बीमा पोलिसी धितोमा ९० प्रतिशतसम्म ऋण पाइने, व्याजदर वाणिज्य बैंकको सरह

  २०७८ असार २४ गते १२:४८     विकासन्युज

काठमाडौं । जीवन बीमा पोलिसी धितो राखेर समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाइने भएको छ । पोलिसी धितोमा कर्जा पाउनको लागि जीवन बीमा गराएको ३ वर्ष पुगेको भने हुनु पर्नेछ ।

बीमा समितिले सार्वजनिक गरेको जीवन बीमालेख सम्बन्धि निर्देशिकामा यस्तो व्यवस्था गरिएको छ । यसअघि बीमा गराएको २ वर्ष पुगेपछि ऋण लिन पाइने व्यवस्था थियो भने बीमा पोलिसीको समर्पण मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो ।

‘बीमक (बीमा कम्पनी) ले बीमालेख अन्तर्गत पूरा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात तथा एकल बीमालेख भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ,’ निर्देशिकामा उल्लेख छ ।

एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको तीन वर्ष पूरा भएपछि बीमाशुल्कको ८० प्रतिशत र आर्जित बोनस समेत गरी भुक्तानी गर्नुपर्नेछ । यस्तै एकल बीमालेखमा बीमाखेल जारी भएको ४ वर्षपछि ८५ प्रतिशतसम्म र बोनस तथा ५ वर्ष पूरा भएपछि बीमाशुल्कको ९० प्रतिशतसम्म र बोनस रकम कम्पनीहरुले बिमितलाई भुक्तानी गर्नुपर्ने छ ।

बीमा कम्पनीहरुले बिमितलाई ऋण दिन सक्ने व्यवस्था पनि निर्देशिका उल्लेख छ ।

‘बीमक (बीमा कम्पनी) ले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा व्याज लिन सक्नेछ र व्यादरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको व्याजदरभन्दा बढी नहुने बीमकको संचालक समितिको स्वीकृति लिई निर्धारण गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

बीमा गराएको व्यक्तिले केही समय बीमाशुल्क नतिरी स्थगित गरेको बीमालेख पुनः सुरु गर्न सक्ने बाटो पनि खुल्ला गरिएको छ । बीमितले आफू जीवन बीमाको लागि निरन्तर योग्य छु भनी सन्तोषजनक प्रमाण पेश गरेमा तथा तिर्न बाँकी सबै बीमाशुल्क रकम व्याजसहित भुक्तानी गरेमा अनिवार्य आवश्यक मेडिकल अन्तरराइटिङ गरी बीमा अवधिभित्र जुनसुकै समयमा बीमकले व्यतित भएको बीमालेख पुनर्जागरण गरिदिन सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

यसरी बीमालेख पुनर्जागरण गर्दा बीमकले संचालक समितिको स्वीकृत लिई व्याज छुट पनि दिन सक्ने व्यवस्था छ । यसरी पुनर्जागरण गर्दा बीमितले तिर्नुपर्ने व्याजमा आंशिक वा पूर्ण छुट प्रदान गर्न सकिने व्यवस्था छ । व्याज छुट गर्ने प्रयोजनको लागि २ वर्षदेखि व्यतित भएका बीमालेखहरुलाई मात्र समावेश गर्न सकिने छ । व्याज छुट भने एउटा बीमितले बीमा अवधिभर एक पटकमात्र पाउन पाउन सक्नेछन् । तर, बीमालेख व्यतित भएको ५ वर्षसम्म पनि पुनर्जागरण नगरेमा बीमकतले सो बीमितलाई नयाँ बीमालेख जारी गर्न नपाउने व्यवस्था गरिएको छ ।

बीमा गराउँदा सम्पत्तिको स्रोत पनि देखाउनु पर्ने व्यवस्था गरिएको छ । बीमा गर्ने व्यक्ति (बीमित) ले ५ लाख रुपैयाँभन्दा बढी वा वार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख विक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । बीमा गराएको व्यक्तिले बीमा गराएको ३० दिनभित्र सो बीमाखेल फिर्ता गर्न चाहेमा बीमा कम्पनीमा लिखित निवेदन दिएर फिर्ता गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.