विकास बैंकहरुभन्दा वित्त कम्पनी बलियो, हकप्रदले झन् सशक्त बन्ने

  २०७८ असार २२ गते १७:०८     सन्ताेष राेकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘ख’ वर्गका १० वटा विकास बैंकको तुलनामा ‘ग’ वर्गका वित्त कम्पनीहरु बलियो देखिएका छन् । पूँजी वृद्धि, व्यवसाय विस्तार, नाफा तथा सेयर मूल्य लगायत सूचकहरुमा १० वटा विकास बैंकहरुभन्दा १० वित्त कम्पनी बलियो देखिएका हुन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार चुक्ता पूँजीमा १० वटा विकास बैंकहरुको तुलनामा १० वटा वित्तीय कम्पनीहरु धेरै माथि देखिएका हुन् ।

नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्तीय कम्पनीहरुका लागि चुक्ता पूँजीमा छुट्टाछुट्टै व्यवस्था गरे पनि वित्तीय कम्पनीहरु भने पूँजी वृद्धिमा निकै अगाडि देखिएका हुन् ।

यस्तै, सेयर मूल्यमा पनि विकास बैंकहरुको तुलनामा वित्तीय कम्पनीहरु माथि नै छन् । व्यवसाय विस्तार अर्थात शाखा विस्तारमा पनि वित्तीय कम्पनी अगाडि देखिएका हुन् ।

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरु वित्तीय कम्पनीहरुकाे तुलनामा अगाडि नै भएपनि १० वटा क्षेत्रिय तथा जिल्लास्तरका विकास बैंकहरु भने वित्तीय कम्पनीको तुलनामा कमजाेर नै छन् ।

हाल नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका २० वटा वित्त कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्ता पूँजी भएको वित्त कम्पनीका रुपमा युनायटेड फाइनान्स रहेको छ । जसको कुल चुक्ता पूँजी १ अर्ब ४ करोड ८ लाख रुपैयाँ छ भने दोस्रो बढी चुक्ता पूँजी भएको वित्तीय कम्पनीको रुपमा आईसी एफसी फाइनान्स रहेको छ । यस वित्त कम्पनीको कुल पूँजी १ अर्ब २ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

यस्तै, क्षेत्रिय तथा जिल्लास्तरमा व्यवसाय गर्दै आएका विकास बैंकहरुको सबैभन्दा बढी पूँजी भएको विकास बैंकका रुपमा सप्तकोशी डेभलपमेन्ट बैंक छ । जसको कुल चुक्ता पूँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने सेयर मूल्य ३ सय १६ रुपैयाँ रहेको छ ।

५ जिल्लामा आफ्नो व्यवसाय गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ८१ अर्ब ११ लाख रुपैयाँ छ भने सेयर मूल्य ७ सय ७९ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ मा बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धिको व्यवस्था गरेको थियो । तत्कालिन गभर्नर डा. चिरञ्जिवी नेपालले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउन मौद्रिक नीति ल्याएका थिए भने राष्ट्रियस्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड पुर्याउनु पर्ने नीति बनाएका थिए ।

त्यस्तै, चारदेखि दश जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले १ अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले ५० करोड चुक्ता पूँजी बनाउनु पर्ने व्यवस्था गरेको थियो । अहिलेसम्म धेरै विकास बैंकहरुले राष्ट्र बैंकले गरेको सो व्यवस्था अनुसार पूँजी पुर्याउन सकेका छैनन् । परिणाम स्वरुप उनीहरुलाई राष्ट्र बैंकले समय तोक्दै र पूँजी वृद्धि गर्न निर्देशन दिँदै आएको छ ।

यता राष्ट्रियस्तरका ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुको ८० करोड रुपैयाँ र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुको ४० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था छ ।

८० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था भएपनि अधिकांश वित्त कम्पनीहरुले तोकेको भन्दा धरै माथि चुक्ता पूँजी पुर्याएका छन् । राष्ट्रिय स्तरको नभए पनि तीन जिल्लामा व्यवसाय गर्दै आएको पोखरा फाइनान्सले पनि ९६ करोड ३१ लाख रुपैयाँ पूँजी पुर्याएको छ भने सो कम्पनीको सेयर मूल्य पनि ५ सय ८२ रुपैयाँ पुगेको छ ।

