बजार अनुगमनः खुद्रा व्यवसायीलाई चिढ्याउने, ठूलालाई रिझाउने

  २०७८ असार ४ गते १७:०७     विकासन्युज

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले निषेधाज्ञामा बजार अनुगमन गर्दै आएको छ । तर, विभागको नियतमाथि साना अर्थात खुद्रा व्यवसायीहरुले भने प्रश्न गरेका छन् । उनीहरुले विभागले निषेधाज्ञाको समयमा मात्र होइन अन्य समयमा पनि अनुगमनमा विभेद गर्ने गरेको आरोप लगाएका छन् ।

खुद्रा व्यवसायीहरुले आफुहरुलाई दैनिक अनुगमन गरेर कारवाही गर्ने गरेको भएपनि विभागले ठूला व्यवसायिक फर्महरुलाई कारवाही त परै जाओस् अनुगमन पनि गर्ने नगरेको आरोप छ ।

खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र ब्रजाचार्यले विभागले बजार अनुगमन गर्नै लागि मात्र गर्ने गरेको बताए । उनका अनुसार विभागले ठूला व्यवसायीहरुलाई खुसी पार्नैका लागि मात्रै अनुगमन गर्ने गरेको छ ।

‘निषेधाज्ञामा विभागले साना तथा खुद्रा व्यवसायीलाई मात्रै अनुगमन गरेर कारवाही गर्ने गरेको छ, ठूला व्यवसायीहरुको फर्ममा अनुगमन गरेर कारवाही भएको कतै सुनिँदैन, उल्टै उनीहरुले ठूला व्यापारीलाई खुसी पार्ने काम गर्छन्, साना व्यापारीकोमा अनुगमन गरेर काम देखाए जस्तो गर्छन्,’ उनले भने ।

मुल्यवृद्धि भयो भनेर विभागले खुद्रा पसलमा अनुगमन गर्ने गरेको बताउँदै उनले मुख्य मुल्यवृद्धि गर्ने उद्योग तथा फर्महरुमा कहिल्यै पनि अनुगमन हुने नगरेको उनको भनाई छ ।

विश्व महामारीका रुपमा फैलिएको कारोना भाइरसको दोस्रो लहरमा संक्रमितको संख्यामा बृद्धि भएको भन्दै गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकाशं जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञा अबधिमा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै खाद्यान्न र स्वास्थ्य केन्द्रीत बजार अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाई बताउँछन् ।

उनी कोरोनाको कारण विभागमा जनशक्तिको अभाव भएकोले सबै ठाउँमा अनुगमन हुन नसकेको बताउँछन् । उनका अनुसार निश्चीत समयमात्र खुला हुने खाद्यान्न पसलमा बढी मूल्य लिने र कालोबजारी हुने अनुमान गरि निरन्तर बजार अनुगमन गरि अनुचित व्यापारिक कारोबार गर्नेलाई जरिवाना गरिएको हो ।

निषेधाज्ञाको समयमा विभाग र पाँच शाखा कार्यालयले ९७ वटा फर्मलाई कारवाही गरेको उनले बताए । निषेधाज्ञा अबधिभर २ सय ३ वटा व्यापारिक फर्मको अनुगमन गर्दा उक्त फर्मलाई कारवाही स्वरुप जरिवाना गरिएको थियो । उक्त फर्मलाई कारवाही गरी विभागले १३ लाख ९६ हजार राजश्व संकलन गरेको छ ।

विभागले निषेधाज्ञा अबधिभर खाद्यान्न र स्वास्थ्य केन्द्रित बजार अनुमगन गरेको जनाएपनि निषेधाज्ञाको मौकामा मूल्य बृद्धि बढेको छ । निषेधाज्ञा अघिको तुलनामा निषेधाज्ञा जारी भएसगैँ अधिकांश खाद्यान्न वस्तुको मूल्य बृद्धि भएको छ ।

व्यापारिले खुलमखुला निषेधाज्ञाको मौका छोपेर चिनी, चामल, तेल लगायतका वस्तुमा आफूखुशी मूल्य बढाएपनि उनिहरुमाथि कारवाही भएको पाईएको छैन ।यस्तै, कोरोना संक्रमितको संख्यामा बृद्धि भएसगैँ पछिल्लो समय नीजि अस्पताल तथा औषधि पसलले चर्काे शूल्क लिदैँ आएका छन् ।

यस्तै विभागले ११ महिनामा देशभर रहेका विभिन्न एक हजार ६६ व्यावसायिक फार्मको अनुगमन गरिएको जनाएको छ । प्रवक्ता सेढाईँका अनुसार उक्त अवधिमा विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने ९९० फार्मलाई कारवाही गरिएको छ ।

विभागको उक्त फार्मलाई कारवाहीस्वरुप जरिवाना गरी रु दुई करोड २८ लाख ८७ हजार राजश्व सङ्कलन गरेको छ । हालसम्ममा विभागले दुई ८२४ वटा व्यापारिक फार्मलाई अनुगमन गरेको जनाएको छ । उक्त अनुगमन गरेकामध्ये ३५ फार्मलाई उपभोक्ता संरक्षण ऐनविपरीत कारोबार गरको भन्दै कारोबार रोक्का गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.