साउनदेखि एक वर्षका लागि क्यूआर कोडसहितको छुट्टै ड्राइभिङ लाइसेन्स

  २०७८ असार ९ गते ११:५२     विकासन्युज

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि साउनदेखि छुट्टै लाइसेन्स जारी गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरण सुरु भएपछि रोकिएको अस्थाई लाइसेन्स वितरण पुनः सुरु गर्न लागिएको जनाएको छ । यसअघि ट्रायल पास गरेको सुरूको एक वर्ष अवधिका लागि कागजमा लेखेर दिईने अस्थाई लाइसेन्स विभागले साउनदेखि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्ने तयारी गरेको हो ।

यसअघि जेठदेखि नै यस्तो कार्ड जारी गर्ने तयारी भएपनि कोरोना महामारीका कारण दुई महिना पछि धेकेलिएको थियो । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाका कारण रोकिएको क्यूआर कोडसहितको लाइसेन्स साउनदेखि वितरण गर्ने तयारी भएको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् ।

‘हामीले जेठ महिनादेखि नै एक वर्षको परीक्षण अवधि राखेर क्यूआर कोड सहित (अस्थाई) लाइसेन्स वितरणको तयारी थालेका थियौं, निषेधाज्ञाका कारण रोकियो, निषेधाज्ञा खुला नभ पनि हामी साउनदेखि क्यूआर कोडसहितको छुट्टै पीभीसी लाइसेन्स वितरण सुरु गर्छौं’, उनले भने ।

ट्रायल पास गरेका चालकले क्यूआर लाइसेन्स दिएको एक वर्षपछि मात्र स्मार्ट लाइसेन्स पाउनेछन् ।

उक्त लाइसेन्स दिएपछि एक वर्षको अबधिमा ५ पटक ट्राफिक कारबाही परेका चालकलाई के गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ लाइसेन्स नदिई पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था मिलाउने भन्ने विषयमा छलफल भएको महानिर्देशक घिमिरे बताउँछन् ।

उनका अनुसार एक वर्षका लागि वितरण गरिएको लाइसेन्समा स्मार्ट लाइसेन्सको जस्तो चिप जडान नगरी बार कोड राखिएको हुन्छ ।

बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ । प्रहरीले बार कोड स्क्यान गर्ने बितिकै त्यो अनुमतिपत्र नक्कली हो या सक्कली भन्ने थाहा पाउँछन् ।

ट्रायल पास गरेका चालकलाई अस्थाई लाइसेन्स साउनदेखि काठमाडौं सहित देशका १९ वटा यातायात व्यवस्था विभागको कार्यालयबाट वितरण गरिनेछ ।

सरकारले २०७२ सालबाट कागजी लाइसेन्सलाई विस्थापित गरी स्मार्ट लाइसेन्स वितरणको प्रक्रिया सुरु गरेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.