सरकारी ल्याबलाई कोरिया सरकारले दिएन मान्यता, विमानस्थलबाटै फर्किए यात्रु

  २०७८ असार २१ गते १५:४४     विकासन्युज

काठमाडौं । नवलपरासीका बाबुराम कुमाल सोमबार दिउँसो दक्षिण कोरोया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । कोरियाबाट बिदामा नेपाल आएका कुमाल सरकारले दोस्रो चरणको कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय उडान बन्द गर्दा नेपालमा नै रोकिए ।

करिब दुई महिनापछि सरकारले सिमित वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएपछि उनी नवलपरासीबाट काठमाडौं आएका हुन् । कोरियाबाट नेपाल आउने बेलामा नै फर्कने टिकट लिएर आएर उनी कोरिया जान सरकारी ल्याबमा कोरोना परीक्षण (पीसीआर) गरेका थिए ।

उनले निजी क्षेत्रको ल्याबमा भन्दा सरकारी ल्यावबाट सहज हुने अनुमान गर्दै उनले कीर्तिपुर नगरपालिकाले सञ्चालन गरेको कीर्तिपुर नगरपालिका त्रिवि बायोटेक कोरोना प्रयोगशालामामा पीसीआर परीक्षण गराए ।

नियमानुशार ७२ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटीभ रिपोर्ट लिएर उनी सोमबार कतार एयरवेजको उडान मार्फत कोरोया जाने तयारी गरी विमानस्थल पुगेका थिए ।

आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गएर विमानस्थल पुगेका उनी पीसीआर परीक्षणको नेगेटिभ रिपाेर्ट देखाउँदा समेत कोरीया जान पाएनन् ।

कोरिया जान भन्दै घरबाट विदाई भएर काठमाडौं आएको उनी पुनः घर फर्कने तयारीमा छन् ।

सरकारी ल्याबको रिपोर्टलाई विश्वास गरेर विमानस्थल पुगेका उनी कोरिया सरकारले कीर्तिपुर ल्याबलाई मान्यता नदिएको भन्दै पीसीआर रिपोर्ट नमिलेको भन्दै विमानस्थलबाट फर्काइएको छ ।

कोरिया सरकारले नेपालबाट आउने यात्रुका लागि ४ वटा ल्यावको रिपोर्टलाई मान्यता दिँदा कीर्तिपुर ल्याबमा परीक्षण गरेका उनी कोरिया जान पाएनन् ।

कोरिया सरकारले उक्त ल्याबको रिपोर्टलाई मान्यता नदिने भएपछि कतार एयरवेजले उनलाई विमानस्थलबाट नै फकाईएको जानकारी आएको विमानस्थल कार्यालयले जनाएको छ ।

‘सरकारी ल्याबलाई मान्यत दिएको छ भन्ने खबर सुनेको थिएँ, त्यही अनुसार सरकारी ल्याबको परीक्षण रिपोर्ट लिएर विमानस्थल पुग्दा मान्यता दिईएको छैन भनेर फर्काईयो’, कुमालले दुखेसो पोख्दै भने, ‘निषेधाज्ञाको बीचमा नवलपरासीबाट बल्लतल्ल काठमाडौं आएँ, फेरि गाउँ नै फर्कनुपर्ने भयो, यसअघि समयमा जान नपाउँदा टिकट सारेको थिए, अब सार्दा उता (कोरियाको रोजगारदाताले) मान्छ कि मान्दैन थाहा छैन, सिमित ल्याबलाई मात्र मान्यता दिएर सिन्डिकेट लागु गर्दा समस्या भयो ।’

नेपालस्थित कोरियन दुतावासले कोरिया जानका लागि ४ वटा प्रयोगशालाको रिपोर्टलाई मात्र मान्यता दिएको छ । टुकेस्थित शुक्रराज अस्पताल, जनमैत्री, पाटन र स्टार अस्पताललाई मात्र मान्यता दिएको छ ।

यात्रु फिर्ता गएको र रिपोर्टलाई मान्यता दिएको वा नदिएको विषयको जिम्मा स्वास्थ्य मन्त्रालयको भएको विमानस्थलका एक कर्मचारीले बताए ।

‘हाम्रो अधिकार यात्रुले तोकिए बमोजिमको कागजपत्र ल्याए नल्याएको हो, बाँकी जिम्मा स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको हो,’ ती कर्मचारीले भने ।

सरकारी ल्याबलाई मान्यता दिइएको भने तापनि केही वायुसेवा कम्पनीले आफूखुशी निर्णय गर्दा सरकारी ल्याबको विश्वास गुम्ने खतरा बढेको कीर्तिपुर ल्याबका वायो टेक्नोलोजिष्ट गणेश अधिकारी बताउँछन् ।

‘स्वास्थ्य मन्त्रालयले सबै सरकारी ल्याबलाई पीसीआर परीक्षणको मान्यता दिएको छ, सरकारले दिएको मान्यताको आधारमा हामीले परीक्षण गर्ने हो, केही वायुसेवा कम्पनी र सम्बन्धित देशले सिमिति ल्याबलाई मात्र मान्यता दिएर सिन्डिकेट लागू गर्दा सरकारी ल्याबको विश्वसनियता माथि प्रश्न उठन थालेको छ’, उनले भने ।

सरकारी ल्याबले किन पाएन मान्यता ?

सरकारले सरकारी ल्याब र केही निजी ल्याबहरुलाई ‘ए ग्रेड’ तोकेको छ । ए ग्रेडका ल्याबमा गरेको पीसीआर परीक्षणलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता पाउने सरकारले भनिरहेको छ ।

तर, त्रिभुवन विश्वविद्यालय (टीयू) को ल्याबमा गरेको परीक्षणले नै मान्यता नपाएपछि नेपाल सरकारले तोकेको ए ग्रेडका ल्याब के प्रयोजनका लागि ए ग्रेड तोकिए भन्ने प्रश्न पनि उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.