ब्रोकरको संख्या थपेर मात्रै बजारको विकास हुँदैन, बजारका विकृति रोक्न स्ट्रङ्ग डेटाबेस चाहिन्छ

  २०७८ असार २५ गते १८:२६     विकासन्युज

काठमाडौं । बोकर्स एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको संख्या थपेर मात्रै बजारको विकास नहुने बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीति तथा कार्यक्रमको लागि सुझाव दिँदै उनले सो बताएका हुन् ।

उनले बजारको पहुँच विस्तारको लागि हाल भएका ब्रोकरको नै क्षमता बढाउन आवश्यक रहेको बताएका छन् ।

‘त्यसैगरी बजारको पहुँच विस्तारको लागि हामीले खाली ब्रोकरको संख्या थप्नु पर्छ भनेका छौं । तर ब्रोकरको संख्या थपेर मात्रै बजारको विकास हुँदैन जस्तो लाग्छ, त्यसको लागि अन्य विकल्पमा जाँदा उचित होला, जस्तै, अहिले भएका ब्रोकरको नै क्षमता अभिवृद्धि गरेर, प्रावधानहरु बलियो बनाएर अगाडि बढ्यो भने छिटो बजारको पहुँच विस्तार हुन्छ,’ उनले भने ।

यस्ता छन् उनले राखेका सुझावहरू

हाल लगानीकर्ताहरुबाट समयमा सेयर नपाउने, रकम नपाउने भन्ने जस्ता गुनासाहरु आएका छन्, तीमध्ये धेरै गुनासाहरु हाम्रो प्रणाली टेक्नोलोजी फ्रेण्डली नभएको कारणले गर्दा आएका छन् । किनभने हाम्रो मार्केटमा जति पनि इन्टिटीहरुले प्रयोग गरेको प्रणालीहरु छन्, ती अन्तर आवद्ध छैनन् । त्यसले गर्दा एउटा एपीआई पोलिसी डिफल्ट स्ट्याण्डर्ड नै बनाउने हो की । जति पनि मार्केट पार्टिसिपेन्टहरुले प्रवाह गर्ने प्रणालीहरु एपीआईको माध्यमबाट एक अर्कामा आवद्ध हुन सक्ने एउटा पोलिसी बनायौं भने अहिले आएका ८० प्रतिशत गुनासा त्यसै हराएर जान्छन् । र, बाँकी ब्रोकरहरुले मिहिनेत गर्ने हो भने कत्ति पनि गुनासा बाँकी रहँदैनन् ।

अर्को, ब्रोकरहरुलाई संस्थागत बनाउने भन्ने विषय चर्चामा आईरहेको छ । त्यसको लागि प्राइभेट कम्पनीहरुलाई पब्लिकमा लैजाने भन्ने पनि छ । तर पब्लिक भनेको कस्तो हो त्यसमा हामी ब्रोकर क्लियर हुनु पर्छ । पब्लिकलाई अफर गर्न नपाउने खालि प्राइभेटलाई पब्लिक बनाउने हो भने यसले नराम्रो विकृति फैलाउँछ । त्यस्तै, संस्थागत बनाउँ पब्लिकमा लैजाउँ, तर पब्लिक मै अफर गर्न सक्ने गरी अगाडि बढ्यौं भने यसले पार्टिसिपेन्ट पनि बढाउँछ, ब्रोकर कम्पनीको सबै क्षमतालाई बलियो बनाउँछ । तर खालि प्रालिलाई पब्लिकमा लाने गरी अगाडि नबढौं ।

अहिले ब्रोकरलाई सस्पेन्स गर्ने, कम्पनीलाई सस्पेन्स गर्ने खालका केही नीति नहुँदा यसमा पुनर्विचार गर्न जरुरी छ । किनभने आजको दिनमा कुनै लगानीकर्ताले ब्रोकर कम्पनी परिवर्तन गर्छु, अथवा कुनै ब्रोकर सस्पेन्सनमा गयो भने अर्को कुनैबाट कारोबार गर्छु भन्ने हो भने पनि हामीले दुई दिन लाग्ने प्रणालीमा काम गरिरहेका छौं । त्यसैले एक्कासी कुनै सस्पेन्स हुँदा त्यसको प्रत्यक्ष मार बिनाकारण लगानीकर्तालाई नै पर्छ । त्यसैले सस्पेन्स गर्ने भन्दा पनि कार्वाहीका अन्य कुनै विकल्पमा जाने, फाइनान्सियल पेनाल्टी लगाउने जस्ता गृहकार्य गर्दा उचित हुने छ ।

कम्पनीले प्रकाशित गर्ने विवरणहरु एकदमै अप्रयाप्त छन् । विशेष गरी हाइड्रोपावर कम्पनीले हाल प्रकाशित गरेका विवरण मार्फत लगानीकर्ताले २० प्रतिशत जानकारी पनि पाउँनुहुँदैन । धेरै इन्फरमेशनहरु हिडन छन् । योसँगसँगै कर्पोरेट बोण्डमा पनि लगानीकर्ताले प्रर्याप्त जानकारी पाएका छैनन् । यसमा विशेष ध्यान दिन जरुरी छ ।

पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसको केही देशमा ब्रोकरले प्रदान गर्छन् भने केही देशमा छैन । हामीकोमा पनि उक्त सुविधा ब्रोकरलाई दिइयो भने लगानीकर्ताले पाउने सबै सुविधा एकै ठाउँबाट पाउनेछन् । त्यस्तै, भौतिक रुपमा ब्रोकरको उपस्थित नभई लगानीकर्ताहरु पुँजीबजारमा प्रवेश गर्न सक्ने गरी डिजिटल केवाईसी र सेन्ट्रल केवाईसीको कन्सेप्ट आएको छ । यसलाई छिट्टै कार्यान्वयनमा लैजानु पर्ने छ ।

बोर्डले सञ्चालनमा ल्याउने भएको सेटलमेन्ट ग्यारेन्टी फण्डले बाईसाईडबाट हुने जोखिलाई कभर गर्ला तर सेल साइडबाट हामीले कुनै पनि कारोबारलाई एस्योर गर्न सकेका छैनौं । त्यसको लागि एक्सन मार्केटको व्यवस्था छ, त्यसलाई छिट्टै सञ्चालनमा ल्याईयोस् ।

साथै, बजारमा भएको विभिन्न विकृतिहरु जस्तै, इन्साईडर ट्रेडिङ्ग, सर्कुलर ट्रेडिङ्ग लगायतका विभिन्न विकृतिलाई ट्रयाक गर्न तथा कारवाही गर्नको लागि स्ट्रङ्ग डेटाबेस चाहिन्छ । स्ट्रङ्ग डेटाबेस भन्नाले कम्पनीको इन्साइडरहरुको डेटाबेस, अर्को आर्टिफिसियल इन्टिलिजेन्सको अधिकतम प्रयोग गर्नु पर्यो । यसलाई प्राविाधिक प्रणालीबाट मात्रै हटाउन सकिन्छ, त्यसको लागि नियामकहरुको यसमा ध्यान जाहोस् । हामीले प्राविधिक दृष्टिकोण बाहेक अन्य विधिबाट यसलाई कम गर्न सम्भव नै छैन ।

त्यसैगरी बजारमा दैनिक फ्लोरसिट पब्लिस्ड गर्छौं । यसमा बाईङ्ग ब्रोकर र सेलिङ्ग ब्रोकरको पनि संकेत राखिएको छ, यो राख्नुको उद्देश्य के हो ? के उद्देश्यको लागि ल्याइएको हो, यसको सहि प्रयोग भइरहेको छ या छैन । जहाँसम्म लाग्छ यो राख्नु उपयुक्त होइन, यसमा पनि पुनविर्चार गर्न जरुरी छ ।

मार्केटमा हुने धितोपत्र सम्बन्धि कसुरहरुले लाइसेन्स इन्टिटीलाई मात्रै छोएको छ । यसले ननलाइसेन्स इन्टिटीलाई पनि समेट्न जरुरी हुन्छ । यसलाई पुनविचार गरेर छुट्टै नियमावली बनाउन जरुरी रहेको देखिन्छ ।

2 comments on "ब्रोकरको संख्या थपेर मात्रै बजारको विकास हुँदैन, बजारका विकृति रोक्न स्ट्रङ्ग डेटाबेस चाहिन्छ"

  • दलाल पिडित लगानीकर्ता says:

    बैंकमा मैले पैसा जम्मा गर्न जाँदा र झिक्न जाँदा उनीहरुले तुरुन्तै सेवा प्रबाह गरिदिन्छन , बिना कुनै झन्झट। तर ब्रोकरले पनि अति तरल भनिएको सेयरबजारमा येस्तै सेवा दिन किन नसकेको ? त्येस्करण बैंकलाई ब्रोकर लाईसेन्स अति जरुरि भैसक्यो। बैंकलाई ब्रोकर लाईसेन्स दिएर पूर्ण स्वोचालित सिस्टम ल्याउन लगाएपछि लगानीकर्ताले पाई रहेको महाहैरानी र शोषणको अन्त्य हुन सक्छ।

  • krishma maharjan says:

    १: ब्रोकर संख्या थप्ने हो भने बैंक को सहायक कम्पनिलाई ब्रोकर लाइसेन्स दिनु उपयुक्त हुन्छ।
    २: ब्रोकर कमिसन हाल लिइआएको भन्दा अझ 50% घटाउनु पर्छ।
    ३: एउटै script मा दिनभर गरेको कारोबारको एकमुष्ट जोडेर मात्र कमिसन लगाउने गर्नु पर्छ।
    ४: AON खरिदबिक्री दुबै तर्फ हटाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.