गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि पौने ४३ करोड बढिको बजेट प्रस्तुत गरेको छ – उपाध्यक्ष खत्री

  २०७८ असार ९ गते १९:०८     विकासन्युज

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल सारा विश्व नै ठुलो सङ्कटमा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण लुम्बिनी प्रदेश अन्तर्गतको गुल्मी जिल्लामा पर्ने इस्मा गाउँपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ । यस गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी नै छ ।

आजका दिनमा कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले कस्तो काम गर्दै आएको छ, गाउँपालिकाले आगामी आर्थिक वर्ष ७८/७९ को लागि कस्तो नीति तथा कार्यक्रम ल्याएको छ, साथै कुनकुन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीसँग विकासन्युजका लागी राजिब न्यौपानेले कुराकानी गरेका छन् :

गाउँपालिकामा पनि कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा छ, जोखिम न्यूनीकरण गर्नको लागी के कसरी काम गर्दै हुनुहुन्छ ?

विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यस भाइरसले पालिकामा पनि अप्ठ्यारो अवस्थाको सिर्जना गरेका छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । यस भाइरसलाई मध्यनजर गर्दै पालिकामा एक जना डाक्टरको दरबन्दी सिर्जना गरेर राखेका छौं । पालिकामा संक्रमणको संख्या बढ्दै जाँदा हामीले कोभिड अस्पतालको पनि तयार गरेका छौं । संक्रमण बढ्यो भने २० जना कोभिडका बिरामीलाई अक्सिजन दिएर आइसोलेसनमा राख्न सक्छौं । गाउँपालिकाले आवश्यक स्वास्थ्य सामाग्रीको पनि खरिद गरेको छ भने विभिन्न संघसंस्थाबाट पनि स्वास्थ्य सामाग्री प्राप्त भएको छ र हाल गाउँपालिकामा स्वास्थ्य सामाग्रीको अभाव भने छैन ।

पालिकामा हालसम्म ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ जना कोभिडका बिरामी अस्पतालमा उपचाररत छन् । हालसम्म ११ सय जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा पीसीआरमार्फत ६८ जना र एन्टीजेटमाफर्त १ सय ३५ जना संक्रमित पुष्टि भएको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दा गर्दै पनि पालिकाबाट ६ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । कोभिड बिरामीहरूका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौ ।

कोभिडको नियन्त्रण र बिरामीको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा स्वास्थ्यकर्मीको पनि पालिकाले व्यवस्थापन गरेको छ । स्टाफ नर्सलाई एक महिनाको लागि करारमा नियुक्ति गरेर छौं । पछिल्लो समयमा पालिकामा संक्रमितको संख्या कम हुँदै गएपछि कोभिड अस्पतालमा ५ जना मात्र स्वास्थ्य जनशक्ति राखेको छ । गाउँपालिकामा उपचार हुन नसक्ने अवस्थाका संक्रमितलाई अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएका छौं । पालिकामा ६ ओटा वडा छन् जस मध्ये ३ ओटा एम्बुलेन्स सेवा रहेको छ भने एम्बुलेन्स सेवा पालिकाले निःशुल्क गर्दै आएको छ ।

कोभिड बिरामीहरूलाई पालिकाले तयार गरेको आइसोलेसनमा राखेर निःशुल्क सेवा दिइरहेका छौं । मेरो नेतृत्वमा मोबाइल टिम पनि गठन भएको छ । यो टिमले कोभिडसँग अन्तसम्बन्धित लक्षण देखिएका बिरामीको पीसीआर वा एन्टिजेन परीक्षण गर्नमा सहयोग गर्ने गरेको छ । पालिका भित्रका टोलटोलमा गएर नै एन्टिजेन र पीसीआर परीक्षण गर्दै आएका छौं । हामीले प्रत्येक घरमा गएर स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । पीसीआर परीक्षण पालिका भित्र नै हुने गरेको छ । पालिका भित्र २ ओटा दरबन्दीको सृजना गरेर ल्याबको कर्मचारी पनि राखेका छौं । पालिकामा एन्टिजेन वा पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या देखिने क्रम जारी नै छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ ।

कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ?

