वर्षाका कारण १३ सङ्घीय सडक अवरुद्ध, असारयता ७३ सडक एकतर्फी सुचारु

  २०७८ साउन ५ गते २०:२१     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । असारदेखि निरन्तर वर्षाका कारण हाल १३ सङ्घीय सडक अवरुद्ध बनेका छन् । असारयता १३२ सडक अवरुद्ध भएकामा ७३ सडक हाल एकातर्फबाट मात्रै सुचारु रहेको सडक विभागले जनाएको छ ।

दैलेख जिल्लामा कर्णाली राजमार्गका जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा सडक आज अवरुद्ध बनेको छ । रसुवा जिल्लाको ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक असार २७ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन ।

सो सडकको त्रिशूली खोला, सानो भार्खु खोला, गाँजाबारीमा अवरुद्ध छ । यस सडकखण्ड तत्काल मर्मत गर्नुभन्दा पनि वैकल्पिक सडक बनाइएको छ । यस खण्डमा वर्षात्को समयमा धेरै ठाउँमा पहिरो खस्ने र निर्माण गरे पनि अवरुद्ध हुने भएकाले वैकल्पिक सडक खुलाइएको हो ।

डुम्रे–बेँसीशहर–चामे सडकअन्तर्गत लमजुङको रामबजार, अर्गले, च्याम्चेलगायतका स्थानमा सडक अवरुद्ध छ । अरनिको राजमार्गको लिपिङ्ग पुल अवरुद्ध छ । डुम्रे–बेँसीशहर–चामे सडकअन्तर्गत तनहुँ जिल्लाको भन्सारमा गत महिना १७ गतेबाट अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । सोही सडकको तिमाङ छहरा सडक अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन ।

सङ्घीय सडकअन्तर्गतका विभिन्न सडक असारदेखि अवरुद्ध भएकामा दुवैतर्फ सञ्चालन हुन नसकेका स्थानमा विभागले एकातर्फ मात्रै खुलाएर सवारी सुचारु गरिएको छ ।

तत्काल पूरै सडक खुलाउन नसकिने स्थानमा पनि एकातर्फको पहिरो पन्छाएर पैदलयात्रु र सवारी साधन चल्न सक्ने बनाइएको विभागले जनाएको छ । सडकमा पहिरो खसेपछि खुलाइएको भए पनि सडक वा पुल नै बगाएका स्थानमा बढी समय लागेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको पिपलडाँडा, साँफेबगर–मार्तडी–कोल्टी सडक बल्दे–अमकोट खण्डमा सडक अहिले एकातर्फबाट मात्रै सञ्चालनमा छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको बाङ्गेसिमल, कालाखाला सैनसडकखण्ड, दरबाटे, बोटखाला सडकखण्ड पनि एकातर्फबाट मात्रै सञ्चालनमा छ ।

खोड्पे–चैनपुर सडक बैतडीको ढोल्यामोड र बझाङको तमैल कचाली र हडडे खोला, रिला, वलेनामा आंशिकरुपमा मात्रै सञ्चालनमा आएको छ । कालीकोटमा बालीघाट, धनाडा र भिग्ममा सडक एकातर्फबाट मात्रै सञ्चालनमा ल्याउन सकिएको छ ।

विभागअन्तर्गतका डिभिजन सडक कार्यालय र हेभि इक्युपमेन्ट कार्यालयले अवरुद्ध सडक खुलाइरहेका छन् । ती कार्यालयले आफूसँग भएका उपकरण र आवश्यक भएमा अरु कार्यालयबाट थप उपकरण माग गरेर अवरुद्ध खुलाइरहेका हुन् । चालू आवमा बढी वर्षा भइरहेकाले धेरै सडक अवरुद्ध छन् ।

असारको पहिलो सातामा नै भारी वर्षा भएकाले अहिलेसम्म धेरै क्षति भएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । उनका अनुसार चालू आवमा गत आवभन्दा बढी क्षति भएको अनुमान गरिएको छ । त्यहाँ कति रकम बराबरको क्षति भएको छ भनी यकिन भने छैन । उनले भने, “प्राविधिक गएर हेरेपछि मात्रै वास्तविक क्षति थाहा हुनेछ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.