कम्पनीहरुको सेयर मूल्यलाई मंगलबारको सेयर बजारलाई आधार मानेर लिइएको हो । ८ विकास बैंकहरुको औसत सेयर मूल्य ५ सय ११ रुपैयाँ रहेको छ भने ६ वटा विकास बैंकहरुको औसत सेयर मूल्य ६ सय ९० छ । वित्तीय कम्पनीहरुको सेयर मूल्य विकास बैंकहरुको सेयर मूल्यभन्दा १ सय ७९ रुपैयाँले बढी देखिएको छ ।

हकप्रदले झन शसक्त बनाउने

अहिले विकास बैंक, वित्तीय तथा लघुवित्त कम्पनीहरुले पूँजी वृद्धिका लागि हकप्रद जारी गर्न पाउनु पर्ने माग राखेका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याउन लागिएको मौद्रिक नीतिमा उनीहरुले हकप्रद जारी गर्नु पर्ने माग राखेका हुन् ।

राष्ट्र बैंकले विकास बैंक, वित्तीय कम्पनी र लघुवित्तलाई हकप्रद निश्कासनको अनुमति दिएका सबैभन्दा बलियो फेरि वित्तीय कम्पनीहरु नै देखिने छन् । हालसम्म तीन वटा विकास बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पनि पुर्याउन सकेका छैनन् ।

फाइनान्स कम्पनीका सीईओहरुको संस्था वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर पनि वित्तीय संस्थालाई हकप्रद जारी गर्न अनुमति दिएमा वित्तीय कम्पनीहरु थप शसक्त र बलियो बन्ने भन्दै विभिन्न सार्वजनिक फोरममा हकप्रद जारी गर्न पाउनु पर्ने मा राख्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकले वित्तीय कम्पनीहरुको पूँजी वृद्धिका लागि हकप्रद निश्कासन गर्न दिनु पर्ने माग उनकाे छ । अहिले नै धेरै विकास बैंकहरुभन्दा बढी पूँजी भएका वित्तीय कम्पनीहरुले हकप्रद जारी गर्नुे व्यवस्थाले उनीहरुलाई थप शसक्त बनाउने छ ।

नाफामा पनि वित्तीय कम्पनी अगाडि

चालु आवको जेठमा पनि विकास बैंकभन्दा वित्तीय कम्पनीहरुले बढी नाफा गरेका छन् । चालु आवको जेठमा ९ वटा विकास बैंकहरुले कुल १९ करोड ५ लाख रुपैयाँ नाफा गरेका छन् भने ९ वटा वित्तीय कम्पनीहरुले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा गरेका छन् ।

जेठ महिनामा सबैभन्दा बढी नाफा गर्ने क्षेत्रिय तथा जिल्ला स्तरीय विकास बैंकहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । जसले ५ करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।

यस्तै, सबैभन्दा कम नाफा गर्ने विकास बैंकको सूचीमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । जसले ३५ करोड रुपैयाँ मात्रै नाफा गरेको छ । यहाँ क्षेत्रिय र जिल्लामा व्यवसाय गर्दै आएका विकास बैंकहरुलाई मात्रै लिइएको छ ।

यस्तै, राष्ट्रियस्तरमा व्यवसाय गर्दै आएको वित्तीय कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनान्सले गरेको छ । मञ्जुश्रीले जेठ महिनामा ४० करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । राष्ट्रियस्तरको वित्त कम्पनी गुडविल फाइनान्सले सबैभन्दा कम अर्थात १ करोड ३९ लाख रुपैयाँ मात्रै नाफा गरेको छ । क्षेत्रिय तथा जिल्लास्तरमा व्यवसाय गर्दै आएका  विका बैंकहरुकाे तुलनामा राष्ट्रियस्तरमा व्यवसाय गर्ने वित्त कम्पनीहरु निकै सवल र बलियाे देखिएका छन् ।

One comment on "विकास बैंकहरुभन्दा वित्त कम्पनी बलियो, हकप्रदले झन् सशक्त बन्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.