३५ वटा ब्रोकर थप्ने बोर्डको तयारी, कसले पाउँछन् लाइसेन्स ?

  २०७८ जेठ २७ गते ११:४१     मञ्जरी पौडेल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३५ वटा ब्रोकरलाई लाइसेन्स दिने तयारी गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले हरेक प्रदेशमा ५/५ वटा गरी कूल ३५ वटा ब्रोकरलाई लाइसेन्स दिने तयारी साथ बोर्ड अघि बढेको बताएका हुन् ।

बोर्डले नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने उद्देश्य सहित उक्त कार्यलाई अघि बढाएको हो । त्यस्तै, हालको परिवेशमा ब्रोकरलाई लाइसेन्स दिने विषयलाई जोड दिन जरुरी रहेकोले यसलाई बोर्डले प्राथमिकतामा राखेको हो ।

तर, उक्त ब्रोकर लाइसेन्स मर्चेन्टले पाउने हो या बैंकले पाउने हो या छुट्टैले पाउने हो भन्नेमा कुनै निर्णय भई नसकेको बोर्डले जनाएको छ । यीमध्ये जुन मोडालिटीमा जाँदा फाइदा अर्थात् पारदर्शी हुन्छ त्यही अनुसार जाने अध्यक्ष ढुंगानाको भनाई छ ।

‘मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने या नदिने भन्नेमा हेर्नुपर्छ । बैंकहरुलाई पनि दिने हो कि भन्ने विषयमा छलफल भइरहेको छ । तर फाइनल भइसकेको छैन । मर्चेन्ट बैंकरलाई दिएर फाइदा हुन्छ कि बैंकहरुलाई दिँदा फाइदा हुन्छ या छुट्टाछुट्टै खोल्दा फाइदा हुन्छ, हेरौं । पहिले त विज्ञापन निकाल्नु पर्यो । त्यसपछि कुन मोडालिटीमा जाँदा ठिक हुन्छ, त्यसमा अध्ययन गर्छौं र सोही अनुसार जानेछौं,’ अध्यक्ष ढुङ्गानाले विकासन्युजसँग भने ।

साथै, बोर्डले ब्रोकर संख्यामा मात्र नभई उनीहरुले दिने सेवा सुविधामा पनि जोड दिने भएको छ ।

‘हामीले ब्रोकरको संख्यालाई मात्र हेरेका छैनौं । उनीहरुको सेवा, गुणस्तर, डाटा सेक्युरिटी, सफ्टवेयर क्षमता लगायतका विभिन्न पक्ष हेरेर मात्रै लाइसेन्स दिने छौं । जसले गर्दा अहिलेको जस्तो समयस्या आउँदैन भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।

पछिल्लो समय बजारमा दैनिक १७ अर्बको हाराहारीमा कारोबार हुन थालिसकेको छ । बजारमा कारोबारमा उच्च वृद्धि भएसँगै उक्त कारोबारलाई धान्ने खालको ब्रोकरको सफ्टवेयर क्षमता पनि बढाउन आवश्यक रहेको बोर्डको बुझाई छ ।

‘हाल सञ्चालनमा रहेका ब्रोकरको चुक्तापुँजी २ करोड मात्रै रहेको छ । जसलाई वृद्धि गरी ४ करोड रुपैयाँ पुर्याउनु पर्छ । त्यस्तै, हाल सञ्चालनमा रहेका सफ्टवेयरको क्षमताले पछिल्लो समयको कारोबारलाई नधान्ने भइसकेको छ । त्यसलाई पनि बढाउनु पर्छ । लाखौं लगानीकर्ताको डाटा सेक्यिुरिटीको ध्यानमा राखेर सिष्टम राम्रो भएको सफ्टवेयर ल्याउनु पर्ने हुन्छ’, उनले भने ।

