पूर्व सीईओ कुँवरको सेयर अनुभवः सेकेन्डरी मार्केटमा सेयर किन्न डर लाग्छ, कति त राइट भर्नै बिर्सेंछु

  २०७८ असार ७ गते १७:२०     विकासन्युज

काठमाडौं । आजकाल प्रत्येक दिन जस्तो सामाजिक संजाल क्लबहाउसमा सेयर सम्बन्धी बहस चलिरहेको हुन्छ । बसमा सक्रिय रुपमा भाग लिने व्यक्तिहरुमध्ये नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली र ग्लोबल आईमई लगायत बैंकका पूर्व सीईओ पर्शुराम कुँबर क्षेत्री पनि पर्छन् ।

यसै सन्दर्भमा हामीले पूर्व बैंकर क्षेत्रीलाई सेयर बजारमा कत्तिको लगानी गर्नुभएको छ भनेर हामीले सोधेका छौं ।

‘बैंकमा काम गरुन्जेल कति आईपीओ भर्न नै छुटेछ, त्यतातिर ध्यानै जान्नथ्यो, आईपीओ परेका कम्पनीले हकप्रद जारी गर्दा हकप्रद भर्न पनि छुटेछ, पोहोरको साउन १ गतेदेखि बैंकको कामबाट बाहिरिएँ, त्यसपछि भने आईपीओ भर्न छुटाउने गरेको छैन,’ नेपाल बैंकको वित्तीय अवस्था सुधार गर्न विदेशी व्यवस्थापनसँगै संलग्न भएका तत्कालिन बैंक अफ एसिया, ग्राण्ड र जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी पनि बहन गरिसकेका क्षेत्रीले भने ।

उनी गत वर्षको साउन १ गते ग्लोबल आईएमई बैंकको सीईओबाट बाहिरिएका थिए । त्यसपछि आफूले ‘मेरो सेयर’ लिएको र त्यसपछि मात्रै सेयर किनबेचको लागि ब्रोकरसँग अनलाइन कारोबार अनुमति लिएको पनि उनले खुलाए ।

‘मसँग भएका कति सेयरको त डिम्याट पनि गरेको रहेनछु, बैंकमा काम गर्न छोडेपछि पुराना प्रमाणपत्र खोजेर सेयर डिम्याट गराएँ, गत अक्टोबर महिनादेखि दोस्रो बजारप्रति पनि चासो बढाएको छु,’ क्षेत्रीले भने ।

आफूलाई दोस्रो बजारमा सेयर किन्न अहिले पनि डर लाग्ने गरेको उनी बताउँछन् ।

‘कोभिड संक्रमण रोक्न सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गरेपछि सबै कुरा बन्द छ, खुलेको भनेको सेयर बजार मात्रै हो, सबैको ध्यान यसैमा छ तर, मलाई भने दोस्रो बजारबाट सेयर उठाउन निकै डर लाग्छ, त्यसैले धेरै कारोबार गर्दिनँ,’ क्षेत्रीले भने ।

क्षेत्री पूर्व बैंकर हुन् । बैंकरले कम्पनीको वित्तीय विवरण तथा उसका परिसुचक प्रभावकारी ढंगले विश्लेषण गरी लगानीको लागि आवश्यक रणनीति बनाउन अझ सहज हुँदैन र भनेर हामीले क्षेत्रीसँग प्रश्न गरेका छौं ।

‘बढी एनालिसिस् गरेर त डर लाग्छ नि, निषेधाज्ञाको कारण सबै कुरा बन्द छ, खुलेको सेयर बजार मात्रै हो, सबैको ध्यान यसैमा छ, त्यसैले मलाई सेकेन्डरी मार्केटमा लगानी गर्न एकदमै डर लाग्छ,’ सीईओ क्षेत्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.