कृषि विकास बैंकले ६० लाख अमेरिकी डलर बराबरको सहायक ऋण पाउने

  २०७८ असार २ गते १९:५६     विकासन्युज

काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्झौता भएको छ । जसअन्तर्गत कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ ।

बैंकले वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न सहायक ऋणको रुपमा उक्त रकम पाउने भएको हो । उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदी र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

गत २०७७ चैत ६ गते नेपाल र अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक) बीच रणनैतिक जलवायु कोष अन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्चालनको लागि कूल एक करोड ७९ लाख अमेरिकी डलर ऋण दिने सम्झौता भएको थियो । जसको आधारमा वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न ६० लाख अमेरिकी डलर बराबर नेपाल मुद्रामा नेपाल सरकारले सहायक ऋणको रुपमा कृषि विकास बैंकलाई उपलब्ध गराएको हो ।

यस कार्यक्रमको पहिलो चरणमा कृषि विकास बैंकले वन तथा वातावरण मन्त्रालय अन्र्तगत रहेको रेड कार्यान्वयन केन्द्रसँग समन्वय गर्ने छ । त्यसपछि बैंकले प्रदेश नं.२ र लुम्बिनी प्रदेशको वन तथा वनजन्य उद्योग व्यवसायीलाई कर्जा उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.