हाल सेयर बजारमा कूल ५० वटा ब्रोकर कार्यरत रहेका छन् । थप ३५ वटाले लाइसेन्स पाइ सञ्चालनमा आएसँगै बजारमा धितोपत्र दलाल व्यवसायीको संख्या ८५ पुग्ने छ । यससँगै देशभरका लगानीकर्ताले सहज रूपमा कारोबार गर्न पाउने छन् र पुँजी बजारको पहुँच थप विस्तारित हुनेछ ।

साथै, बोर्डले दोश्रो बजारको कारोबार सञ्चालकको रुपमा नयाँ स्टक एक्स्चेञ्जको सञ्चालनमा ल्याउने सुरसार गरेको छ । यसको लागि अध्ययन ड्राफ्ट मात्र तयार भएको र बोर्डमा छलफल हुनै बाँकी रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

‘नयाँ स्टक एक्स्चेञ्ज ल्याउनु पर्ने आवश्यकता देखिएको छ । त्यसको लागि अध्ययन गरेर बोर्डमा छलफल हुनै बाँकी छ । बोर्डसँग छलफल भएपछि मात्रै निर्णय हुन्छ । र, अर्थमन्त्रालयमा प्रतिवेदन पठाउने छौं । प्रतिकृया कस्तो आउँछ त्यसपछि मात्र अघि बढ्ने छौं’, उनले जानकारी गराए ।

बजारलाई थप प्रतिस्पर्धी बनाउन पनि नयाँ स्टक एक्स्चेञ्ज आवश्यक रहेको उनको भनाई छ ।

पछिल्लो एक वर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या करिब ६ प्रतिशतले वृद्धि हाल ३५ लाख नाघेको छ । मेरो सेयर खाताको संख्या एक वर्ष नपुग्दै तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ ।

धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले ५ लाख लगानीकर्ताले भाग लिने गरेकोमा हाल करिब १८ लाखले आवेदन दिन सक्ने अवस्थाको सिर्जना भएको छ । २०७७ असारमा धितोपत्र दोश्रो बजार अनलाइन कारोबारको लागि करिब ३५ हजारले मात्रै युजर आईडी लिने गरेकोमा हाल उक्त संख्यामा १७ गुणा बढीले वृद्धिभई हाल ६ लाख ६० हजारभन्दा बढीले अनलाइन कारोबार सुविधा लिएका छन् ।

औषतमा ६ लाख लगानीकर्ताहरु कारोबार सक्रिय रहेका छन् र लगानीकर्ताहरु क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् । चालु आर्थिक वर्षको १० महिनामै धितोपत्रको प्राथमिक बजार मार्फत करिब ७८ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन हालसम्मकै उच्च हो ।

5 comments on "३५ वटा ब्रोकर थप्ने बोर्डको तयारी, कसले पाउँछन् लाइसेन्स ?"

  • Suman Gaudel says:

    बैंकलाई ब्रोकर लाईसेन्स दिए हुने । अहिलेका ब्रोकर भन्दा त अलि गतिलो सेवा दिन्थे होला नि ।

  • दलाल पिडित लगानीकर्ता says:

    यो पटक पनि येदि बैंकलाई ब्रोकर लाईसेन्स दिईएन भने SEBON (धितो पत्र बोर्ड) र तिनका नाइकेले मोटो रकम दलाल बाट खाएको प्रमाणित हुनेछ / धितोपत्र बोर्डको इतिहास मै सबै भन्दा कलंकित अहिले को नेत्रित्व /

  • चिन्तक says:

    ३५ मात्रै किन , घटीमा पनि २०० लाईसेन्स दिंदा देश को कुन कुन सम्म बजार विस्तार भै लगानीकर्ताले उचित सेवा सुबिधा पाउने थिए

  • Manju nepal says:

    अब ब्राेकर लाइसेन्स बैंकलाई दिनुपर्छ ।

  • ishwari gyawali says:

    यो अबस्था हेर्दा त बैंक नै ठिक होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.