टेलिकमले भैरहवामा शुरु गर्यो आईपी टिभी सेवा, अब त्रिपल प्ले कार्यान्वयनमा आउने

  २०७८ असार ६ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आज (२०७८ असार ६ गते) देखि एफटीटीएच (फाइबार टू द होम एफटीटीएस) मार्फत आईपी टिभी (आईपीटीभी)सेवा सञ्चालनमा ल्याएको छ । (एनटी टिभी) ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए । टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् त्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो ।

हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछ । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभीसेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।

नेपाल टेलिकमले २०७७ पुस १७ गते (१ जनवरी २०२१) मा सर्वप्रथम एनटी टिभी सेवाको वितरण शुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।

एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरु सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.