निजी विद्यालयको बदमासीः महामारीको मुखमा विद्यार्थी बोलाएर लिए प्रिबोर्ड परीक्षा र शुल्क, दिएनन् रिजल्ट

  २०७८ जेठ ३१ गते १६:३३     विकासन्युज

सांकेतिक तस्बीर /

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को निर्णयको वेवास्ता गर्दै केही विद्यालयले भने वार्षिक परीक्षा लिएका थिए ।

यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै तहका परीक्षा सञ्चालन नगर्न निर्देशन दिएपनि काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालित निजी तथा आवाशीय विद्यालयले बैशाख ५ गतेबाट प्रिबोर्ड परीक्षा सञ्चालन गरेका थिए ।

सरकारको निर्देशन विपरित परीक्षा सञ्चालक गरेका विद्यालयहरुले दुई महिना बितिसक्दा परीक्षाफल प्रकाशित गरेका छैनन् । प्रिबोर्ड परीक्षाको नाममा विद्यार्थीबाट शुल्क लिएर जोखिमपूर्ण अवस्थामा लिइएको परीक्षाको नतिजा भने अहिलेसम्म निकालिएको छैन ।

यस वर्ष निजी तथा आवाशीय विद्यालयको संगठन (प्याब्सन) ले काठमाडौं उपत्यका भित्रका विद्यालयलाई होम सेन्टरमा प्रिबोर्ड परीक्षा सञ्चालन गर्ने दिएको निर्देशन अनुसार विद्यालयले होम सेन्टरमा परीक्षा सञ्चालन गरेका थिए ।

विद्यालयहरुले यसको लागि एसइईमा लिइने परीक्षा शुल्क जति नै शुल्क लिएका थिए । तर परीक्षा संचालन भएको करिब दुई महिना पुग्दा पनि विद्यालयहरुले परीक्षाको नतिजा प्रकाशन गरेका छैनन् ।

यसभन्दा अघिल्ला वर्षहरुमा विद्यालयको प्रिबोर्ड परीक्षा प्याब्सनले लिने गरेको थियो । प्याब्सन तथा एनप्याब्सनले यसअघि परीक्षाको सम्पूर्ण जिम्मा लिने गरेका थिए ।

तर, यस वर्ष कोरोना भाइरसको कारण देशभरका सबै ठाउँमा परीक्षा संचालन गर्न सम्भव नभएपछि र कति ठाउँमा केही विषयको परीक्षा हुन नसक्दा निजी तथा आवाशीय विद्यालयको संगठन प्याब्सन प्रश्नपत्र बनाउने बाहेका परीक्षा सम्बन्धि सबै काम विद्यालयलाई सुम्पिएको प्याब्सनका महासचिव कुमार घिमिरेले बताए ।

घिमिरेका अुनसार यसको लागि प्याब्सनले प्रतिविद्यार्थी ४० रुपैयाँ लिएको थियो । त्यसबाहेको सम्पूर्ण जिम्मा जिल्लालाई र सक्ने अवस्थामा विद्यालयलाई दिईएको हो ।

विद्यालयलाई आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्नु भनेर आफूहरुले मार्कसिटको ढाँचासमेत पठाएको उनले बताए ।

कलंकीस्थित नेपालय स्कुलका संयोजक घनश्याम भट्टराईले परीक्षाको लागि आफूहरुले प्रतिविद्यार्थी ५ सय रुपैयाँ लिएको बताए । स्कुलले नतिजा सार्वजनिक गरिसकेको उनको भनाई छ ।

तर उक्त विद्यालयमा पढ्ने केही विद्यार्थीहरुले नतिजा नपाएको बताएका छन् । विद्यालयले आन्तिरक रुपमा नतिजा सार्वजनिक गरेको जनाएको छ ।

प्रिबोर्ड परीक्षाका लागि उपत्यकाका अधिकांश विद्यालयले प्रतिविद्यार्थी ६ सय रुपैयाँदेखि एक हजारसम्म शुल्क लिने गरेका छन् । तर, यसपाली भने निजी तथा आवाशीय विद्यालयहरुले विद्यार्थीसँग शुल्क लिएर पनि नतिजा प्रकाशित नगरी पैसा खाने उपाय मात्रै निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.