आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय, ११ देशमा अन्तर्राष्ट्रिय उडान

  २०७८ असार ८ गते २०:२३     विकासन्युज

काठमाडौं । सरकारले दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै बन्द गरिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्त सहित हवाई उडान खुला गर्ने निर्णय गरेको हो । सरकारले आन्तरिक उडानमा ५० प्रतिशत क्षमतामा खुला र अन्तर्राष्ट्रिय उडानको गन्तव्य सगैँ उडान संख्या समेत बढाउने निर्णय गरेको छ।

११ देशमा अन्तर्राष्ट्रिय उडान, कुन गन्तव्यमा कित उडान ?

सरकारले विभिन्न ११ देशमा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । अन्य गन्तव्यमा उडान खुला भएतापनि तत्काल भारतको नयाँदिल्लीमा यसअघि नै लागु गरिएको एयर बबल सम्झौता अनुसार सातामा २ उडान हुनेछ ।

योसँगै सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ थप १० देशका विभिन्न गन्तव्यमा साप्ताहिक रुपमा हुने उडान तालिका सार्वजनिक गरेको हो। जसमा कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान हुने भएको छ।

त्यसैगरी, काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान, दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान हुनेछ। साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान, कुवेतमा कुवेती वायुसेवाले २ उडान र मलेसियाको हकमा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान गर्नेछन्।

यस्तै, दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान, जापानमा नेपाली वायुसेवाले सातामा १ उडान, ओमनमा साता १ र चीनको छेङ्दु र गोन्जाओमा नेपाली वायुसेवाको १र१ र विदेशी वायुसेवाको १र१ गरि दुई गन्तव्यमा ४ उडान गर्ने गरी मन्त्रिपरिषद्बाटै तालिका तय भएको हो।

गत बैशाख २० गतेबाट आन्तरिक तथा बैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो । नियमित उडान बन्द भएतापनि निषेधाज्ञा अबधिमा कार्गाे, चार्टर्ड तथा उद्धार उडान भइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.