नक्कली बीमा लेख बनाई ठगी गर्नेलाई भित्रभित्रै उन्मुक्ति, बीमा समिति बेखबर

  २०७८ असार ४ गते २१:५१     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको शाखा प्रमुख पद छोडेर जनरल इन्स्योरेन्स कम्पनी नेपालमा प्रबन्धक बनेका तीर्थराज पुरीले लुम्बिनी जनरलमा काम गर्दा नक्कली बीमा पोलिसी जारी गरी ठगी गरेको स्वीकार गरेका छन् । यसरी ठगी गर्ने पुरीलाई लुम्बिनीले नाेक्सानी पूर्ति गरी छाडिदिएकाे छ भने जनरल इन्याेरेन्सले महत्वपूर्ण जिम्मेवारी दिएर राखेकाे छ ।

बीमा लेखको विश्वसनियता नै गुम्ने खालका यस्ता गतिविधिबारे बीमा समितिले अनविज्ञता प्रकट गरेको छ । नक्कली बीमा लेख बजारमा बिक्री भईरहेको प्रमाणसहित विकासन्युजले पटक पटक समाचार प्रकाशित गर्दै आएको छ ।

पर्वतको चुवा स्थायी घर भएका तीर्थराज पुरीले लुम्बिनी जनरल इन्स्योरेन्सको ललितपुर शाखा प्रमुख हुँदा नक्कली बीमा लेख जारी गरी ठगी धन्दा गर्ने गरेकोबारे विकासन्युजमा ४ महिनाअघि समाचार प्रकाशित भएको थियो ।

शुरुमा पुरीले ठगी नगरेको दावी गरेका थिए । साथै पुरीको ठगी धन्दामा मिलोमत्तो गर्ने एएम जेभी कन्स्ट्रक्सनका राजन बस्नेतले पनि आफूले नक्कली नभई सक्कली बीमा लेख नै लिएको दावी गरेको थिए ।

तर नक्कली बीमा लेख जारी गरेर आफूले ठगी नगरेको दावी गर्दै आएका तीर्थराज पुरीले अन्तिममा सत्य स्वीकार गरेका छन् । उनले २०७७ फागुन २ गते लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई पत्र लेख्दै आफूले गल्ती गरेको स्वीकार गरेका थिए ।

विकासन्युजलाई प्राप्त पत्र अनुसार पुरीले कसुर स्वीकार गर्दै दुई वटा बीमा लेख जारी गरी कम्पनीलाई बुझाउनु पर्ने तर नबुझाएको ३ लाख १ हजार ७ सय रुपैयाँ बुझाएका छन् । साथै उनले पैसा फिर्ता गरेपछि आफूमाथि कानुनी कारवाही नगर्न कम्पनीसँग हारगुहार मागेको स्रोतले बतायो ।

‘उनले कसुर स्वीकार गरे । कम्पनीलाई बुझाउनु पर्ने पैसा पनि बुझाए । तर कानुनी कारवाही अगाडि नबढाउने सहमति भएको छ’ स्रोतले भन्यो ।

ठेकदार एएम जेभी कन्स्ट्रक्सनका राजन बस्नेतको रोहबरमा उनले गल्ती स्वीकार गर्दै नगद फिर्ता गरेको स्रोतले बतायो । ‘गल्ती स्वीकार गरे, नोक्सानीको क्षतिपूर्ति फिर्ता गरे । सच्चिन्छु भन्नेलाई मौका दिन कारवाही गरेनौ’ स्रोतले भन्यो ।

किर्ते कागजपत्र बनाइ नक्कली बीमा लेख जारी गर्ने कार्य कानुनी रुपमा दण्डनीय भएकोले पुरीलाई उन्मुक्ति दिनु गल्ती भएको जानकारहरु बताउँछन् । यस विषयमा बीमा समितिलाई कुनै जानकारी नभएको एक उच्च अधिकारीले बताए ।

सम्बन्धित समाचार

लुम्बिनीबाट डेपुटी सीईओ तानेको भोलिपल्ट जीआईसीमा स्पष्टीकरण पत्र दर्ता, आरोप नक्कली बीमा पोलिसीको

नक्कली बीमा लेख जारी गरेर ६ लाख गोजीमा, दोषीलाई उन्मुक्ति दिन चोरी काम गुपचुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.