खोप कार्यक्रमको महानगरमा समीक्षा : पालिकाहरुलाई योजना बनाउन नदिनु कमजोरी

  २०७८ साउन ३ गते १७:०९     विकासन्युज

काठमाडौँ । काठमाडौं उपत्यकामा एउटै समयमा खोप कार्यक्रम चलाउनु पर्ने महानगरले निष्कर्ष निकालेको छ । यसअघि सञ्चालन गरिएको कोरोना विरुद्धको खोप अभियानको समिक्षामा गर्दै महानगरको जनस्वास्थ्य विभागले उक्त निष्कर्ष निकालेको हो ।

उपत्यकाका ३ जिल्लामा एकै समयमा कार्यक्रम सञ्चालन नगर्दा पहिलो सञ्चालन गर्ने पालिकामा अन्य पालिकाबाट खोप लगाउन मानिसहरु आउने भएपछि व्यवस्थापकीय समस्या थपिने विगत सिकाइ हेरेर यस्तो निष्कर्ष निकालिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य, जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, विभागका अधिकारी र खोप संयोजकविच सम्पन्न समीक्षामा खोपको अभाव, खोप लगाउन दबाब तथा माग र आपूर्तिको सन्तुलन नमिल्दा सिर्जना भएको सुरक्षा खतरासम्मका कुरा उठेका थिए ।

खोप व्यवस्थापनका लागि पालिका स्तरबाट योजना निर्माण नदिइ माथिल्ला निकायले मिति र समय तोकेर खोप चलाउन निर्देशन दिएपछि खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएन । अत्यावश्यक सेवामा काम गर्नेलाई खोप दिनु पर्नेभएपछि कम उमेरकाले खोप पाए, तोकेका उमेरका व्यक्तिले पाएनन् भन्ने गुनासा प्रशस्तै छन् । समीक्षामा खोप संयोजकहरुले केन्द्रमा आफूले भोगेका समस्या सुनाएका थिए ।

समन्वय समितिका प्रमुख राजवैद्यले, खोप कार्यक्रम पालिकाले योजना बनाएर पालिकाले नै चलाउनु पर्ने धारणा राखेका थिए । यसअघि जिल्ला खोप समन्वय समितिको बैठकमा आफूले महानगरका वडास्तरमा खोप केन्द्र सञ्चालन हुनुपर्छ भन्ने धारणा राखेको बताउँदै उनले खोपका विषयमा जनप्रतिनिधि बेखवर जस्तै बन्नु परेको बताए ।

उनले खोप कम भएको र माग धेरै हुँदा व्यवस्थापकीय जटिलता सिर्जना भएको बताए ।

खोप कार्यक्रम चलाउन योजना बनाउने समय नै पाइएन । खोप चल्ने अघिल्लो दिन अबेर गरी माथिल्ला निकायबाट परिपत्र हुने गरेका छन् । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘कार्यक्रम सञ्चालन हुने दिन पनि समयमा हामीलाई सामाग्री प्राप्त हुँदैन । प्राप्त भएका सामाग्री पनि अधुरा हुन्छन् । खोप हुन्छ, कार्ड हुँदैन । कार्ड हुन्छ, खोप हुँदैन ।’

खोप सञ्चालनका विषयमा माथिल्ला निकायबाट समयमा र स्पष्ट निर्णय हुन नसकेका कारण लाभग्राहीलाई उत्तर दिन आफूहरुलाई कठिन भएको जनस्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलेको भनाइ छ ।

काठमाडौँका ठूला अस्पतालमा अरु रोगको उपचार गर्न आउने विरामीहरुको त्यत्तिकै पनि भीड हुन्छ । त्यस भीडमा लगेर कोभिडको खोप केन्द्र राखिनु आफैँमा बैज्ञानिक छैन । महानगरका कोविड खोप फोकल पर्सन ज्ञानबहादुर ओली भन्छन, ‘काठमाडौँ महानगर आफैँ खोप कार्यक्रम चलाउन सक्षम छ । कन्ट्याक ट्रेसिङ, पीपीआर र एन्टिजेन परीक्षणजस्ता जोखिमपूर्ण काम गर्ने महानगरले खोप चलाउन नसक्ने भन्ने कुरै आउँदैन ।’

सरकारले भोलिदेखि ६ गतेसम्म ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ बर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एण्ड जोन्सन खोप दिँदैछ ।

महानगरमा यस अघि सञ्चालन भएका खोप कार्यक्रम विचबाटै रोकिएको घटना नदोहारियोस् भनेर लक्षित समूहको वडागत अनुमानित विवरण जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको छ । ०६८ को जनगणना र जनसंख्या वृद्धि दरलाई विश्लेषण गर्दै विभागले करीव ७६ हजार खोप आवश्यक पर्ने आँकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.