किन समस्या आइरहेको छ नेपालको इन्टरनेटमा ?

  २०७८ असार १३ गते १०:३०     विकासन्युज

काठमाडौं । बुधबार बिहान देशभर नेपाल टेलिकमको मोबाइल र दिउँसो वल्डलिंक कम्युनिकेशनको इन्टरनेट सेवामा अवरुद्ध आएको थियो । त्यस्तै बिहीबार बिहान भायानेटको इन्टरनेटमा समेत समस्या आएको थियो ।

तीनै कम्पनीले आन्तरिक समस्या रहेको भन्दै समाधान भइसकेको जनाएका छन् । एकैपटिक तीनै कम्पनीको सेवामा उस्तै समस्या देखिनु सामान्य नभएको जो कोहिले पनि अनुमान गर्न सकिन्छ ।

टेलिकमको मोबाइल सेवामा समस्या आयो, प्राविधिकले समस्याको समाधान समेत गरिसकेका छन् ।

तर वल्डलिंक र भायानेटको इन्टरनेटमा उस्तै समस्या एक दिनको फरकमा किन आयो भन्ने खालका प्रश्नहरु इन्टरनेट प्रयोगकर्ताले गर्न थालेका छन् । उनीहरुले एकैपटिक तीन कम्पनीका सेवामा समस्या आउँदा कतै नेपालको इन्टरनेट तथा मोबाइल सेवामा ठूलो समस्या आएको त हैन भन्ने सम्मका अनुमान गर्न थालेका छन् ।

इन्टरनेटमा देखिएको समस्याको विषयमा दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले भने खासै चासो देखाएको पाईएको छैन । नियामक निकायले तीन कम्पनीको एउटै प्रकृतिको समस्या देखिनुको विषयमा न ती कम्पनीमा सम्पर्क गरेर किन समस्या देखिएको भन्दै चासो देखाएको छ, न त कुनै अध्ययन गरेको छ ।

टेलिकमको सेवा अवरुद्धको विषयमा प्राधिकरले केही चासो देखाएपनि वल्डलिंक र भायानेटको विषयमा कुनै चासो नदेखाएको प्राधिकरण स्रोतले जनाएको छ ।

‘एकैपटक तीन कम्पनीको सेवा देशभर अवरुद्ध भएको छ, एक मिनेट सेवा अवरुद्ध हुँदा उपभोक्तालाई कति समस्या भयो होला, अहिले इन्टरनेट बिना केही काम गर्न सकिदैन, ३ घण्टासम्म सेवा अवरुद्धको विषयमा नियामक निकायको ध्यान नजाँदा सेवाप्रदायक कम्पनीसगैँ सेवाग्राही प्राधिकरण प्रति असन्तुष्ट भएका छन’, ती कर्मचारीले भने ।

तीन कम्पनीको इन्टरनेटमा देखिएको समस्याको विषयमा आफू जानकार नभएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् ।

तीन कम्पनीको सेवा अवरुद्धको विषयमा इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले समेत सामान्य रुपमा लिएको छ । आइस्पानका अध्यक्ष सुधिर पराजुली इन्टरनेटमा कुनै ठूलो समस्या नभई आन्तरिक रुपमा समस्या देखिदा केही समय इन्टरनेट गएको बताउँछन् ।

बिहीबार दिउँसो विकासन्युज प्रतिनिधिले इन्टरनेट सेवा अवरुद्धको विषयमा जानकारी लिन खोज्दा भायानेटको इन्टरनेटमा समस्याको विषयमा जानकारी नै नपाएको बताएका थिए ।

‘तपाइले भनेपछि बल्ल मैले थाहा पाए, वल्डलिंकको इन्टरनेटको कोर राउटर डाउनहुँदा बुधबार दिउँसो देशभरको इन्रनेट सेवा अवरुद्ध भएको हो, सेवा प्रदायक कम्पनीले कोर राउटर (मेन राउटर) दुई वटा राख्नुपर्छ, एउटामा समस्या देखिदा तत्काल अर्काे वैकल्पिक राउटरले काम गर्ने हो’, उनले भने, ‘वल्डलिंकको पनि २ वटा राउटर थिए । एउटाले काम नगर्दा अर्काेले काम गर्नुपर्ने हो, तत्काल अर्काे राउटरले काम नगर्न १५ मिनेट मात्र सेवा अवरुद्ध भएको हो ।’

कतै १५ मिनेटसम्म मात्र सेवा अवरुद्ध भयो, कतै ३ घण्टासम्म अवरुद्ध भएको भन्ने जानकारी आएको छ । राउटर अन गरेर इन्स्टल गर्दा केही समय लाग्नु स्वभाविक नै भएको उनी बताउँछन् ।

यता टेलिकमका कर्मचारीले सुनियोजित रुपमा मोबाइल सेवा अवरुद्ध भएको भन्दै विरोध गरेपछि ६ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.