नेपालको रोजगारदाताले आइएलओबाट थप सहयोग पाउने

  २०७८ जेठ २८ गते १८:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले नेपालको रोजगारदाता संस्थाले आइएलओबाट थप सहयोग पाउने अपेक्षा गरेका बताएका छन् । उनले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९औं बैठकलाई नेपालको रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै रोजगारदाताले तय गरेका कार्यक्रमहरु सञ्चालन गर्न गप सहयोग पाउने अपेक्षा गरिएको बताएका हुन् ।

सभापति संघईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सवै तहमा सामाजिक संवादको संयन्त्रणको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उल्लेख गर्दै आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने, साना तथा मझौला व्यवसायको प्रवद्र्धनमा प्राथमिकता दिई काम गरिरहेको जानकारी गराए ।

कोरोना महामारीको कारण पहिलो पटक भर्चुअल माध्यमबाट आयोजना भईरहेको उक्त सम्मेलनलाई संवोधन गर्ने क्रममा रोजगारदाता परिषदका सभापति संघईले कोभिड-१९ महामारीको पीडा सम्पूर्ण विश्वलेनै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताए । यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपुर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुक बीचको आपसी सहयोग र सहकार्यका लागि उनले अनुरोध गरेका छन् ।

सम्बोधनको क्रममा सभापति संघईले गतवर्ष नेपालमा कोरोना संक्रमण फैलिन शुरू भए लगत्तै सरकारले देशव्यापी बन्दाबन्दी जारी गरेको र यो बन्दाबन्दी लगातार तीन महिनाभन्दा बढी कायम रहदा सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प हुन गई ठूलो नोक्सानी व्यहोर्नु परेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुको साथै पहिलो पटक दुई दशक यता मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको, कुल ग्राहस्थ उत्पादन घटन गएको, लाखौको रोजगारी गुमेको र गरिवीको प्रतिशत बढन गएको उल्लेख गरे ।

महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महशुस गरी सरकारसंग सहकार्य गर्दै कोरोना प्रभावित जनतालाई विभिन्न माध्यमबाट सहयोग गरिरहेको सभापति संघईले बताए ।

मुलुकमा असल श्रम सम्बन्धको प्रवद्र्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न हामी रोजगारदाताले ट्रेड यूनियनसंगको संवादलाई महत्व दिएको र लकडाउन अवधिको ज्याला भुक्तानी लगायतका विषयमा सहमति समेत गरेको कुरा उल्लेख गर्दै उनले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयाँ शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गरे । साथै, उनले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता रहेको कुरामा पनि जोड दिए ।

१७६ भन्दा वढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ बैठक जून ३ देखि १८ सम्म सञ्चालन हुने र श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउन पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुर्नउत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्र्तराष्ट्रिय श्रम संगठन शताव्दी घोषणाको कार्यान्वयन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.