राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई दियो ५० थान भेन्टीलेटर

  २०७८ जेठ ३१ गते १८:३५     विकासन्युज

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टीलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम यु एस ए ले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका-नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा नेपाल ल्याई सोमवार अमेरिका-नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

सहयोगस्वरुप प्रदान गरिएको भेन्टीलेटर स्वास्थ्य मन्त्रालयमार्फत् नेपालका विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ । सोमबार नै वीर अस्पताललाई १० वटा र सिभिल अस्पताललाई ५ वटा हस्तान्तरण गरिने बताइएको छ । भेन्टीलेटर बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिनेगरी आवश्यक पुर्वाधारको विकास गरिने बताए । उनले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने उल्लेख गर्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गरे ।

‘सबै सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउने, जेजे इक्युपमेन्ट चाहिने हो त्यो सबै थप्ने, कोही पनि बिरामी जतिसुकै क्रिटीकल बिरामी होस्, सरकारी अस्पतालमा आएपछि सामान छैन । बेड छैन । भेन्टीलेटर छैन । अथवा फलानो मेसिन बिग्रियो भनेर कोही फर्किनुपर्दैन । सबैलाई सरकारी अस्पतालमा आएपछि उपचार हुन्छ भन्ने कुराको ग्यारेन्टी हामी दिन सक्नेछौं। यस्ता स्वास्थ्य सामग्री जजसले दिनुहुन्छ, स्पोन्सरवालाको नाम/स्टिकर कहिल्यै नमेटिने गरी राख्ने’, उनले भने ।

स्वास्थ्य मन्त्रालयलाई दिइएको ५० थान भेन्टीलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.