टोल टोलमा गएर वृद्धभत्ता बाँड्न बैंकलाई आग्रह गरेका छौं – गाउँपालिका अध्यक्ष साउद

  २०७८ जेठ २५ गते १९:०३     विकासन्युज

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै आज ठुलो सङ्कटमा छ । कोरोनाको दोस्रो लहर सुरुमा भएसँगै सहर मात्र नभई ग्रामीण क्षेत्रमा पनि यसले ठुलो असर पुर्याएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट अछाम जिल्लाको चौरपाटी गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ ।

देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । चौरपाटी गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाले बिशेष पहल गरी रहेको छ ।

गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी :

गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ?

तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । तर, हामीले चाहेर पनि कोरोना नियन्त्रण गर्न सक्छौं जस्तो मलाई लागेको छैन । गाउँपालिकामा पहिला कुनै व्यक्तिलाई कोभिड भोटियो भन्दा गाउँमा नै त्रास हुन्थ्यो । अब अहिले कोरोनाबाट कुनै पनि टोल तथा गाउँ अछुतो छैन । कोरोनाको जोखिम कम गर्न गत वर्षजस्तै क्वारेन्टिन र आइसोलेसनको निर्माण, परीक्षणको व्यवस्था, औषधि आपूर्ति लगायत कार्य गर्दै आएका छौं ।

हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं । अस्पतालमा आइसकेको र कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएका बिरामीलाई अस्पतालमा नै राख्ने व्यवस्था मिलाएका छौं । पालिकामा रहेको प्राथमिक अस्पतालमा २५ बेडको आइसोलेसन छ । हामीले यस अस्पतालमा ५ जना स्वास्थ्यकर्मी राति र ५ जनाले दिउँसो डिउटी गर्ने समय निर्धारण गरेका छौं । प्राथमिक अस्पतालमा कोरोनाको चाप बढ्दै गयो भने वैकल्पिक व्यवस्थापन गर्नको लागि वडाका स्वास्थ्यकर्मीहरुलाई खटाउने व्यवस्था मिलाएका छौं । कोभिडसँग सम्बन्धित लक्षण देखिएता पनि धेरै नागरिकहरूले परीक्षण गर्न मानेका छैनन् ।

कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनी एम्बुलेन्स पनि व्यवस्था गरेका छौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी परीक्षण पनि गर्दै आएका छौं । बजारहरूलाई निर्धारित समयमा मात्र खोल्न दिएर कडाई गरेका छौं । धेरै नागरिकहरूले कोरोना जिती सकेका छन् । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागि परेका छौं ।

पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?

पीसीआर परीक्षण पालिकामा हुँदैन । परीक्षणको लागि कमल बजार र अन्य जिल्लामा पठाउँदै आएका छौं । स्वाब संकल पालिकामा हुन्छ । पीसीआर परीक्षण गर्दा तत्काल रिपोर्ट नआउने हुँदो तुरुन्तै संक्रमण भएको नभएको भनेर थाहा पाउन सकिरहेका छैनौँ । पीसीआरको रिपोर्ट आउनै २ देखि ३ दिन लाग्छ । ज्वरो आएका शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण भइरहेको छ । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि पनि जोड दिइरहेका छौं । पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ, यसमा कोभिडका बिरामीहरूलाई राख्ने व्यवस्था मिलाएका छौं । कोरोनासँग अन्तर्सम्बन्धित लक्षण देखिएका नागरिकहरूको घर घरमा गई एन्टिजेन परीक्षण गर्दै पनि आएका छौं । एन्टिजेन परीक्षण गरेको तर कुनै पनि लक्षण नदेखिएको बिरामी छ भने उसलाई घरैमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं ।

पालिकामा निषेधाज्ञाको विकल्प सोच्नुभएको छ कि छैन ?

एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा निषेधाज्ञा जारी गरेका छौं । यो महामारीको समयमा सामाजिक सुरक्षा भत्ता बुढापाकाले नपाएको कारणले बैंकले भत्ता बाँड्ने तयारी गर्दैछ । प्रत्येक वडाको टोलटोलमा गएर भिड नगरिकन भत्ता बाँड्नको लागि बैंकलाई आग्रह गरेका छौं । तर, बैंकले नमानिरहेको अवस्था छ । बैंकमा भत्ता लिन आउने बुढापाकाको घुइँचो छ । बैंकमा धेरै भिड भएको कारण संक्रमण फैलनसक्ने जोखिम उच्च छ । बुढापाका भएका बा–आमालाई कोरोना लाग्यो भने यसको जिम्मा कस्ले लिन्छ भनेर मैले बैंकको हाकिमलाई सुझाव पनि दिएको थिएँ ।

घरघरमा भत्ता पुर्याउनको लागि बैंकलाई सहयोग गर्नुपर्ने हो भने आवश्यक सहयोग पालिकाले गर्छ भनेका थियौं । तर, बैंकको सिस्टमले मिल्दैन भनेको छ । बैंकलाई सुरुमा हप्ताको २ दिन खोल्न दिएका थियौं तर हप्ताको २ दिन खोल्दा पनि भिड बढ्यो । पालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या करिब ८ हजार छ ।

निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ?

