बैंकर ज्वाईं रोजौं कि अमेरिकाको ग्रीनकार्ड होल्डर ?

  २०७८ असार ५ गते १५:३९     सुशिल घिमिरे “त्रैलोक्य”

भाउजु, हजुरकी छोरी बाइस लागिसकी… बैंकमा काम गर्न पनि थालेकी छे । मेरो आमाजुको छोरा (भान्जा) अमेरिकाको ग्रीनकार्ड होल्डर हुन्, बिहे गर्न केटी खोज्दैछन् । मैले सरुको फोटो पठाएको थिएँ, मन पो पराएका छन् भान्जाले । बिहेलगत्तै उतै लाने रे… अमेरिका जान पाए त के खोज्नु ? गरिदिम बिहे । सरुको भाग्य दह्रो रैछ भने त… । सोच्नु है सोच्नु, यस्तो केटा उम्काउन हुँदैन नि । फेरी नेपालमा बसेर सरुले खासै के नै पो गर्छे र ? त्यसमा पनि छोरी मान्छेले नोकरी गरेर के नै पो हुन्छ र ? म पनि +२ पास भएकै थिएँ… खै, बिहेपछि छोराछोरीकै थाङ्ना र घरको भान्सामै बित्योे जिन्दगी । तपाइले पनि पढेर के नै पो गर्नु भो र भाउजु ?

धेरै दिनपछि नन्द हाम्रो घर आएकी थिइन् । उनैले मेरी छोरीको लागि आफ्नो भान्जाको प्रस्ताव ल्याएकी हुन् । उनको भान्जालाई आजै वेलुकीसम्ममा डिसिजन दिनुपर्ने भएपछि मलाई वेचैनी शुरु भयो ।

आफूले सधैं सानी देखेको छोरीका लागि आज एक्कासी बिहेको प्रस्ताव आउँदा मनमा छटपटि त हुने नै भयो । के गरौं, कसो गरौं, कोसँग सल्लाह गरौं । आफ्नो श्रीमान्सँग सल्लाह गरौं भनेपनि यहाँ हुनुहुन्न । कमाउन विदेशिनुभएको उतै हुनुहुन्छ । दिनभरी छट्पट् छट्पट् भैरह्यो । आखिर म आमा हुँ । छोरीको बिहेको लागि राम्रो प्रस्ताव आएपछि मनमा अनेक तर्कनाले डेरा जमाए ।

अचानक डोरबेल बज्यो । म झसङ्ग भएँ । सोच्दासोच्दै समय बितेको पत्तै भएन, सात पो बज्न लागिसकेछ । छोरी बैंकवाट थाकेर आइपुगी । मेरो सुद्घि पनि काँ गएको होला, खाना पकाउन पनि बिर्सेंछु….ऊ कति भोकाइ होली… थाकि होली… ।

ममी, कम्प्युटरमा दिनभरी बसेर काम गरेको कस्तो टाउको पो दुख्यो… एस्सो मिचिदिनुन । छोरीले अबोध बालकले झैं आग्रह गरी । मैले उसको टाउको बिस्तारै मिचिदिन थालेँ तरपनि मनमा भने नन्दकै कुरा याद आइरह्यो ।

मैले बिवाह सम्वन्धी छोरीको मनसाय वुझ्ने उद्देश्यले बिस्तारै कुरा कोट्याएँ । आजकलका नयाँ जेनेरेशनका युवायुवतीहरु सबै अमेरिका, अस्टे«लिया जान खोज्छन है छोरी ? तिमिलाई विदेश जान मन पर्दैन ? मैले सोधिनसक्दै उसले मेरो कुरालाई बिचैमा रोक्दै भनी “छ्र्या… मलाई त बस्ने गरी विदेश जान फिटिक्कै मन लाग्दैन । बरु सुखदुःख जे हुन्छ नेपालमै गर्ने, एतै राम्रोसँग कमाउने अनि वेलावेलामा घुम्नलाई विभिन्न देश जाने ।”

नेपालमा के छ र ? फेरि महँगी पनि त छ यहाँ । एक्लो कमाइले खानै पुग्दैन । भविश्य नै छैन, होइन र ? – मैले उसलाई फेरि प्रश्न गरेँ । “बुढाबुढी दुवैले कमाइयो भने पुगिहाल्छ नि । आजकलको जमानामा कोहि नकमाई बस्छ र ? दुवैले कमाउनु पर्छ अनि त यहिँ नै भै हाल्छ नि अमेरिका ।” छोरीले बडो विश्वासका साथ भनी । सधैँ आफूले केटाकेटी देखेको छोरीले यस्तो गहिरो जवाफ दिएको सुनेर म छक्क परेँ ।

