देशभरका व्यापारीलाई महासंघको पत्रः घरधनीलाई ५० प्रतिशत मात्रै भाडा दिनु, नमाने खबर गर्नु

  २०७८ असार ६ गते १२:०७     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण देशभर निषेधाज्ञा छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै काठमाडौं उपत्यकामा पनि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । निषेधाज्ञामा मानिसका सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प छन् भने व्यापार व्यवसाय तथा उद्योगधन्दाहरु पनि बन्द अवस्थामा छन् ।

गत वर्ष पनि कोरोनाको कारण लामो समय लकडाउन भयो । आर्थिक गतिविधिहरु ठप्प हुँदा आम सर्वसाधारणहरुले मात्र होइन उद्योगी व्यवसायीहरुले पनि ठूलो आर्थिक क्षति मात्र व्यहोर्नु पर्यो ।

कतिले आफुले गर्दै आएको व्यापार व्यवसाय बन्द गरेर सधैँका लागि पलायन भए भने कतिले व्यापार व्यविसाय टिकाउनकै लागि विभिन्न निकायसँग हार गुहारको अपील गरिरहे । फेरि यो वर्ष पनि त्यही अवस्था दोहोरिएको छ ।

गत वर्ष धेरै व्यापारी तथा व्यवसायीहरुले घरधनीबाट केही घरभाडा छुट पनि पाए । जसले उनीहरुलाई थोरै भएपनि राहतको महसुस भयो । गत वर्ष लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा उनीहरुलाई पहिलेकै अवस्थामा फर्कन समय लाग्यो । केही समान्य अवस्थामा फर्किनै लाग्दा कोरोनाले फेरि सबै गतिविधिहरु ठप्प पार्यो ।

अहिले फेरि सबै उद्योगी व्यवसायी व्यापार व्यवसाय बन्द गरेर घरचित्रै बस्न बाध्य छन् । व्यापार व्यवसाय नहुँदा उनीहरुले पुनः गत वर्षकै जस्तो घरधनीहरुलाई भाडा छुट माग गरेका छन् । सम्पूर्ण व्यापारीहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशभरका व्यावसायीलाई घरधनीलाई ५० प्रतिशत भाडा मात्रै तिर्न पत्र काटेको छ । निषेधाज्ञाको समयमा व्यवसाय ठप्प भएको भन्दै घरधनीलाई ५० प्रतिशत भाडा मात्रै तिर्न देशभरका व्यापारी तथा व्यवसायीलाई महासंघले पत्राचार गरेको हो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले देशभरका व्यापारीहरुलाई निषेधाज्ञाभरको घरभाडा ५० प्रतिशत मात्रै तिर्न पत्राचार गरेको बताए उनका अनुसार घरभाडा छुट दिने बारेमा घरधनीहरुसँग निषेधाज्ञा खुलेपछि छलफल हुने कुरा पनि भएको छ ।

‘निषेधाज्ञाको समयमा कोही सँगपनि पैसा छैन, भाडा बुझाउनेबेला निषेधाज्ञापछि सँगै बसेर कुरा गरौंला भनेर हामीले घरधनीहरुसँग कुरा गरेका छौं, त्यसका लागि हामीले व्यवसायीहरुलाई नोटिस पनि पठाइसकेका छौं, पत्रमा ५० प्रतिशत छुट गरेर मात्रै बुझाउनु होला भनेर भनेका छौं,’ उनले भने ।

उनका अनुसार सकेसम्म पुरै भाडा छुट माग्न आग्रह गरेको त्यो नभएपनि ५० प्रतिशत छुट माग्न पत्राचार गरेको छ । ‘न्यूनतम ५० प्रतिशत भाडा छुट माग्नु भनेर हामीले पत्र पठाएका छौं, छुट भएन भने हामीलाई खवर गर्नुस्, हामी कुरा गर्छौं भनेका छौं,’ अध्यक्ष कटुवालले भने ।

यसका साथै अब व्यवसायीहरुले असार ७ गतेपछि व्यापार व्यवसाय खोल्न पनि माग गरेका छन् । नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु पालना गरी आफुहरु व्यापार व्यवसाय सञ्चालन गर्न तयार भएको भन्दै महासंघले शुक्रबार मात्रै काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई भेटेर आग्रह गरेका छन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा व्यापार व्यवसाय ठप्प भएको जानकारी गराउँदै महासंघमा आवद्ध २१ वटा संघ संस्थाहरुले पराजुलीलाई भेटेर ध्यानआकर्षण पत्र बुझाएका हुन् ।

उनीहरुले व्यवसाय सञ्चालन गर्दा डबल मास्क र फेससिल्डको प्रयोग गर्ने, स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, आधा जनशक्ति राखेर काम गर्ने, इबैंकिङ पेमेन्ट, अनलाइनका माध्यमबाट व्यापार व्यवसाय चलाउने लगायत नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर काम गर्ने उल्लेख गर्दै व्यापार व्यवसाय सञ्चालनको अनुमति दिन आग्रह गरेका हुन् ।

यस्तै, उनीहरुले सुपरमार्केटको हकमा एक द्वार प्रणालीमा प्रवेश गराउने, प्रवेश द्वारमा सुरक्षाकर्मीले थर्मल गनले ज्वरो नाप्ने, भवनमा दुई दिनको फरकमा डिइन्फेक्सन गराउने जस्ता स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने बताउँदै सपिङ मल खोल्न आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.