सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौं: गृहमन्त्री खाँड

  २०७८ साउन ५ गते ११:०५     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताएका छन् ।

गृहमन्त्री खाँडले बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका हुन् ।

‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ,’ उनले भने ।

राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबार भएको भेटमा खाँडले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समेत रहेका उनले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताए ।

महासंघका अध्यक्ष मिनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराएका थिए ।

महासंघका अध्यक्ष कँडेलको नेतृत्वको टोली गृहमन्त्री खाँडलाई भेटेर सफल कार्यकालको शुभकामना दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.