शुभतारा स्कूल बन्द गर्दै अध्यक्षले अभिभावकलाई लेखेकाे पत्र: ‘हामी हात उठाउन बाध्य भयौं’

  २०७८ जेठ २५ गते १५:१६     रानी गुरुङ कक्षपति

बढो दुःखको साथ यो पत्र लेख्दै म तपाईंहरुलाई यो जानकारी गराउन चाहन्छु कि आगामी शैक्षिक सत्रदेखि दुई वर्षको लागि सुभतारा स्कुलको सबै सेवाहरु स्थगित गरिएको छ ।

हामीले हाम्रो विद्यार्थी र शिक्षकलाई हाम्रो जस्तै शैक्षिक वातावरण भएको विद्यालयमा राख्नको लागि हामीले न्यू मेलिनियम स्कुलसँग मर्जर गर्ने सम्झौता गरेका छौं । उक्त सम्झौता अनुसार न्यू मिलिनियमले आफ्नो क्षमता र आवश्यकता अनुसार हाम्रो विद्यार्थी र शिक्षकलाई राख्नेछ ।

यो नयाँ मर्जर र एक अर्कोलाई विकास गर्न सहयोग गर्ने प्रतिबद्धतासँगै न्यू मेलिनियम हाम्रो सिस्टर स्कुल भएको छ ।

उक्त विद्यालय इमाडोलमा रहेको छ र राम्रो अंकसँग एसएलसी/एसईई पास भएको यसको २० वर्षको इतिहास रहेको छ ।

नियमित अनलाइन कक्षा संचालन गर्न हाम्रो लागि ठूलो चुनौति रहिआएको थियो । तर पनि आर्थिक र कोभिड–१९ को समस्याको वाबजुत पनि हामीले कोर्सहरु पुरा गरेर जम्मा ५० दिनको अनलाइन कक्षा संचालन गर्यौं ।

अनलाइन मार्फत् हामीले सफल रुपमा कक्षा १ देखि ७ र ९ को मध्य अवधि परीक्षा र वार्षिक परीक्षा संचालन गरी अभिभावकहरुलाई नतिजा प्रदान गरिसकेका छौं ।

कक्षा ८ को आन्तरिक मूल्यांकनको नतिजा हामीले बिएलई स्फट्वेयर मार्फत प्रकाशन गरिसकेका छौं । कक्षा ८ का विद्यार्थीहरुले महालक्ष्मी नगरपालिकाबाट मार्कसिट प्राप्त भएपछि विद्यालयको अकाउन्ट सेक्सनबाट कागजात लिन सक्नेछन् ।

यस्तै, कक्षा १० को पनि आन्तरिक मूल्यांकन पठाइसकिएको छ र सम्बन्धित क्षेत्रले नतिजा प्रकाशन गर्ने निर्णयपछि विद्यालबाटै मार्कसिट प्राप्त गर्न सकिनेछ ।

हाम्रो अनलाइन कक्षाहरु सफल रुपमा संचालन भएपनि हामीले हरेक महिना गर्नुपर्ने भुक्तानीको तितो सत्यले हामीलाई पुरा वर्ष तनावमा राख्यो ।

३६५ विद्यार्थीका अभिभावक मध्ये ४० प्रतिशतले मात्र स्कुलको शैक्षिक दस्तुर तिरेको र त्यसमा पनि २० प्रतिशत विद्यार्थी छात्रवृतिमा अध्यन गरिरहेको कारण हामीले बाँकी रहेको ६० प्रतिशत रकम निजी कोषबाट भुक्तानी गरिरह्यौं ।

फेरि देखिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरले नयाँ शैक्षिक सत्रमा पनि हाम्रो अवस्थामा केही पनि सुधार आएन ।

अन्ततः अब हामी हात उठाउन बाध्य भएका छौं । माफ गर्नुहोला, यो घाटासँग हामी अगाडि बढ्न सक्दैनौं ।

हाम्रो विद्यालयको मुख्य आर्थिक सहयोगी कक्षपतिले आफ्नो गोजीबाट हरेक महिना यो घाटा बेहोर्न नसक्ने भएको कारण अफसोचको साथ हामीले विद्यालको सबै वित्तीय लेनदेन बन्द गरी, सबै बक्यौता र दायित्व तिरिसकेर अध्यक्षको काँधकाट यो भार हटाउने छौं ।

पछिल्लो वर्षमात्र अध्यक्ष कक्षपतिले तलब भुक्तानीको लागि विद्यालयलाई २ करोड बराबरको ऋण दिइसक्नु भएको छ ।

यहाँ कार्यरत १२० जना शिक्षक र कर्मचारीको तलब भुक्तानी हामीले ३०० जना विद्यार्थीको माध्यमबाट तिर्न नसकेको हुँदा यसरी लामो समयसम्म चल्न असम्भव देखिएको छ ।

समयमा ट्युसन शुल्कहरु नतिरिँदा पुर्व अध्यक्ष कक्षपतिले वर्षौंदेखि विद्यालयको घाटाको पैसा बेहोर्दै आउनु भएकाे छ । यस वर्ष हाम्रो लागि निकै नै खराब वर्ष भएको छ । किनभने कोभिड–१९ संक्रमणको कारण हाम्रो अन्य व्यवसाय पनि प्रभावित भएको कारण हामीले व्यक्तिगत श्रोतबाट पनि विद्यालय चलाइरहन नसक्ने भयौं ।

