कोरोना खोप लगाएर नेपाल आउनेले होटल क्वारेन्टिनमा बस्नु नपर्ने, नाका पनि खुला

  २०७८ असार १५ गते ११:४३     विकासन्युज

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएर नेपाल आउने होटल क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । यसअघि भारत लगायत अन्य देशबाट नेपाल आउने विदेशी तथा नेपालीहरु पनि अनिवार्य रुपमा दश दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।

सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले उक्त व्यवस्था हटाउदैँ खोप लगाएकालाई अनिवार्यरुपमा होटल क्वारेन्टिनमा नबसी दश दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने जनाएको हो ।

सेल्फ क्वारेन्टिन बसे नबसेको अनुगमन सम्बन्धित जिल्ला र स्थानीय तहले गर्नेछन् । यस्तै, हवाइ यात्राको लागि यात्रुको चेक इन गर्दा अघि ७२ घण्टाभित्रको फोटो एवं बारकोड सहितको परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाउनु पर्नेछ । विदेशबाट नेपाल आगमान गर्ने यात्रुले यात्रा गर्नुअघि अबोर्ड रिटर्नी म्यानेजमेन्ट सिस्टम अनलाइन फारम भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर आउनु पर्नेछ ।

विदेशबाट आएका यात्रुले अनिवार्य ७ दिन सूचीकृत होटलमा अनिवार्य रुपमा बस्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । होटल क्वारेन्टिन अवधि पूरा गरेका यात्रुहरुले पीसीआर परीक्षणको उपलब्धताको आधारमा सातौं दिनमा आफ्नै खर्चमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा ४ दिन होम क्वारेन्टिन बस्नेगरी पठाउन सकिनेछ ।

काज किरियामा सहभागी हुन आउनेले स्थानीय तह वा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसका आधारमा एन्टीजेन परीक्षण गरी निगेटिभ आए घर जान दिइने छ ।

सरकारी कर्मचारी कूटनीतिक नियोगका कर्मचारी वा सुरक्षाकर्मीले सम्बन्धित निकायको सिफारिसको आधारमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने छ ।

१३ नाकाबाट नेपाल प्रवेश गर्न दिईने

मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ अध्यादेश अनुसार स्थलमार्गहुँदै नेपाल आउनेहरुका लागि १३ वटा नाका खुला गरिएको छ ।

उक्त अध्यादेश अनुसार पशुपतिनगर, काँकडभिट्टा, रानी, भिट्टामोड, गौर, विरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाह, गौरीफन्टा, पुलघाट, झुलाघाट र गड्डाचौकी नाकाबाट मात्र नेपाल प्रवेशको अनुमति दिईएको छ ।

१३ नाकाबाट नेपाली बाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाईएको छ ।

यस्तै, नेपालबाट विभिन्न देश जाने यात्रुहरुले मान्यताप्राप्त प्रयोगशालालबाट पछिल्लो २४ घण्टाभित्रको वा गन्तव्य मुलुकको मापदण्डमा तोकिएबमोजिमको अवधिको कोभिड–१९ परीक्षणको रिपोर्टको प्रमाणपत्र पेश गर्नुका साथै सीसीएमसीको वेवसाईटमा रहेको फर्म भर्नुपर्नेछ ।
मन्त्रालयले उक्त आदेशको अंलघन गर्ने कुनै व्यक्ति, संस्था, वायुसेवा कम्पनीलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा अन्य प्रचलित कानूनबमोजिम कारबाही गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.