यसबारे यकिनसँग भन्न सकिँदैन । जिल्ला प्रशासन कार्यालयको नीति नियम हामीले मान्नु पर्ने हुन्छ । कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । यसबारे जिल्ला भरका स्थानीय तहका जनप्रतिनिधिहरू सबै बसेर छलफल गर्नुपर्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ ।

निषेधाज्ञा जारी रहेको अवस्था छ । नागरिकहरू डराइरहेका छन् । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । यसमा नागरिक जिम्मेवार हुनैपर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ । नत्र घरैमा सुरक्षित बसौँ ।

कति संक्रमित धान्न सक्छ गाउँपालिकाले अब ?

यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सीमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोभिडका २५ जना बिरामीलाई मात्र पालिकाको अस्पतालमा धान्न सक्छ ।

अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन, अक्सिजनको अभाव हुन नदिन के गर्दै हुनुहुन्छ ?

हामीले पालिकामा रहेको स्वास्थ्य शाखाको क्षेत्रमा बजेट विनियोजन गरी २५ ओटा अक्सिजन सिलिन्डर खरिद गरेका छौं । जिल्ला जनस्वास्थ्य अस्पतालमा पनि थुप्रै निकायहरूले सहयोग गरेको छन् । त्यहाँबाट पनि हामीले स्वास्थ्य सामाग्री ल्याउने व्यवस्था गरेका छौं । विभिन्न संघसंस्थाहरुलाई पनि यो सङ्कटको घडीमा सहयोग गर्नुपर्यो भनेर अपिल पनि गरेको छौं । अहिलेसम्म विभिन्न संघसंस्थाले स्वास्थ्य सामाग्री सहयोग पनि गरेका छन् । हाल पालिकामा स्वास्थ्य सामाग्री र अक्सिजनको अभाव छैन । पालिकामा भएका अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि सहजीकरण पनि गर्दै आएका छौं ।

कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ?

समस्या त धेरै नै छन् । चेतनाको कमि छ । मानिसहरूलाई जे नगरौं भन्यो त्यही गर्छन् । यो महामारीबाट कसरी बच्न सकिन्छ भनेर मानिसमा अझै चेतनाको विकास भएको छैन । कति पय ठाउँमा सडक पुगेको छैन बिरामीको घर सडको पहुँच भन्दा धेरै टाढा छ । स्वास्थ्यकर्मीको टिम घर घरमा पुग्न सम्भव छैन । केही चुनौती छन् भने केही सहज पनि छ । पालिकामा आएका चुनौती र समस्याको समाधान गर्नको लागि जनप्रतिनिधि, कर्मचारी आदि सबै खटी रहनु भएको छ । चुनौतीको समाधान गरी अगाडी बढ्नुपर्ने अवस्था छ ।

जोखिम न्यूनीकरण गर्नको लागी पालिकामा बजेट अभाव छ कि छैन ?

यो महामारी न्यूनीकरण गर्नको लागि हामीलाई बजेटको अभाव छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुनुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । यो रकमबाट नै हामीले स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । विकास निर्माणको काम र योजनाहरूलाई रोकेरै भए पनि कोरोना महामारी नियन्त्रण गर्नमा खर्च गरेका छौं ।

संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ, यो नियन्त्रणमा भावी योजना कस्तो बन्दैछ ?

विकास निर्माणको भावी योजना तयार गरे जस्तो यो महामारीको भावी योजना बनाएर सक्ने अवस्था छैन । यसको ठुलो व्यवस्थापन भनेको नै स्वास्थ्य मापदण्ड अपनाउनु हो । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ?

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । पालिकमा २ ओटा प्रहरी चौकीे छ । यी २ ओटा प्रहरी चौकीले गाउँपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न ठुलो सहयोग गर्नु भएको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकिलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन ।

बिरामीको सुरक्षा नै स्वाथ्यकर्मीले गर्ने हो । स्वास्थ्यकर्मी भनेको भगवानको दोस्रो रुप पनि हो । त्यसैले स्वास्थ्यकर्मीले जानेको, सकेको र आफुले भ्याएसम्मको काम गर्नुपर्छ भनेर स्वास्थ्यको टिमलाई भनेका छौं । स्वास्थ्यकर्मीलाई परिचालन गर्ने कुरामा मात्र नभई उनीहरूले गरेको कामलाई सम्मान गर्दै जोखिम भत्ता पनि दिने कुरा भएको छ ।

भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, त्यो समयमा तपाईंले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला त ?

चुनाव हाम्रो विषयको कुरै होइन । चुनाव गराउने सङ्घीय सरकारले हो । सङ्घीय सरकारका मातहतमा रहेका थुप्रै चुनाव गराउने निकायहरू नै परिचालन हुने हो । त्यही आधारमा हामी जसरी कोरोना नियन्त्रणमा लागेका त्यसरी नै सङ्घीय सरकारले यसको व्यवस्थापन गर्छ । कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रूप लिएको हुँदा चुनावलाई भन्दा हाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने आजको आवश्यकता हो । सबै मानिसलाई बचाईसकेपछि मात्र चुनाव गर्नुपर्ने आवश्यकता हुन्छ । हामी स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकारको काम चाहिँ जति खेर पनि जनतासँग हुन्छ ।

कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकतामा नागरिकको जीवन रक्षा पर्नुपर्ने हो । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं । यो समयमा सबै जना मिलेर यो विश्व महामारीको रूपमा फैलिएको कोभिडलाई रोक्नु पर्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागि पर्यौं भने यो अवश्य नियन्त्रण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.