आइसोलेसनमा बसेका बिरामीलाई निःशुल्क खाना खुवाइरहेका छौं – गाउँपालिका अध्यक्ष राईसँगको कुराकानी

  २०७८ जेठ २४ गते १९:५८     विकासन्युज

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै आज ठुलो सङ्कटमा छ । नेपालमा पनि यसको प्रभाव गहिरो देखिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ईलाम जिल्लाको चुलाचुली गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ ।

देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । चुलाचुली गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ ।

गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी :

गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ?

तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठूलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । सुरुमा हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्यौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । पालिकामा १५ बेडको आइसोलेसन कक्ष तयार गरी यो आइसोलेसनमा बसेका कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छौं ।

हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं भने कोभिडका बिरामीहरूलाई ३ चरणमा वर्गिकरण गरेका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले बुझ्दै आउनु भएको छ । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा निषेधाज्ञा पनि जारी गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनी एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं ।

सी.सी.एम.सी ले बनाएको मापदण्डलाई हामीले कडाइका साथ परिपालना गरेका छौं । सी.सी.एम.सी सँग पालिकाले समन्वय पनि गरिरहको छ । गत वर्ष कोरोना भाइरस पालिकामा कमै मात्रामा फैलिएको थियो तर दोस्रो चरणको कोभिडका कारण पालिकाका ८ जना नागरिकको मृत्यु भइसकेको छ । पालिकाका केही वडामा कोभिडको प्रभाव छैन तर मानिसहरु जहाँ बढि भेला हुन्छन् त्यहि ठाउँमा यसले भयावह अवस्था सिर्जना गर्छ । यसलाई नियन्त्रण गर्नका लागि पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो । मास्क लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्यो । भिडभाडमा जान भएन । नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ ।

कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । बजारहरूलाई निर्धारित समयमा मात्र खोल्न दिएर कडाई गरेका छौं । धेरै नागरिकहरूले कोरोना जितीसकेका छन् । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागिपरेका छौं ।

पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?

वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं । पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं । टोलटोलमै पुगेर परिक्षण गर्ने गरेका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । हामीले प्रत्येक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । पीसीआरको रिपोर्ट ढिला आउने र धेरै समय लाग्ने भएकाले एन्टिजेन परीक्षण नै पालिका भित्र बढि मात्रामा गरेका हौं । पालिकाको सबै वडामा स्वास्थ्य इकाई भएको कारण पीसीआर परीक्षण पालिका भित्र नै हुँदै आएको छ ।

पालिकामा निषेधाज्ञाको विकल्प सोच्नुभएको छ कि छैन ?

निषेधाज्ञा जिल्ला भरमा लागु छ । निषेधाज्ञा पछि कोभिड नियन्त्रण हुन्छ भन्ने हाम्रो सोच थियो । तर, यो अनुमान भन्दा फरक ढङ्गले कोभिड देखिन थाले पछि हामीले निषेधाज्ञालाई लम्बाउनु पर्ने बाध्यता सिर्जना भएको छ । हाम्रो पालिको सिमाना झापासँग जोडिएको छ भने सिमाना पनि खुल्ला छ । हामीले झापाका नागरिकहरुसँग काम भन्दा वाहेक भेट नगर्न आग्रह गरेका छौं । हामीले झापाबाट पालिकामा प्रवेश गर्न सिमानामा कडाई गरेका छौं । यसर्थमा लकडाउन समाधान होइन, तर नगरी पनि भएको छैन । त्यसैले अब जनतामा स्वास्थ्य मापदण्डबारे सचेतना जगाएर बिस्तारै यसलाई फेरि खुकुलो बनाउँदै जानुपर्छ । भौतिक दुरी कायम गरेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । अन्य ठाउँका मानिसहरू आएकाले पनि पालिकामा कोरोना केही हदसम्म फैलिएको छ । २ नं. वडामा कोरोनाको संक्रमण अन्य ठाउँमा भन्दा अलिक बढि फैलिएको कारण सिल पनि गरेका छौं ।

निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ?

यसबारे यकिनसँग भन्न सकिँदैन । निषेधाज्ञालाई केही हदसम्म खुकुलो बनाउने पनि कुरा भइरहेको छ जिल्लामा । कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । यसबारे स्थानीय तहका जनप्रतिनिधिहरू सबै बसेर छलफल गर्नुपर्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । यसलाई बिस्तारै खुकुलो बनाउने तयारी गर्दैछौं ।

निषेधाज्ञा जारी रहेको अवस्था छ । नागरिकहरू डराइरहेका छन् । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । यसमा नागरिक जिम्मेवार हुनैपर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ । नत्र घरैमा सुरक्षित बसौँ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ?

