभव भएका जनशक्ति नभएकाले भारतबाट करारमा जनशक्ति ल्याइएको हो । अहिले आवश्यकतानुसार जनशक्ति आएर तालिम दिइएको उनले बताए । अहिले तत्कालका लागि आवश्यक केही भारतीय तत्काल आउने र बाँकी चालक दलका सदस्यहरु रेल चलाउने मिति तय हुनासाथ आउनेछन् । कम्पनीमा २०० नेपाली र २६ भारतीय कर्मचारी रहने जनाइएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँचवटा रेलमार्ग अघि बढाइने सहमति भएको थियो । त्यसमध्ये सबैभन्दा पहिले जयनगर–कुर्था निर्माण भइसकेको छ । कुर्थाबाट बर्दिबाससम्मको रेलमार्ग निर्माण पनि अघि बढेको छ । जयनगर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाल सरकारले गत आवमा भारतीय सरकारी कम्पनीसँग रेल सेट खरिद गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.