आन्तरिक उडान खुलाउने छैन तयारी, व्यवसायी भन्छन्– सरकारले कुरै बुझेन

  २०७८ असार ७ गते १२:४४     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत बैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

बैशाख २३ गतेदेखि नियमित रुपमा हुने अन्तर्राष्ट्रिय उडान बन्द गरेपनि केही गन्तव्यमा पुनः उडान सुचारु गरिएको छ । जोखिम कम भएका क्षेत्रमा उडान सुचारु गरे तापनि सरकारले आन्तरिक उडान खुलाको विषयमा कुनै चासो देखाएको पाइएको छैन ।

अन्तर्राष्ट्रिय उडान सुचारु गरेर विदेशी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएर सरकारले आन्तरिक उडानलाई वेवास्ता गरेको आन्तरिक उडान गर्दै आएका कम्पनीका सञ्चालकहरुले आरोप लगाएका छन् ।

उनीहरुले सरकारले कोभिडको उच्च जोखिम रहेको भारत लगायतका देशमा नियमित रुपमा उडान गरेपनि आन्तरिक उडानको विषयमा कुनै पहल नगरेको भन्दै अपत्ती जनाएका छन् ।

आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडान खुला गर्न २ पटकसम्म सरकारसँग आग्रह गरिसकेको जनाएको छ ।

संघले आन्तरिक उडान खुलाउनुपर्ने भन्दै गत जेठ २५ गते र असार १ गते सरकारलाई ध्यानाकर्षण गर्दै विज्ञप्ति समेत जारी गरिसकेको छ ।

जोखिम कम भएका जिल्लाहरुमा उडान सुचारु गर्न २ पटकसम्म संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा लिखित रुपमा नै आग्रह गर्दापनि हालसम्म आन्तरिक उडानको विषयमा कुनै छलफल नगरिएको संघका प्रवक्ता योगराज कँडेल बताउँछन् ।

‘हामीले पटक÷पटक आन्तरिक उडान खुला गर्नुपर्छ भनेर छलफल गरिसकेका छौं, हालसम्म कुनै निर्णय भएको छैन, अन्तर्राष्ट्रिय उडानमा गन्तव्य थप गर्दै लगेपनि आन्तरिक उडानको विषयमा कुनै निर्याय नहुँदा समस्या भयो,’ उनले भने ।

कडेलका अनुसार पर्यटनमन्त्रीले आन्तरिक उडान खुला गर्नुपर्छ भन्दै प्रयास भइरहेको जानकारी गराएकोले व्यवसायीहरु सरकारको निर्णयको प्रतिक्षामा छन् ।

सरकारले आन्तरिक उडान खुला नगर्दा विभिन्न स्थानमा रहेका विरामीहरु चर्काे शुल्कमा चार्टर्ड उडान मार्फत काठमाडौं आउने गरेका छन् ।

प्रवक्ता कँडेल सरकारले सार्वजनिक सवारी साधन र हवाई सेवालाई एकै प्रकारको व्यवहार गर्दा समस्या आएको बताउँछन् । उनका अनुसार वायुसेवा कम्पनीले उडान सुचारु गरे सार्वजनिक यातायात व्यवसायीले समेत सवारी सञ्चालन गर्ने डरले सरकारले वायुसेवा कम्पनीलाई उडान अनुमति नदिएको हो ।

गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू गरिएसगैँ सार्वजनिक सवारी साधन बन्द गरिएको छ ।

सार्वजनिक यातायात बन्द गरेर सरकारले हवाई उडान सुचारु राखेको भन्दै व्यवसायीको विरोधपछि आन्तरिक उडान बन्द गरिएको थियो ।

तत्काल आन्तरिक उडान सुचारु गर्दा पुनः यातायात व्यवसायीले विरोध गर्ने भन्दै जोखिमको अवस्था आंकलन गरेर एकैपटक निर्णय गर्ने तयारीमा रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री हालसम्म आन्तरिक उडान खुलाको विषयमा कुनै निर्णय नभएको बताउँछन् ।

‘हामी आफैले निर्णय गर्न कुरा भएन, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने हो, खुलाको विषयमा क्याविनेट, मन्त्रालय हुँदै प्राधिकरणमा जानकारी आएपछि मात्र हामीले जानकारी पाउने हो, हालसम्म आन्तरिक उडानको विषयमा कुनै जानकारी आएको छैन’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.