३० जना दरबन्दी हुनुपर्ने पालिकामा ९ जनाले चलाइरहेका छौं – गाउँपालिका अध्यक्ष तामाङ

  २०७८ असार २९ गते १८:१७     विकासन्युज

मुलुकमा तीन तहको सरकार भए पनि नागरिकलाई गाह्रोसाह्रो पर्दा गुनासो गर्न सजिलो र नजिकको सरकार भनेकै स्थानीय तह हो । आमाछोदिङमो गाउँपालिका बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा अवस्थित एक गाउँपालिका हो । अन्य गाउँपालिका सरह यो पनि विकास र सम्बृद्धितर्फ उन्मुख हुँदै गएको छ । तरपनि केही समयदेखि भने यो गाउँपालिका कोरोना महामारीको चपेटामा परेर निक्कै प्रभावित बन्न पुगेको छ ।

यसैक्रममा, हिजोआज गाउँपालिकाले कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गरिरहेको गतिविधि, स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ सो कुराकानीको सम्पादित अंश :

अहिले कोभिड १९ नियन्त्रणका लागि गाउँपालिकाले के गरिरहेको छ ?

कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम चालेका छौं । विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । महामारी नियन्त्रण गर्नेको लागि जिल्लाको निष्कर्ष बमोजिम निषेधाज्ञा जारी गर्दै आएका थियौं तर हाल निषेधाज्ञा खुकुलो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्य चौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ भने गाउँपालिकाले ५ बेडको आइसोलेसन सेन्टर पनि बनाएको छ ।

समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । त्यसैले धेरै मानिसहरू संक्रमित हुनबाट जोगिए । गाउँपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । हामीले गत वर्ष कोरोना संक्रमण सुरु हुँदा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, राहत वितरण लगायतको कामहरु पनि गर्दै आएका थियौं। कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारणको पनि व्यवस्था गरेको छ ।

गाउँपालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?

पालिकामा महामारी गत वर्षभन्दा यस वर्ष व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । पालिकाको हाइड्रोपावरको ड्याममा चाहिँ ३१ जना संक्रमित भएका छन् भने पालिकाले परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम केके भए नि ?

हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता अनि पूर्वाधारको अवस्था निकै कमजोर एवं जीर्ण थियो । हामी पालिकामा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू धेरै भएका छन् । निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । अहिले हरेक वडामा सडकको पहुँच पुगेको छ भने टोलटोलमा सडक पुर्याउन पनि सफल भएका छौं । सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ ।

स्थानीय सरकार बनेपछि पालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षा क्षेत्र तर्फको कुरा गर्दा गुणस्तरीय शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । स्वास्थ्यको क्षेत्रमा पनि हामीले महत्वपुर्ण काम गरेका छौं भने प्रत्येक वडामा स्वास्थ्य इकाईको स्थापना गरेका छौं । गाउँपालिका पनि विस्तारै विकास र सम्बृद्धितर्फ उन्मुख हुँदै गएको छ । हामी निर्वाचित भएर आएपछि हरेक क्षेत्रमा सुधार र परिवर्तन आएको छ ।

स्थानीय तहको नेतृत्व सम्हाल्नुभएको धेरै भएको छ भने अनुभव पनि धेरै बोटुल्नु भएको छ, स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न के–के काम गर्नुपर्ने रहेछ ?

स्थानीय तहलाई प्रभावकारी नै बनाउने हो । यहाँका यावत समस्यालाई समेट्दै अनि समस्याको समाधान गर्दै अगाडि बढ्नु पर्ने रहेछ । निति नियम र कानुनको पनि राम्रो व्यवस्था गर्नुपर्ने रहेछ । साँच्चै पालिकाको विकास गर्नको लागि सबै संस्थाहरूले समन्वय गरेर सरसल्लाह गरेर त्यसै अनुसार यहाँको आवश्यकता परिपूर्ति गर्दै आ–आफ्नो क्षेत्रको काम राम्रो सँग गर्नुपर्छ । प्रदेश र केन्द्रको सहयोगमा नै स्थनीयतहको विकास हुँदैछ । हामी जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्छ । नागरिकको हरेक समस्यासँग जानकारी राख्दै स्थानीय नागरिकको अपेक्षा र मागअनुसार साधन र स्रोतले भ्याएसम्म विकासको काम गर्नुपर्छ । पालिकाको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीको मनोबल उच्च पारेर काम गर्दै कर्मचारीसँग भएको क्षमतालाई स्थानीय सरकारले सदुपयोग गर्ने स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने मात्र राम्रो हुने रहेछ भन्ने अनुभव प्राप्त भयो ।

स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के–कस्ता चुनौती र समस्या आए त ?

स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सङ्घीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल पनि पालिकामा कर्मचारीको अभाव नै छ । ३० जना दरबन्दी हुनुपर्ने पालिकामा ९ जनाले चलाईरहेका छौं । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । विकास निर्माणको काम गर्ने वा कार्यान्वयनमा गराउने बेलामा हामी कोभिडको सामना गरी रहेका छौं ।

स्थानीय बासिन्दाको माग कसरी सम्बोधन गरिरहनुभएको छ ?

हामी जनताबाटै निर्वाचित भएर आएका हौँ । जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन निकाय तथा तह नै स्थानीय तह हो । मानिसहरूको आवश्यकता असीमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । यति हुँदाहुँदै पनि ठ्याक्कै भनेजस्तो काम हुन सकेको छैन । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं ।

अनि अहिलेका चुनौतीको रूपमा खडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि समग्र पालिकावासीलाई आग्रह गर्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.