कलाकार घिमिरेको अवस्थामा सुधारः ह्वील चेयरमा बस्ने भइन, प्रतिक्रिया जनाउन थालिन्

  २०७८ असार ८ गते १५:१५     विकासन्युज

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भएकाे छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ ।

हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन् । उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन् । उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन् । ‘

उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ,’ उपचार संलग्न चिकित्सहरु भन्छन्–‘क्रमशः अवस्थामा सुधार भइरहेको छ ।’

उनले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ ।
डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए ।

जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ,’ डा. जलानले भने,‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

निशाको अवस्थालाई उनले ‘जनरल कण्डीसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.