आन्तरिक उडानकाे तयारी: टिकट बिक्रि सुरु, भाडा बढ्ने, प्रतिघण्टा ५ जहाज मात्रै उड्ने

  २०७८ असार १३ गते १७:२५     विकासन्युज

काठमाडौं । दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएसगैँ रोकिएको आन्तरिकतर्फको नियमित उडान आउँदो बिहीबारदेखि सुरु हुँदैछ ।

सरकारले साविकको तुलनामा ५० प्रतिशत ननाघ्ने गरी उडान संख्या तय गरी आन्तरिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ । सरकारको निर्णय अनुसार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायुसेवा कम्पनीले उडानको तयारी गरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले धेरै भिडभाड नहुने गरी सुगम क्षेत्रमा प्रतिघन्टा पाँचवटा मात्रै उडानको अनुमति दिने तयारी गरेको छ । कार्यालयले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै जोखिम कम गर्न प्रतिघण्टामा पाँचवटा मात्रै उडान गर्न लागिएको जनाएको छ ।

कार्यालयले बिहीबारदेखि दिनमा ६३ वटा उडानको अनुमति दिने तयारी गरेको छ । सरकारले नियमित उडानको तुलनामा ५० प्रतिशत बढी नहुने गरी उडान पुनः सञ्चालनकोे अनुमति सगैँ विमानस्थल कार्यालयले उक्त संख्यामा उडान गर्ने तयारी गरेको हो ।

ट्रंक रुटमा विभिन्न वायुसेवा कम्पनीका ठूला किसिमका जहाज (एटिआर–७२, टर्बोप्रोप क्यु–४००) प्रयोग हुँदै आएका कारण प्रत्येक १० मिनेटको अन्तरालमा उडान गर्ने तालिका तयार पारिएको छ । निषेधाज्ञा अगाडि दैनिक अधिकतम १ सय ३० उडान हुँदै आएको थियो ।
सरकारको अनुमतिसगैँ क्यानले उडान संख्या निश्चित गरिदिए लगत्तै आन्तरिक उडान गर्दै आएका (बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुणलगायत ) वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गरेका छन ।

अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ उडान गर्नेछ । कम्पनीले काठमाडौँदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।

यस्तै, यती एयरलाइन्सले कूल १५ उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका रहेका छन् ।

यात्रुले टिकटका लागि आप्नो आवश्यकता अनुसार मोवाइल एप, सम्बन्धित वायुसेवा कम्पनीको वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट अग्रिम टिकट काट्न सक्नेछन ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

सरकारको निर्देशन अनुसार वायुसेवा कम्पनीका सञ्चालकलाई संक्रमणरहित उडानको तयारी गर्न निर्देशन दिइसकिएको क्यानका महानिर्देशक राजन पोखरेल बताउँछन् । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डकोे पूर्ण रुपमा पालन गर्दै नियमित उडान सञ्चालनको तयारी भएको छ ।

अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ । विमानस्थलले उडानतालिका फेरबदल गरेर भिड घटाउने उपाय लगाए पनि मौसमका कारण हुने ढिलाइमा भने चेक–इनमै यात्रु सीमित संख्यामा प्रवेश दिनुपर्ने देखिएको छ ।

वायुसेवा कम्पनीहरुले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् ।

अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्न सक्ने जनाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले जनाएको छ ।

भाडा बढ्ने तयारी गरेतापनि अग्रिम टिकट बुकिङमा पुरानै भाडादर राखिएको छ । यता संस्कृति, पर्यटन तथा नाागरिक उडड्यन मन्त्रालयका अधिकारीहरु भने भाडाको विषयमा कुनै निर्णय नभएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.