सेवोनको एक्सनमा इप्पानको रियाक्सनः बोर्डकै व्यक्तिहरूबाट बजारमा चलखेल भइरहेको त छैन ?

  २०७८ असार ३ गते १८:२८     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले धितोपत्र बोर्डले गरेको कार्यप्रति आपत्ति जनाएको छ । नेपाल धितोपत्र बोर्डले आषाढ १ गते सार्वजनिक गरेको ५१ कम्पनीमा भएको लगानी अवधारणाप्रति स्वतन्त्र उर्जा उत्पादहरुको संस्थाले आपत्ति जनाएको हो ।

धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत कम्पनीहरु सुचिकृत भएको उल्लेख गर्दै इपानले जलविद्युत कम्पनीहरुलाई जोखिमयुक्त भनेर सार्वजनिक गर्नु लज्जासपद भएको धारणा पनि राखेको छ । बिहीबार इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै बोर्डको यस कार्यप्रति गम्भीर ध्यान आकर्षण भएको पनि जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘धितोपत्र बोर्ड आफैले शेयर निश्काशनको अनुमती दिएर सूचिकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भैरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लागानीलाई धितोपत्र बोर्डले जोखिमयुक्त लगानी भनेकोमा इप्पान दुःख व्यक्त गर्दछ, जलविद्युत कम्पनीहरु सामान्यतया संचालनमा आउन सामान्यतया ४ देखि ५ वर्ष लाग्ने गरेको सर्वविधितै छ, जलविद्युत् कम्पनीहरुले २० देखि ३० प्रतिशत स्वपुँजी लगानी र ७० देखि ८० प्रतिशत ऋण लगानी गरेर जलविद्युत आयोजना निर्माण गर्ने गरेका छन्,तर कुनै कुरा नबुझि यसरी मिडियाबाजी गर्नु लज्जास्पद हो ।’

धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको यो प्रकृतिलाई ख्यालै नगरी बैक तथा वित्तिय संस्था वा अन्य व्यपारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार शुरु गरेर तत्कालै नाफा कमाउने ठानेर अहिले गरेको मूल्याड्ढन अन्यायपूर्ण भएको उल्लेख गरेको छ ।

‘कसैले शेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानविन गरेर गलत गर्ने व्यक्ती वा संस्थालाई कारवाही गर्नुपर्ने हो। यदि जलविद्युत क्षेत्रमा गलत भएको भएमा स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल हरदम बोर्डलाई सहयोग गर्न तयार छ, इप्पानको वर्तमान नेतृत्व जलविद्युत क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको छ , विज्ञप्तिमा लेखिएको छ,‘ धितोपत्र बोर्डले प्रदर्शन गरेको यस्तो अपरिपक्क व्यवहारले नीतिगत रुपमा नियन्त्रणको लागि स्थापना भएको धितोपत्र बोर्डको असक्षमता मात्र प्रदर्शन गरेको छैन, कतै बोर्ड भित्रकै व्यक्तीहरुबाट बजारमा चलखेल भैरहेको त छैन भन्ने गम्भिर आशंका पैदा भएको छ ।’

नेपालमा तुनात्मक रुपमा राम्रो लाभ रहेको, खोलामा बगिरहेको पानी कच्चपदार्थको रुपमा उपयोग हुने, व्यापार घाटा सन्तुलनको लागि भूुमिका खेलिरहेको, निर्यात योग्य, लाखौ रोजगारी श्रृजना गर्ने, ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने जलविद्युत कम्पनीको लगानीमा जनताको विश्वास पैदा गरेर जलविद्युत् विकासमार्फत आर्थिक संमृद्धि र रोजगारी श्रृजना गर्ने वातावरण तयार गनुपर्नेमा जलविद्युत् कम्पनीको लगानीमा जोखिम भन्दै विज्ञप्ती निकालेर धितोपत्र बोर्डले कस्को पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न समेत इप्पानले माग गरेको छ ।
धितोपत्र बोर्डको यो कदमको बारेमा गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरुबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्न समेत इप्पानले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.