मैले फेरि पनि छोरीलाई बैंकको जागिर कष्टपूर्ण हुने, भनेको वेला बिदा नपाइने, समयमै पुग्नुपर्ने, राती फर्कन ढिलो हुने लगायतका समस्या इंगित गराएँ तरपनि उसले ती समस्याहरुलाई नजरअन्दाज गर्नुपर्ने तर्क तेस्र्याई । उसले त बैंकको जागीर भनेको त वित्तिय पारदर्शिताको क्षेत्र हो, समय व्यवस्थापनको क्षेत्र हो, राम्रो गरे रिजल्ट राम्रो दिए प्रमोशन पनि चाँडै हुन्छ, समाजको नजरमा मर्यादित पेशा हो । गाह्रो सजिलो भन्ने कुरा त प्यासन नहुन्जेल मात्र हो, कामसँग भिजेपछि सजिलो हुँदै जान्छ, लगाव लागेपछि काम जस्तो नभएर इन्जोए जस्तो हुन्छ । पैसा पनि त अरु क्षेत्रमा भन्दा बैंकिङ्ग मै राम्रो छ, के के हो के के भन्न थाली ।

“गत सालको वोनस रकमले हजुरलाई मैले सुनको बेरुवा आंैठि किनिदिएको बिर्सिनुभयो ?” उसले पोहोरको कुरा सम्झाउँदै भनी । मैले पनि जिस्किँदै उसलाई भनें – अस्तिको साल त औंठी किनिदिइस् अब यो साउनको वोनसले चैं के किनिदिन्छेस् नि… ? “अँ… यो चोटिको वोनसले त आफ्नै लागि पो किन्छु । अब आफ्नो लागि पनि त सोच्नुपरेन मैले ?” उसले डवल मिनिङमा ‘आफ्नो लागि पनि त’ भनेको सुनेर म ट्वाँ… परेँ ।

खाना खाएपछि म ओछ्यानमा पल्टिएर सोच्न थालेँ – समय पनि कत्ति चाँडो वित्दो रहेछ, अस्ति भर्खरजस्तो लाग्छ म आफैं वेहुली भएर भित्रिएको… सरु तोते तोते वोल्दै स्कुल गएकी… एस.एल.सी. फस्ट डिभिजनमा पास भएकी… बैंकको नोकरी गर्न थालेकी… यी सवै कुरा हिजोअस्ति कै हुन् जस्तो लाग्छ । आज उसको लागि विवाहको प्रस्ताव पनि आइसक्यो । तर पनि उ केटाकेटी नै जस्तो लाग्छ… र छे पनि ।

हुन त उसले भनेको एक हिसावले ठिकै पनि हो । आफ्नो देश भनेको आफ्नै हो । अमेरिका त के विदेशका कुनैपनि ठाउँ गएर उतै बसोवास गर्न मन लाग्दैन रे उसलाई । कि उसैले पो कोहि केटा मन पराएकी छे कि ? हुन पनि सक्छ, नभए किन मलाई ‘वुढावुढि दुवै कमाउने भयो भने यहिँ हुन्छ अमेरिका’ भनी त ? किन ‘यो चोटिको वोनस त आफ्नै लागि खर्च गर्ने हो’ भनी त ? किन ‘आफ्नो लागि पनि त सोच्नु पर्यो’ भनी त ? अनि फेरि ‘बुढाबुढी कमाउने भयो भने यहिँ अमेरिका हुन्छ’ पनि पो भन्दै थिई ! हो, उसले पक्कै कोहि मन पराएकै हुनुपर्छ ।

तर यदी उसका नजरमा कोहि केटा छैनन् भने चैं नेपालमै पनि त जत्ति केटाहरु छन् नि हौ… । विदेश बस्ने केटा किन पो चाहियो । होस्, बरु उसकै जागिर सुहाउँदो क्षेत्रको केटा खोजिदिनु पर्यो । बैंक अथवा इन्स्योरेन्स तिर काम गर्ने केटा कसो नभेटिएला त ! कमसेकम उसलाई र उसको पेसालाई त बुझ्छ ।

तर होइन, ऊ केटाकेटिनै छे । आजको जमानामा त पैसा नै सबै कुरा हो । पैसा भएको भए यसरी वर्षैंसम्म डेराको घरमा वस्नु पथ्र्यो र ? मेरो श्रीमान पनि पैसै नभएर त होनि खाडि मुलुक जानुभएको । छोरीलाई त बरु अमेरिका जाने कुरा आइरहेको छ । ऊ अहिले बैंकको जगिर राम्रो भन्छे नि । मलाई पो थाहा छ त अस्ति उसले तलव, वोनस र अरु सुविधा गरी वार्षिक ७० हजार रुपैयाँ ट्याक्स कट्यो भनेर अँध्यारो अनुहार लगाएकी थिई । कहिले अफिसमा मेनेजरले गालि गरे, टार्गेट दिए, कोरोनाको वेला पनि नोकरीमा गइरहनु पर्यो भनेर गनगन गरिरहेकी हुन्छे । फेरि नोकरीको त के नै भर हुन्छ र, त्यसमा पनि बैंकको । पत्रपत्रिकामा मर्जको कुरा आइरहेका छन् । भोलि उसले काम गरेको बैंक अर्को बैंकसँग मर्ज भयो र उसलाई जागिरबाट निकाल्यो भने के हुन्छ नि उसको जिन्दगि ?