चुनौती र समस्या त धेरै नै छन् । मानिसहरुले कुरा नबुझ्दा पनि समस्या परेको छ । गत वर्ष हामीले बाहिरी जिल्लबाट पालिकामा प्रवेश गर्ने मानिसहरूलाई क्वारेनटिनमा राख्ने व्यवस्था मिलाएका थियौं । तर, दोस्रो लहरको कोरोना भाइरसको प्रभाव र संक्रमितको संख्या गाउँपालिकामा बढ्दै जाँदा हामीले मास क्वारेनटिनलाई भन्दा होम क्वारेनटिनलाई नै जोड दिएका छौं । कोरोनाको संक्रमण देखिएका बिरामीलाई अस्पतालमा ल्याई उपचार गर्नुका साथै उनीहरुलाई निःशुल्क बस्ने तथा खाने व्यवस्था समेत पालिकाले गरेको छ । कोभिड परीक्षण गर्ने घरघरमा जाँदा पनि परीक्षण गर्न नमान्ने, संक्रमित भएका मानिसहरू पनि जथाभावी डुल्ने भएकाले समस्या पनि छ ।

तेस्रो लहरको संक्रमण आउनसक्ने तर्फ सचेत हुँदै आवश्यक स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने पनि योजना बनाएका छौं । चुनौतिको रूपमा बिरामीहरूलाई एक्सरे गर्न पाए नौं । पालिकामा एक्सरे मेशिन नभएको कारण बिरामीको स्वास्थ्यको राम्रो परीक्षण गर्न पाएनौं । एक्सरे मेशिन पालिकामा भइसके पछि बिरामीहरूलाई अन्य ठाउँमा रेफर गरेर लानु पर्दैन । गाउँपालिकाबाट एक्सरे मेशिन खरिद गर्नको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । हामीले अझै पनि पालिकाको अस्पतालमा अक्सिजनको मात्रा बढाउनु पर्छ भन्ने योजना छ । पालिका भित्र साना तथा ठुला गरी ३६ ओटा अक्सिजन सिलिन्डर छन् । बिकास निर्माणको कुरालाई भन्दा पनि महामारी नियन्त्रण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेका छौं । स्मा गाउँपालिका कोरोना देखि लिएर बाढी पहिरोको समेत उच्च जोखिममा भएको हुनाले विपत् व्यवस्थापनलाई बढी फोकस गरिरहेका छौं ।

कोरोना नियन्त्रणका लागी बजेटको प्रबन्ध कस्तो छ ?

कोभिड नियन्त्रण गर्नको लागि पालिकामा आवश्यक बजेटको प्रबन्ध गरेका छौं । कोरोना विपत् भनेर ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेको विपत् व्यवस्थापन नै हो । हेइफर प्रोजेक्ट नेपालले भन्ने संस्थाले कोभिड नियन्त्रणको लागि भनेर पालिकालाई नगद १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । हाल कोरोना महामारी नियन्त्रणको लागी पालिकामा बजेटको अभाव भएको छैन । स्वास्थ्य क्षेत्रमा विनियोजित भएको रकमबाट पनि स्वास्थ्य सामाग्री खरिद गरेका छौं । पालिकाले सुत्केरी महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गरेको छ ।

कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ?

पालिका स्तरबाट राहतका कार्यक्रमहरू ल्याइएको छैन । पालिका भित्र राहत पाइनौं खान पाइनौं भन्नेजस्ता समस्या लिएर कोहिपनि आउनुभएको छैन । ५० जना नागरिकहरू पालिकाभित्र बाह्रै महिना काम गरिरहनुभएको छ । विकास निर्माणको कुरामा पनि हामीले स्थानीयबासीलाई समावेश गरिरहेका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि पालिकामा निरन्तर चलिरहेको छ । अध्यक्ष रोजगार कार्यक्रम अन्तर्गत पनि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । यी कुरालाई मध्यनजर गर्दै राहतलाई भन्दा बरू नागरिकलाई रोजगारी दिएर अनि पालिकाको विकाससँग नागरिकलाई जाेड्ने खालका कार्यक्रम पनि ७८/७९ को बजेट भित्र समावेश गरेका छौं । हाल राहतमाभन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो छ । त्यसैले राहतका कार्यक्रमहरू ल्याउन नसकेका हौं ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष ७८/७९ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । तपाईंको कार्यकालको यो बजेट अन्तिम पनि हो । के कस्ता कार्यक्रम समेटिएका छन् बजेटमा ?