न्यू मेलिनियममा पढ्न जाने शुभताराका विद्यार्थीहरुले भर्ना शुल्कमा छुट पाउनेछन् । र, यहाँ छात्रवृतिमा पढिरहेका विद्यार्थीले पनि त्यहाँ पनि छात्रवृतिमै पढ्न पाउनेछन् । साथसाथै त्यहाँ काम गर्न चाहने हाम्रा शिक्षकहरुलाई पनि त्यहाँ राखिनेछ । कोरोना रहुन्जेल न्यू मिलिनियम स्कुलले अनलाइन कक्षाको मासिक ८ हजार रुपैयाँ लिनेछ ।

अब कक्षा १० मा जाने विद्यार्थीहरुले पनि शुभताराकै रजिष्ट्रेसन फर्ममार्फत न्यू मिलिनियमबाट परीक्षा दिन सक्नेछन् ।

न्यू मिलिनियमले सफल रुपमा २० वर्षको इतिहास पुरा गरिसकेको छ । उक्त स्कुलमा आधुनिक, ठूला र आकर्षक पूर्वाधारहरुका साथै शुल्क पनि सस्तो रहेको छ ।

यहाँ आइटी प्रयोगशाला, स्टेम ल्याब, साइन्स र म्याथ ल्याब, नाटक, संगित, स्विमिङ्ग पुल, लाइब्रेरी, फुटसल, बास्केटबल, यातायात लगायत विद्यार्थीलाई आवश्यक पर्ने सबै सेवाहरु रहेका छन् । यहाँ एसईई अमरिकी शिक्षण बिधिबाट पढाइन्छ ।

हाम्रो शिक्षक तथा विद्यार्थीहरुले यो नयाँ वातावरणमा सजिलैसँग घुलमिल हुन सक्नेछन् । किनभने त्यहाँको व्यवस्थापन पक्ष सहयोगी र बालमैत्री रहेको छ ।

यद्यपि, यदि अभिभावहरु अन्य स्कुलमा जान चाहनुहुन्छ भने उहाँहरु सजिलैसँग जान सक्नुहुनेछ । तर, विद्यार्थीहरु न्यू मिलिनियममा पढ्ने हो भने उनीहरुले आफ्ना साथीहरुसँग टाढिँनु पर्ने छैन ।

यस मर्जर सम्झौताको अनुसार उक्त विद्यालय इमाडोलमा संचालन हुनेछ र केही वर्षपछि लामाटारमा विस्तार गरिनेछ ।

यदि तपाइहरुलाई न्यू मेलिनियमसँग सम्पर्क गर्नुपर्छ भने हामीले दिएको सम्पर्क नम्बरमा फोन गर्न वा इमेल गर्नुहोला । उहाँहरुको परिचयात्मक भिडियोले विद्यालयको बारेम सम्पूर्ण जानकारी दिने नै छ ।

रजिष्ट्रेसनको लागि अभिभावहरुले न्यू मेलिनियमको फेसबुक पेजमा मेसेज गर्न सक्नेछन् । उहाँहरुले विद्यार्थीको नाम, कक्षा, जन्म मिति सहित मेसेज गरी तत्काल रजिष्टर हुन सक्नेछन् ।

उहाँहरुको नयाँ शैक्षिक सत्र जुन १० अर्थात जेठ २७ गतेदेखि सुरु हुनेछ ।

सबै शिक्षक तथा कर्मचारीको तलब भुक्तानी छिटै गरिनेछ । र, हामी तपाईंहरु प्रत्येकलाई शुभताराप्रतिको योगदानको लागि हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छौं । हाम्रा बोर्डका वर्तमान तथा विगतका सदस्य, शिक्षक, विद्यार्थी र अभिभावकलाई सहयोगको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

आशा छ शुभातारियनको रुपमा तपाईंहरु जहाँ रहेपनि चम्किनु हुनेछ ।

हाम्रा संस्थापक श्याम कक्षपति यस समय स्वास्थ्य समस्यासँग बैंककमा जुधिरहुनु भएको छ । यस कठिन समयमा तपाईंहरुबाट सहयोगको अपेक्षा गर्दछौं । उहाँ २ महिनादेखि त्यहाँ हुनुहुन्छ । उहाँले हाम्रो विद्यालयको लागि धेरै समय र स्रोतहरु दिनुभएको छ । त्यसैले उहाँलाई घर फर्काउनको लागि हामी उहाँको साथ हुन जरुरी छ । मैले पनि उहाँको हेरचाह गर्नको लागि त्यहाँ रहनु जरुरी छ ।

यसैबीच दुई वर्ष विद्यालयले गरिब र असाह्यको लागि धेरै आर्थिक भार नपर्ने सहयोग गरिरहने छ ।

हामी दाताहरु खोजी दुःख परेकाहरुलाई निःशुल्क स्कुल खोल्नेछौं र विशेष किसिमको काैशल विकास कोर्सहरु ल्याउनेछौं ।

भगवानले तपाईंहरुलाई यस्तो समयमा आशावादी राख्नुको साथै सुरक्षित पनि राखिरहनु होस् । हाम्रो जीवनमा रहिदिनु भएको र हामीलाई सपना देख्न सक्ने बनाइदिनु भएकोमा धन्यवाद ।

आशा छ हामी भविष्यमा सँगैं रहनेछौं ।

तपाईंहरुको कुनै पनि प्रश्नहरुको लागि प्रवेश खनाल वा स्मृति ढकाललाई वा स्कुलको इमेलमा सम्पर्क गर्नुहोला ।

भगवान् र मेरो देशको लागि ।

(शुभतारा विद्यालयकी अध्यक्ष रानी गुरुङ कक्षपतिले अभिभावकलाई लेखेको पत्रको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.