चौधरी फाउण्डेसनले तीन हप्तामै वीर अस्पताललाई हस्तारन्तरण गर्यो १८ शय्याको आईसियू वार्ड

  २०७८ जेठ २७ गते १८:१६     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि आज(जेठ २७) अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड-१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड निर्माण गरेको हो ।

चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमवीच कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा.डा.जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरे । वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौं शय्या र दोस्रो तलामा नौं शय्याको गरि कुल १८ शय्याको आईसियू वार्ड निर्माण भएको छ । विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधी प्रयोग गरेर आईसियू वार्ड निर्माण गरिएको छ । अस्पतालले यि तलामा हाल कोभिड संक्रमित विरामीहरूको उपचार शुरू गरेको छ ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताएका छन् । ‘कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपुर्ण दायित्व हो । यसका लागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध गर्याैं। र, आईसियू वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्नुको उदेश्य पनि यहि नै हो’, अध्यक्ष चौधरीले भने, ‘कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई हामीले विर्सिनु हुदैन । त्यसका लागि वीर अस्पताल जस्ता सार्वजनिक अस्पतालहरूको सेवा र पहुँच विस्तार गरिनु आवश्यक हुन्छ ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्रा. डा. देव नारायण शाहले कोभिड महामारीको संवेदनशिल समयमा वीर अस्पतालमा १८ शय्याको आईसियू वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउण्डेसनले समाजसेवामा उत्कृष्ट भुमिका निर्वाह गरेको बताए । कोरोनाका कारण क्रिटिकल अवस्थामा पुगेका सर्वसाधारण नेपालीको जीवन रक्षामा यो आईसियू वार्ड वरदान सावित हुने विश्वास पनि उनले व्यक्त गरे । ‘पैसा हातमा भएर मात्रै पनि यति छिटो समयमा आईसियू निर्माण गर्न सम्भव थिएन । तर, चौधरी फाउण्डेसनको सक्षम व्यवस्थापनका कारण मात्रै यो सम्भव भएको हो’, प्रा. डा.शाहले भने ।

कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा.डा. जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पुर्याएको योगदानका लागि धन्यवाद दिदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए ।

चौधरी फाउण्डेसनले गत बर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पिसिआर रिएजेन्ट देखि पिपिई र स्वास्थ्य सामाग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको थियो ।

कार्यक्रममा वीर अस्पताल र चौधरी फाउण्डेसनका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । चौधरी फाउण्डेसनले आईसियू वार्ड स्थापना गर्न केन्द्रिय कोभिड अस्पतालसँग सहमति पत्रमा हस्ताक्षर गरेको करिव तीन सातामा आईसियू वार्ड निर्माण गरि हस्तान्तरण गरिएको हो ।

यस अस्पतालमा अक्सिजन प्लान्टको पनि निर्माण भईरहेको छ । चौधरी फाउण्डेसनको समन्वय र नबिल बैंकको वित्तिय सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । आगामी केही दिनभित्रै उक्त अक्सिजन प्लान्ट पनि हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.