गाउँपालिकाले कोरोना नियन्त्रणका लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको छ – उपाध्यक्ष आचार्य

  २०७८ जेठ २६ गते १९:४५     विकासन्युज

कोरोना महामारीका कारण नेपाल आज ठुलो सङ्कटमा छ । नयाँ भेरियन्टसहित तीव्र गति फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा कुम्मायक गाउँपालिका जुटिरहेको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ ।

देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । कुम्मायक गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाले बिशेष पहल गरिरहेको छ ।

गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका उपाध्यक्ष सीता आचार्यसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी :

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ?

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागि विभिन्न काम गरिरहेका छौं । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । सी.सी.एम.सी ले पालिकालाई निर्देशन दिए पछि निषेधाज्ञालाई थप कढाई पनि गरेका छौं । हाल निषेधाज्ञालाई निरन्तरता दिइरहेका छौं । ज्वरो आएका शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण भइरहेको छ । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि पनि जोड दिइरहेका छौं ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । पालिकाका ४ सय ८ जनालाई परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको छ जस मध्ये १६ जना चाहिँ निको भइसकेका छन् । केही संक्रमित भएका बिरामीहरू होम आइसोलेसनमा पनि बसेका छन् । होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेको साथै होम आइसोलेसनमा बसेका कोभिडका बिरामीलाई सामान्य औषधी स्वास्थ्यकर्मीहरुले वितरण गर्नु भएको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्पतालको क्षमता बढाउने र संक्रमणका दर घटाउने कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आजको आवश्यकता छ ।

पालिकाले निर्णय गरे अनुसार बिहान ५ बजे देखि ९ बजेसम्मको लागि खाद्य पसल खोल्न दिएका छौं । एक ठाउँबाट अर्के ठाउँ जानको लागि हामीले कढाई गरेका छौं । पालिकाको स्वास्थ्य केन्द्रमा ५ बेडका आइसोलेसन कक्ष स्थापना गरेका छौं भने २ ओटा विद्यालयलाई आइसोलेसन कक्षको रूपमा प्रयोग गरेका छौं । पालिकामा ५ ओटा अक्सिजन सिलिन्डर पनि छ । अमेरिका बसोबास गर्ने नेपाली नगरिकहरुले १ सय ओटा अक्सिजन सिलिन्डर दान गर्नु भएको मध्ये २ ओटा अक्सिजन सिलिन्डर चाहिँ पालिकालाई पनि प्राप्त भएको छ । विभिन्न संघसंस्थाहरुले यो सङ्कटको घडीमा स्वास्थ्य सामाग्रीको सहयोग गरेका छन् भने पालिका आफैले पनि केही स्वास्थ्य सामाग्रीको खरिद गरेको छ । पालिकाको आफ्नै एम्बुलेन्स छैन तर अन्य गाडी भाडामा प्रयोग गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका छौं ।

कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ?

चुनौती र समस्या त धेरै नै छन् । पालिकमा संक्रमण दिन प्रतिदिन फैलिरहेको छ भने संक्रमण देखिएता पनि जटिल अवस्था चाहिँ आएको छैन तर स्वास्थ्य मापदण्ड अपनाउनको लागि भने सबै नागरिकलाई अपिल गरेका छौं । आ–आफ्नो खेत बारीमा काम गर्नका लागि अन्य मानिसलाई नबोलाउन पनि अपिल गरेका छौं । जनचेतनाको कामहरू भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले गर्दै आउनु भएको छ । कोरोनाको महामारी पालिकामा भ्यबह हँुदै गयो भने धेरै समस्या पनि निम्तिन सक्छ र जनजीवन कठिन हुँदै जान्छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरू ल्याएको छ कि ?

हामीले पालिकामा राहत प्याकेजहरू ल्याएका छौं । गरिब र आर्थिक स्थिति कमजोर भएका परिवारलाई पालिकाबाट राहत वितरण गरिएको हो । कोरोना संक्रमित भएका विपन्न वर्गको लागि चामल, नुन, तेल आदि वितरण गरेका छौं भने अन्यलाई गरेका छैनौं । हामीले हालसम्म विपन्न वर्गका २ परिवारलाई राहत वितरण गरेका छौं तर यसरी नै कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने अझ आवश्यक र अनिवाय हुनेछ ।

निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ?

यसबारे यकिनसँग भन्न त सकिँदैन तर यो भाइरस पालिकामा बढ्दै गाएकाले एक हप्ताका लागि भने निषेधाज्ञा थप गरेका छौं । निषेधाज्ञालाई केही हदसम्म खुकुलो बनाएका छौं । पाँचथर जिल्लामा नै ३१ गतेसम्मको लागि निषेधाज्ञा लागु भएको छ र कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । निषेधाज्ञालाई खुकुलो बनाई योजनाहरूलाई सञ्चालन गर्ने भन्ने कुरा चाहिँ आएको छ । जसबारे स्थानीय तहका जनप्रतिनिधिहरू सबै बसेर छलफल गर्नुपर्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । यसलाई बिस्तारै खुकुलो बनाउने तयारी भइरहेको छ ।

निषेधाज्ञा जारी रहेको अवस्था छ तर पनि नागरिकहरूमा त्रास भने उत्तिकै छन् । हुन त निषेधाज्ञा जारी गरेर वा पुरै लकडाउन गरेर समस्याको समाधान हुने त होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ जसमा नागरिक जिम्मेवार हुनै पर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ, नत्र घरैमा सुरक्षित बसौँ । निषेधाज्ञा गर्दा कोरोना केही हदसम्म फैलिन नपाउने रहेछ भन्ने कुराको महसुस चाहिँ भएको छ ।

संक्रमण अझै बढ्न सक्छ, यो नियन्त्रणमा गाउँपालिकाले भावी योजना कस्तो बन्दैछ ?

यसको भावी योजना त पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागि पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरि भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । कोरोनाको संक्रमण भएका २ जना व्यक्तिलाई उपचारको लागि वाहिरी जिल्ला पठाएका थियौं भने उहाँहरू पनि निको भएर घर आइसक्नु भएको छ । पीसीआर र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडको केसहरू देखिएका छन् त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना नियन्त्रण अवश्य हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ ।

गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ?

हाम्रो पालिकामा ५ वटा वडा छ । यो महामारी पालिकामा कसरी फैलियो भनेर हामीले प्रष्ट रूपमा बुझन सकेका छैनौं । परीक्षण गरेको हिसाबले हेर्ने हो भने ३ नं. वडामा कोरोनाको संक्रमितको सङ्ख्या बढ्दो भएकाले ३ नं वडा नै उच्च जोखिममा छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ ।

कति संक्रमित धान्न सक्छ गाउँपालिकाले अब ?

यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । हामीले पालिकामा कोरोना नियन्त्रलाई नै मुख्य प्राथमिकता दिएर काम गरी रहेका छौं । यो महामारी नियन्त्रणमा पालिकाले एकलै पनि गर्न सक्दैन । भोलिका दिनको अवस्था बारे यकिन गर्न सकिँदैन । त्यसैले यति संक्रमित पालिकामा राख्न सकिन्छ भनेर अनुमान पनि गर्न सकिँदैन ।

कोरोना नियन्त्रणका लागि बजेटको प्रवन्ध कस्तो छ ?

गत वर्ष पनि हामीले कोभिड नियन्त्रणको लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको मध्ये २० लाख रुपैयाँ रकम बचत भएको थियो । यो वर्षको कोरोना महामारी नियन्त्रण गर्नका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएका छौं । पहिलाको बचत २० लाख र अहिलेको ६० लाख रुपैयाँ गरी जम्मा ८० लाख रुपैयाँ बजेट महामारी नियन्त्रण गर्नका लागि छुट्याएका छौं ।

कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ?

कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमा ठुलो असर पुर्याएको छ । विकास निर्माणका योजनाहरू ठप्प भएका छन् । कार्यालयहरू बन्द भएपछि कामदारहरू मारमा परेका छन् । टेन्डर तथा सानातिना तालिमका कामहरू रोकिएका छन् तथापि आफू सुरक्षित भएर हामीले जनतालाई दिने सेवा दिइरहेका छौं । यो महामारीले ठुलो असर पुर्याएको छ ।

प्रदेश र सङ्घीय सरकारबाट कत्तिको सहयोग पाइएको छ ?

प्रदेश बाट चाहिँ सहयोग मिलेको छैन । तर, सङ्घबाट चाहिँ पालिकालाई विभिन्न स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । स्वास्थ्य सामाग्री सहयोग भइरहेको छ तर नगद सहयोग भने मिलको छैन ।

कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न गर्नुहुन्छ त ?

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु । विकास निर्माणको काम त अर्काे वर्ष पनि गर्न सकिन्छ तर कोरोनाबाट सबै बचौं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.