आर्थिक वर्ष ७८/७९ का लागि नीति तथा कार्यक्रम जेष्ठ ७ गते नवौं गाउँसभामा प्रस्तुत गरेका छौं । पालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४२ करोड ७९ लाख ८१ हजार ५ सय ३४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ । पालिकामा खानेपानीको अभाव भएको कारण पहिलो प्राथमिकता खाने पानीको रहेको छ । ४ हजार घरधुरिमा ‘एक घर एक धारा’ जडान गर्ने योजना राखेका छौं । गाउँपालिका भित्र करारमा काम गरिरहेका कर्मचारीहरूको २ हजार रुपैयाँका दरले भत्ता वृद्धि गरी आवश्यक बजेट विनियोजन गरेका छौं । बिद्यालयमा कार्यरत स्थानीय स्रोतका शिक्षकलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता वृद्धि गर्ने भनेर ३३ लाख रुपैयाँभन्दा बढि बजेट विनियोजन भएको छ ।

बाल विकासको कुरामा संघिय सरकारले पनि बोलेको हुनाले यसमा पनि १ करोड रुपैयाँको हाराहारीमा बजेट विनियोजन भएको छ । कोभिडलाई मध्यनजर गर्दै बजेट बनाउँदा स्वास्थ्यमा जोड दिएका छौँ । महामारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न कार्यक्रम बनाएका छौँ । पालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएका छन् भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट पालिका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ । अपाङ्ग भएका व्यक्तिलाई क, ख, र ग वर्गमा छुट्याई क र ख वर्गलाई पनि बजेट विनियोजन भएको छ । ग वर्गको अपाङ्गलाई गत वर्ष मासिक ३ सय दिएका थियौं भने अहिले हामीले बढाएर माशिक ५ सय दिने व्यवस्था गरेका छौं ।

संघीयता कार्यान्वयनसँगै स्थानीय तहले नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भएको छ र तपाईंहरु कार्यअवधिको अन्तिम चरणमा पनि हुनुहुन्छ, यो अवधिमा पालिका भित्र के कति काम गर्नुभयो र कस्ता परिवर्तन पालिकामा आए ?

हो, लामो समय पछि संघीयता आएको र स्थानीय तहको नेतृत्व सम्हालेको पनि करिव ४ वर्ष पुगिसकेको छ भने हामी अन्तिम वर्षको कार्यकालको दौरानमा छौं । अघि पनि भनें, केही ठाउँमा हामीले खानेपानीका धारा पुर्याइसकेका छौं । ७८/७९ बजेटमा पनि ‘एक घर एक धारा’ सञ्चालन गर्नको लागि अधिकतम बजेटको विनियोजन भएको छ । गाउँपालिकाका प्रत्येक घरमा खाने पानी पुर्याउनको लागि भौतिक संरचना निर्माण गरी सकेका छौं । अब खानेपानीको लागि पाइपलाइन खन्ने, प्रत्येक घरमा धारामा जोड्ने कामहरू छ । स्वास्थ्यकर्मीहरु अभाव भएका अस्पतालहरूमा गाउँपालिकाले दरबन्दी स्थापना गरेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाएर अगाडि बढ्ने लक्ष राखेका छौं । पालिकाको वडा नं. ४ मा १५ शैया बेडकाे अस्पताल निर्माणका लागि शिलान्यास भइसकेको छ भने यस अस्पतालको काम टेन्डर प्रक्रियाबाट अगाडि बढिरहेको छ । औद्योगिक ग्राम निर्माणको लागि सुरुवात गर्दै छौं । पालिका भित्र धेरै लगानीमा कृषिका कार्यक्रमहरू सञ्चालन भइरहेको छ । महिला दिदी बहिनीहरूको जीवन स्तर उकास्न तथा आत्मनिर्भर बनाउने खाल्का विभिन्न किसिमका कार्यक्रमहरू पनि सञ्चालन भएका छन् ।

