सिभिल बैंकका सीईओ पोखरेलले सम्हाले कार्यभार, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता

  २०७८ असार १८ गते १५:०३     विकासन्युज

काठमाडौं । सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेलले आज (असार १८ गते) देखि आफ्नो कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते सीईओ पदमा नियुक्त भएका पोखरेलले आजदेखि कार्यभार सम्हालेका हुन् ।

बैंक सञ्चालक समितिको बैठकले असार १८ गतेदेखि लागू हुने गरी उनलाई प्रमुख कार्यकारी नियुक्त गरेको थियो । यससँगै उनले अब आगामी चार वर्षसम्म बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।

सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् । यसअघि उनी बैंकको निमित्त सीईओको रुपमा कार्यरत थिए ।

उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामो समयसम्म काम गरेको अनुभव तथा कार्यकौशलता छ । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । त्यसपछि उनले एनआइसी एशिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेको अनुभव छ ।

उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । त्यसैले पनि उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रै ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । विदेशी बैंकसँग करिब ३ वर्ष काम गरेको अनुभव पोखरेलसँग छ ।

उनी २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीईओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् ।

डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने सीईओ पोखरेलले बताए ।

नव नियूक्त सीईओ पोखरेलको विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पुर्याउनेमा आफू विश्वस्त रहेको सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले बताए । साथै, बैंकले चालु आवमा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको पनि उनले बताए ।

यस सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८८ अर्ब ९४ करोड रुपैयाँको निक्षेप र ८३ अर्ब ६० करोड रुपैयाँको कर्जा विस्तार गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.