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकीलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन ।

अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन, अक्सिजनको अभाव हुन नदिन के गर्दै हुनुहुन्छ ?

पालिकामा १२ ओटा अक्सिजन सिलिन्डर छ भने अक्सिजन सिलिन्डर थप गर्ने कुरा भइरहेको छ । केही स्वास्थ्य सामाग्रीहरू संघसंस्थाबाट पनि प्राप्त भएको छ । पालिकाले पनि स्वास्थ्य सामाग्री खरिद गरेको छ । कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्रीमध्ये पीपीईमा सबैभन्दा बढि रकम खर्च भएको छ । एक चोटि लगाए पछि अर्को चोटि प्रयोग गर्न नमिल्ने भएको कारण पीपीईमा चाहिँ बढि खर्च भएको हो । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि सहजीकरण गर्दै आएका छौं । अस्पतालमा पनि स्वास्थ्य सामाग्रीको अभाव हुन चाहिँ दिएका छैनौं ।

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागि के कस्तो सहयोग मिलेको छ ?

प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागि सहयोग मिलेको छ भने समन्वय पनि भइरहेको छ । प्रदेश र केन्द्रले जिल्लामा स्वास्थ्य सामाग्री पठाएको थियो र जिल्लाबाट हामीले भर्खरै स्वास्थ्य सामाग्रीहरू प्राप्त गरेका छौं । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । यसमा ५ ओटा अक्सिजन सिलिन्डर, ३० थान पीपीई, अक्सिमिटर आदि स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । हाम्रो जिल्लाभर १० ओटा स्थानीय तह छ भने यी स्थानीय तहलाई जिल्ला सङ्कट व्यवस्थापन समितिले निर्णय गरी आवश्यकता अनुसार स्वास्थ्य सामाग्री दिएको छ ।

कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ?

चुनौती र समस्या त धेरै नै छन् । अब चाहिँ के चुनौती आउँदैछ भने श्रम गरिखाने जनसमुदायलाई कोरोनाका कारण समस्या भएको छ । दिनभर दाउरा खोजी बेलुका झापा लगेर बेच्ने मानिसहरुलाई पनि हाल यो समयमा दाउरा नबिक्ने भएको कारण समस्या छ । उनीहरुको आम्दानीको स्रोत नै नभएको कारण अबको समयमा राहत कार्यक्रमहरु ल्याउनु पर्ने पनि आवश्यकता छ । यो समयमा हामीले पनि उनीहरूलाई सकेसम्म अन्य ठाउँ नजानु भनेका छौं । यस्तो समयमा उनीहरूलाई राहत दिनको लागि छलफल पनि भइरहेको छ । उच्च प्राथमिकतामा कुन समुदायलाई राख्नुपर्ने हो भनेर हामी अनुगमन पनि गर्छौं । यसरी नै कोभिड बढ्दै गयो भने पालिकामा राहतको कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यकता र अनिवार्यता छ ।

जोखिम न्यूनीकरण गर्नको लागि पालिकामा बजेट अभाव छ कि छैन ?

यो महामारी न्यूनीकरण गर्नको लागि हामीलाई बजेटको अभाव नै छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुनुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । यो रकमबाट नै हामीले स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । पालिकामा भएको विकास बजेटहरू विकास निर्माणकै काममा खर्च भइसकेको छ ।

भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, त्यो समयमा तपाईंले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला त ?

कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रूप लिएको हुँदा चुनावलाई भन्दा हाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने आजको आवश्यकता हो । सबै मानिसलाई बचाईसकेपछि मात्र चुनाव गर्नुपर्ने आवश्यकता हुन्छ । अहिले कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकतामा नागरिकको जीवन रक्षा पर्नुपर्ने हो । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं ।

कोरोना महामारी नियन्त्रण भइसक्यो भने चुनाव पनि आवश्यकता हो । तर, पनि हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपायहरू अपनाएर जनताको सुरक्षा गर्नमा लागिपरेका छौं । पहिलो प्राथमिकता स्वास्थ्य र कोभिड नियन्त्रण गरी चुनाव गर्नु राम्रो हुन्छ होला । आज सरकारले जनताको विषय र जनताको ज्यू ज्यानसँग विवेकपूर्ण तरिकाले न्याय दिन सकिरहेको छैन । यो समयमा सबैजना मिलेर यो विश्व महामारीको रूपमा फैलिएको कोभिडलाई रोक्नु पर्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागि पर्यौं भने यो अवश्य नियन्त्रण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.