पालिका भित्रका प्रत्येक घरमा खानेपानीसम्बन्धी कामलाई पूर्णता दिइसकेका छौं – अध्यक्ष खापुङ्ग

  २०७८ साउन ५ गते १७:४९     विकासन्युज

मेन्छयायेम गाउँपालिका प्रदेश १ अन्तर्गतको तेह्रथुम जिल्लामा अवस्थित गाउँपालिका हो । राज्यको पुनर्संरचना अनुसार यस स्थानीय तहको नामाकरण स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा गरिएको हो ।

संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारले जिम्मेवारी लिएपछि स्थानीय तहमा अहिले कामको चाप बढ्दो नै छ । मेन्छयायेम गाउँपालिका अन्य स्थानीय तहको तुलनामा स्रोत, साधन र जनशक्तिका हिसाबले अब्बल मानिन्छ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ ।

यसैक्रममा, स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि हालसम्म गाउँपालिकामा सञ्चालन गरिएका योजनाहरू, गाउँपालिकाले कोरोना रोकथाम एवं नियन्त्रणका लागि गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङ्गसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ?

कोरोना संक्रमणमहामारीको असर नपरेको क्षेत्र र स्थान कुनै छैन । यस महामारीबाट हाम्रो पालिका पनि अछुतो रहन सकेन । गाउँपालिकामा पनि जब कोरोना संक्रमणको दोस्रो लहर सुरुभए लगत्तै महामारीलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्री तथा अक्सिजनको जोहो गर्ने, जो संक्रमितहरु भएका छन् उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ भने घरमै होम आइसोलेसनमा बस्नको लागि आग्रह गर्ने जस्ता काम गर्दै आएका छौं । संक्रमितलाई अस्पताल पुर्याउन लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरेका छौं । लक्षण देखिएका तथा शङ्कास्पद सबैको परीक्षण निःशुल्क गर्दै आएका छौं । महामारी नियन्त्रण गर्नेको लागि जिल्लाको निष्कर्ष बमोजिम निषेधाज्ञा जारी गर्दै आएका थियौं तर हाल निषेधाज्ञा खुकुलो छ ।

यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्य चौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ भने गाउँपालिकाले २० बेडको आइसोलेसन सेन्टर पनि छ । पालिकामा संक्रमित भएका बिरामीहरूलाई अक्सिजन दिएर हालसम्म राख्नु परेकोछैन । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । गाउँपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारणपनि गरेका छांै ।

कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ?

पालिकामा हालै राहतका कार्यत्रमहरु बाढि हाल्नु पर्ने अवस्था छैन । राहत नै बाढि हाल्नु पर्ने परिवार गाउँपालिकामा हुँदैन । हाम्रो पालिकामा के हुन्छ भने पहाडको ठाउँ, सबैको सामान्य आफ्नो जग्गा जमिन हुन्छ । किसानहरूलाई आफ्नो खोतीबाट खान पुगि रहेको छ । परिवारका सबै जना संक्रमित भए भने, जो कोभिड प्रभावित छन्, जसले ज्याला मजदुरी गरेर परिवार पाल्छ, जसले यो समयमा कामै गर्ने सक्दैन, त्यस्तो व्यक्तिलाई मात्र हामीले राहत दिन्छौं । पालिकामा राहत कोष पनि छ । तर, हालसम्म राहत वितरण गर्नु पर्ने अवस्था आएको छैन ।

तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के के भए ?

हो, लामो समय पछि संघीयता आएको र स्थानीय तहको नेतृत्व सम्हालेको पनि करिव ४ वर्ष पुगिसकेको छ भने हामी अन्तिम वर्षको कार्यकालको दौरानमा छौं । हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर वा जीर्ण थियो । आजसम्म आइपुग्दा गाउँपालिकाको समग्र क्षेत्रमा विकास र परिवर्तन भएको अवस्था छ । हाम्रो पालिकामा ६ ओटा वडा छन् । यसै सन्दर्भमा सर्वप्रथम हामी निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । त्यसै गरी हामीले सडकको स्तरोन्नती पनि गरेका छौं ।

शिक्षा क्षेत्र तर्फ पनि धेरै काम भएका छन् । डिजिटल प्रणालीबाट सबै विद्यालयमा अध्यान अध्यापन गराउने भनेर नेट जडान, कम्प्युटर वितरण गर्ने काम पनि गरेका छौं । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं भने शैक्षिक सुधारका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् ।

सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ । खेतबारीमा पानी पुर्याउनको लागि सबै ठाउँमा कुलोको स्थापना भइसकेको छ । पालिका भित्रका प्रत्येक घरमा खानेपानीसम्बन्धी कामलाई पूर्णता दिइसकेका छौं । बर्षायामको सुरुवातसँगै धेरै ठाउँमा बाढि पहिरो, भूक्षय हुँदा कहिले काई कुलो भक्तकिने, खानेपानीको मुहानमा समस्या आउने हुन्छ, त्यसलाई मर्मत सम्भार मात्र गर्नु पर्छ । पालिकामा अब खानेपानीको नयाँ निर्माणको काम गर्नु पर्दैन ।

निर्वाचित पस्चात हामीले पालिकामा प्रविधि युक्त १५ शैया बेडको अस्पताल पनि सञ्चालनमा ल्याएका छौं । त्यस्तै,सबै वडाका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छौं भने ६ वटौ वडामा स्वास्थ्य इकाईको स्थापना गरेका छौं । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ ।

स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के– कस्ता चुनौती र समस्या आए त ?

स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सङ्घीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । हाम्रो जस्तो पहाडी भूभाग भएको ठाउँमा अनेक हुन्छ, बनाउँदै गयो भत्किँदै जान्छ । पूर्वधारको काम त निरन्तर नै चली रहन्छ । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । गाउँपालिकाले दरबन्दी सिर्जना कर्मचारीहरू पनि राखेको छ । विकासको निर्माणको काम गर्ने समयमा हामी कोभिडको सामना गरी रहेका छौं । थोरै विकास निर्माणको काम गर्नको लागि धेरै बजेको आवश्यकता हुन्छ ।

स्थानीयस्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ?

युवा लक्षित गर्दै पालिकामा विभिन्न कृषि र पशुपालनका सिपमूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । गाउँपालिकाका युवाहरूलाई प्रविधिसँग सम्बन्धित तालिमहरू सञ्चालन गर्दै आएका छौं । सबै व्यवसायी युवाहरूलाई सिप युक्त बनाएका छौं । युवाहरूलाई कृषि र पशुपालनमा जोडिनको लागि आग्रह गरेका छौं । कृषि र पशुपालन गर्नको लागि पनि हामीले प्रोत्साहन गरेका छौं । सिपमूलक भए बसेका धेरै युवाहरूले रोजगारी पाएका छन् । युवा स्वरोजगारको लागि हामीले जोड दिइरहेका छौं । युवाहरूको समूह गठन गरी युवाहरूलाई कृषिमा अनुदान दिने व्यवस्था मिलाएका छौं ।

कृषिका अतिरिक्त केही मानिसहरू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार व्यवसायमा संलग्न भएका छन् । तर, धेरै जसो पालिकामा निर्वाहमुखि कृषि प्रणाली छ । निर्वाहमुखि कृषि प्रणालीलाई व्यावसायिक बनाउनको लागि पालिकाले सबैलाई आग्रह गरेको छ । पालिकाको विकास निर्माणको काममा पनि युवाहरूलाई परिचालन गर्दै स्वरोजगार बनाइरहेका छौं । यहाँ कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य वैकल्पिक रोजगारीका अवसरहरू खोजी गरेको पाइन्छ । ‘एक घर एक रोजगार’ ‘एक घर एक उद्योग’ लाई प्राथमिकता दिएर अगाडि बढ्ने लक्षय पनि राखेका छौं ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

पालिकाका वासिन्दाहरुलाई के अनुरोध गर्न चाहन्छु भने अहिलेसम्म गाउँपालिकाले गरेको कामलाई पालिकावासिहरुले पनि बुझिसक्नु भएको छ । विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएको होइन बरु यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । त्यति हुँदाहुँदै पनि कहिलेकाहिँ भनेजस्तो काम हुन सकिरहेको हुँदैन । तर, हामीले पालिकामा जति पनि विकास निर्माणको काम गर्यौं त्यो काम उपलब्धिमुलक नै छ भन्ने मलाई लाग्छ ।

भौगोलिक रूपमा दुर्गम भएता पनि भौगोलिक विविधता, प्रशस्त पानीको स्रोत, घना जङ्गल, चरण क्षेत्र, मलिला बेसीका कारण कृषि, पशु र पर्यटनको प्रशस्त सम्भावना बोकेको मेन्छयायेम गाउँपालिका यिनै सम्भाव्यताको व्यावसायिकीकरण गर्दै समृद्ध पालिका बनाउनु पर्छ पनि भन्न चाहन्छु । हाम्रा तमाम जनतालाई कसरी व्यावसायिक बनाएर अगाडि बढाउने भन्ने नै गाउँपालिकाको खास कार्यक्रम हो । जसले जे काम गर्छ त्यो चाहिँ व्यावसायिक रूपमा सञ्चालन गर्ने र उसले कम्तीमा उत्पादन गरेको बस्तुलाई बजारमा लगेर बचेन सकोस् भनेर हामीले काम गरी रहेका छौं । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेको लागि गरेका छौं ।

नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं ।