साढे २७ करोड घाटा भएकाे भन्दै एनसेलले बढायाे १९ देशको अन्तरराष्ट्रिय कल शुल्क

  २०७८ जेठ २५ गते १७:०२     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । कम्पनीकाे अनुसार नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छ ।

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो ।

प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तरराष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक ३०.६५ रुपैयाँ निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट ४.९९ रुपैयाँ देखि १५ रुपैयाँ सम्म लाग्ने गरेको थियो ।

अझैपनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकैनै कम रहेको कम्पनीले दावी गरेकाे छ ।

अन्तरराष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको जनाएकाे छ ।

कम्पनीकाे अनुसार विगत ५ वर्षमा एनसेलले अन्तरराष्ट्रिय कलबाट हुने आयमा २७.५ करोड भन्दा बढि नोक्सान भोगेको छ । केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढि रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने जनाएकाे छ ।

प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रति मिनेट ३० रुपैयाँ रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक १,१७०.३० रुपैयाँ सम्म रहेको कम्पनीले जनाएकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.