यस्तै शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आएको छ भने धेरै विद्यालयका भौतिक संरचानाको पनि निर्माण भएका छन् । गाउँपालिकाको प्रत्येक टोलमा सडक पुर्याउन पनि सफल भएका छौं । पालिका भित्रको ६ ओटै वडामा सडकको स्तारोन्ती पनि भएको छ । वडा नं. २ को वडा भवन नभएको कारण हाल वडा भवन पनि टेन्डर प्रक्रिया बाट निर्माण भइरहेको छ । पयटन क्षेत्रमा पनि धेरै कामहरू भएका छन् । सबै नागरिकको जीवनमा आर्थिक समृद्धिको आधार निर्माण गर्नुपर्छ भनेर लागेका छौ । धेरै कुराहरूको हामीले सुरुवात गरेका छौं भने कुनै कुराको सम्पन्न पनि गरेका छौं । वडा नं. १ को वडा भवन निर्माणको काम सम्पन्न हुन लागेको छ । यो पालिकाकै गाैरबको आयोजना पनि हो । यो ४ वर्षको अवधिमा विभिद क्षेत्रहरुमा परिवर्तन र विकास भएको छ । हामीले गरेको काममा म एकदमै सन्तुष्ट छु भने नागरिकहरू पनि सन्तुष्ट भएको आभाष पाएकाे छु ।

अनि युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा कस्तो काम गर्नुभएको छ नि ?

युवाहरू प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । यस रोजगार कार्यक्रम अन्तर्गत धेरै मानिसहरुले रोजगारी पाएका छन् । रोजगारीको लागि विदेश बाट फर्केका युवा प्रति लक्ष्ति गर्दै बढि फोकस गरेका छौं । ‘एक घर एक करेसा’ बारी भने अभियान पालिकामा सञ्चालन गरेका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छौं । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारीमूलक पनि बनि रहेका छन् । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । पालिकामा हामीले युवाको सिप विकासको लागि विशेष जोड दिइरहेको छौं । कतिपय युवाहरू आफूमा सिपको विकास गर्न सफल भइसकेका छन् भने केही युवाहरूले व्यावसायिक कृषि खेतीको पनि सुरुवात गरेका छन् । युवाहरूलाई कृषि पेशामा आकर्षित गर्नको लागि उत्पादनमा आधारित अनुदान भनेर बजेट विनियोजन गरेका छौं ।

पछिल्लो समयमा धेरै युवाहरू कृषिमा आबद्ध भएको पाइन्छ । युवाहरूले व्यवसाय सञ्चालन गर्न चाहे भने निर्ब्याजी ऋण पनि उपलब्ध गराइरहेका छौं । युवाले लिएकाे ऋणको व्याज गाउँपालिकाले तिरिदिँदै आएको छ । युवाहरूलाई खेलकुदतिर पनि प्रमोट गरिरहेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । प्रत्येक वडामा हामीले खल मैदान पनि निर्माण गरेका छौं । वडा नं. ६ मा वृद्धाश्रम लागि भवन पनि निर्माण गरेका छौं ।

तपाईंहरुले चुनावका बेला बोलेका र घोषणापत्रमा उल्लेख गरेका कुराहरू कत्तिको पूरा भए त ?

पक्कै पनि हामी घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू पुरा गरेका छौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । गाउँपालिकाको ठुलो समस्याको रूपमा खानेपानी रहेको छ र त्यस समस्या न्यूनीकरण गर्नको लागि हामीले जोड दिइरहेका छौं । ठुला योजनाको रूपमा खानेपानी नै रहेको छ । प्रत्येक वडामा वडा भवनको निर्माण गर्ने तथा कर्मचारी व्यवस्थापन गर्नको लागि ध्यान दिइरहेका छौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन रहेछ । हामीले गर्छाैं भनेको कुरा बाहेक अरू कुराहरू महत्वपुर्ण पनि हुन सक्छन् । त्यसैले समग्र पालिकाको नै विकास गर्दै आएका छाैं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

इस्मा गाउँपालिकाका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने कोभिडको समय छ, भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्यबोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । अनि नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । सडक निर्माणको कुरामा पनि हामीले जोड दिइरहेका छौं । यो भूगोलको परिचालन गर्ने भनेको नै नागरिकहरूले हो । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिकको पनि ठुलो भूमिका रहेको छ । स्थानीय स्रोतको परिचालन गरी विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.