गाउँपालिका अध्यक्ष भन्छन् – पालिकामा कोहिपनि संक्रमित छैन

  २०७८ जेठ २७ गते १८:२७     विकासन्युज

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै आज ठुलो सङ्कटमा छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै शहर मात्र नभई ग्रामीण क्षेत्रमा पनि यसले ठुलो असर पुर्याएको छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ ।

प्रदेश १ अन्तर्गतको खोटाङ जिल्लामा अवस्थित जन्तेढुङ्गा गाउँपालिका दोस्रो कोरोना महामारीको सङ्कटसँग जुधिरहेको छ । तर, यो गाउँपालिकामा अन्य पालिकाजस्तो कोरोनाको प्रभाव चाहिँ परेको छैन ।

गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष शंकर बहादुर राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी ः

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ?

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण र रोकथाम गर्नको लागि हामीले सक्दो प्रयास गरिरहेका छौँ । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १० दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । होम क्वारेन्टिनमा बसेको नागरिकहरूकलाई कोभिडको लक्षण देखियो भने एन्टिजेन परीक्षण गर्ने गरेका छौं । एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ जसमा उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ भने सुरक्षित होम आइसोलेसनमा बस्नको लागि आग्रह छौं ।

होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले फोन मार्फत वा घरघरमा गई उनीहरूको स्वास्थ्य अवस्था बारे बुझ्नुको साथै होम आइसोलेसनमा बसेका कोभिडका बिरामीलाई सामान्य औषधी वितरण गर्नु भएको छ । कोभिडको संक्रमण पालिकमा फैलिँदै गए पछि हामीले बजारहरू बन्द गर्यौं । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्पतालको क्षमता बढाउने र संक्रमणका दर घटाउने कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आजको आवश्यकता छ ।

महामारी नियन्त्रण गर्नमा आवश्यक तयारी गरेको र पातलो बस्ती रहेको कारण यस महामारीलाई नियन्त्रण गर्नमा सफल भएका छौं । हाम्रो पालिकामा १० बेडको आइसोलेसन कक्ष छ । परीक्षण गर्दा पनि हाल पालिकामा कुनै नागरिकलाई कोरोना पोजेटिभ आएको छैन भने हाम्रो पालिकामा कोरोना नियन्त्रण पुन रूपमा भइसकेको छ ।

पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?

पीसीआर परीक्षण पालिकामा हुँदैन भने परीक्षणको लागि विराटनगर पठाउँदै आएका छौं । एन्टिजेन परीक्षण चाहिँ पालिका आफैले गर्दै आएका छ । कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई एन्टिजेन परीक्षण गर्दै आएका छौं । पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं भने स्वास्थ्यकर्मीको टोलिले टोलटोलमै पुगेर परीक्षण पनि गर्दै आउनु भएको छ । एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । हामीले प्रत्येक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । पीसीआरको रिपोर्ट ढिला आउने र धेरै समय लाग्ने भएकाले एन्टिजेन परीक्षण नै पालिका भित्र बढी मात्रामा गरिएको हो ।

संक्रमण थप नफैलिओस् भन्नका लागि के उपाय अपनाउनु भएको छ ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । संक्रमित छ भने होम आइसोलेसनमा बस्नेलाई स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्श दिन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं ।

पालिकामा हाल कोरोना नियन्त्रण भइसकेको अवस्था छ तर, संक्रमण अझै बढ्न सक्छ भनेर गाउँपालिकाले भावी योजना कस्तो बुन्दैछ ?

यसको भावी योजना त पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागि पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरी भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । संक्रमणको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडको केसहरू देखिएका छन् त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना नियन्त्रण अवश्य हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ ।

निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ?

यसबारे यकिनसँग भन्न त सकिँदैन । हामीले हप्ताको २ दिन बजार खोल्न दिएका छौं । निषेधाज्ञालाई केही हदसम्म १ गतेबाट खुकुलो बनाउने तयारी गर्दै छौं । कोरोनाको संक्रमण पालिकमा नियन्त्रण भइसकेको छ । स्थानीय बासीहरूबाट नै पालिकाको विकास निर्माणको कामहरू सञ्चालन गराउँदै छौं । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास पनि छ । यसलाई बिस्तारै खुकुलो बनाउने तयारी भइरहेको छ तर हामीले जिल्ला प्राशनको आदेश मान्नु पर्ने पनि हुन्छ । हुन त निषेधाज्ञा जारी गरेर वा पुरै लकडाउन गरेर समस्याको समाधान हुने त होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो ।

कोरोना पालिकामा नियन्त्रण भएको छ, यदि फेरी संक्रमण पालिकामा बढ्यो भने अब कति संक्रमित धान्न सक्छ गाउँपालिकाले ?

यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सीमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोभिडका २० जना बिरामीलाई मात्र पालिकाको अस्पतालले धान्न सक्छ साथै २० ओटा अक्सिजन सिलिन्डर पनि पालिकामा रहेको छ ।

प्रदेश र केन्द्र सरकारबाट कत्तिको सहयोग पाइएको छ ?

गत वर्ष पनि हामीले कोभिड नियन्त्रणको लागि प्रदेश र केन्द्र सरकारले १० लाख रुपैयाँ बजेट दिएको थियो । त्यही रकम बाट महामारी नियन्त्रण गर्नका लागि खर्च गरेका छौं । जिल्लाबाट पनि पालिकालाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ भने पालिका आफैंले पनि स्वास्थ्य सामाग्रीहरू खरिद गरेको छ । स्वास्थ्य सामाग्री सहयोग भइरहेको छ तर यो वर्ष नगद सहयोग भने मिलको छैन ।

यो महामारी नियन्त्रण गर्नको लागि पालिकामा बजेटको अभाव भएको छ कि छैन ?

यो महामारी नियन्त्रण गर्नको लागि पालिकालाई बजेटको अभाव भएको छैन । पालिकाको कोषमा २० लाख रुपैयाँ बजेट छुट्याएका छौं । आवश्यक पर्यो भने याहि कोषको बजेट हामीले खर्च गर्ने गरेका छौं ।

कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ?

जन्तेढुङ्गा गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरी दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागि परेका छौं । नआत्तिनुहोस धैर्य राख्नु होस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.