वास्तवमा नन्दले भनेको कुरा ठिक हो । जत्ति गरे पनि महिला भनेको महिलै हो । घरको काम गर्नैपर्छ । बुढी नोकरी गर्छे थाकेकी होली भनेर श्रीमान् पक्कै भान्सामा पस्दैनन् अनि बुहारी थाकेर आइहोली भनेर सासु पनि पक्कै भान्सातिर छिर्ने होइनन् । आखिर बुहारिले नै गर्नुपर्छ यो पुरुषप्रधान समाजमा । नाममात्रको ‘नारीपुरुष बराबरी’ व्यवहारमा त पुरुष नै जहिल्यै माथि । फेरि भोलिका दिनमा पारिवारिक समस्या आएर श्रीमान् श्रीमतीभध्ये कोही एकले नोकरी छोड्नुपर्यो भने के श्रीमानले नोकरी छोड्छन् होला र ? के छोड्थे । उसको त इगोमा हर्ट भै हाल्छ नि…। जत्ति नै गरे पनि मेल इगो विचमा आइ हाल्छ ।

उ केटाकेटिनै छे, उसले दुनियाँ देखेकै छैन । जत्ति गरेपनि नेपाल कहाँ अमेरिकाजस्तो हुन्छ र ! महँगी दिनप्रतिदिन बढेको बढ्यै छ । आज पो कमाइले पुग्दैछ । अब यसरी नै महँगी बढ्दै जाने हो भने अबको पाँच÷छ वर्षपछि त वुढावुढि दुवैले कमाए भनेपनि पुग्दैन । अमेरिका भनेको अमेरिका हो । कस्ता कस्ता डाक्टर, इन्जिनियर, न्यायाधिसहरु त पेसा छोडर अमेरिका गएका छन् । उसले त भर्खर नोकरी सुरु गरेकी छे त्यसमाथि पनि असिस्टेन्टको नोकरी ।

रात छिप्पिने क्रममा भएपनि आँखामा पटक्कै निद्रा थिएन । मनमा अनेकौं कुराहरु खेल्दै थिए अकस्मात मोवाइलमा नन्दको एस.एम.एस. आयो । “भाउजु के विचार गर्नुभयो त ? मलाई थाहा छ हजुर छोरी दिन राजी हुनुहुन्छ… केटापक्षका त अन्त पनि केटी हेर्ने कुरा गर्दैछन् तर मैले रोकेकी छु सरुकै लागि भनेर । अब धेरै रोक्न सकिँदैन त्यसैले म्यासेज गरिहाल्नु है… निर्णय दिइहाल्नु है… ।

नन्दको म्यासेज पढिसकेपछि छोरीको कुरा सम्झें । बुढाबुढीले नै नोकरी गरे यहीँ हुन्छ अमेरिका… फेरि नन्दको कुरा सम्झें । सरुको भाग्य दह्रो रैछ, अमेरिका जान पाउने भई…। यी दुवैथरी कुराहरु मनमा तुफानजस्तै गरी खेलिरहे । “…यहीँ हुन्छ अमेरिका …सरु अमेरिका जान पाउने भई …यहीँ हुन्छ अमेरिका …सरु अमेरिका जान पाउने भई …यहीँ हुन्छ अमेरिका …सरु अमेरिका जान पाउने भई”

अब भने मैले मनलाई ढुङ्गाजस्तो दह्रो बनाएँ । मैले अब केही बेरमै मेरी छोरीका लागि बैंकर ज्वाईं वा अमेरिकाको ग्रीनकार्ड होल्डर ज्वाईंमध्ये एउटा रोज्नु थियो । दुवै अपरिचित अनुहारहरु थिए मेरा अगाडि । ति दुईमध्ये एकलाई आफ्नो ज्वार्इं बनाउनु पर्ने थियो । मैले विर्सिदिएँ छोरीको इच्छा र चाहनाहरु किनकि निर्णय मैले गर्नु छ । अनि फेरि बिर्सिदिएँ नन्दले भनेका कुराहरु । छोरी र नन्द दुवैलाई परै राखेर मैले एकल निर्णय गरें । हरेक आमाहरुले आफ्नी छोरीको भविष्यका लागि जस्तो निर्णय गर्छन् मैले पनि त्यस्तै निर्णय गरें र बैंकर ज्वाईं र अमेरिकाको ग्रीनकार्ड होल्डर ज्वाईंमध्ये एउटालाई रोज्दै नन्दलाई एस.एम.एस. पठाएँ ।

2 comments on "बैंकर ज्वाईं रोजौं कि अमेरिकाको ग्रीनकार्ड होल्डर ?"

  • Sanjaya says:

    Part 2 ma heraula American green card holder or banker

  • Puspa Raj Joshi says:

    खै कसलाइ रोज्नु भन्नू गाइलाइ आफ्नै अनि भैसिलाइ आफ्नै सिङ गर्हुङो भने जस्तै हुन्छ। काम नगरेर खान पाइने कतै होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.