२०७८ जेठ २४ गते १२:२५ विकासन्युज
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार चुरे संरक्षणमा गम्भीर भएको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल कार्यक्रममा अर्थमन्त्री पौडेलले चुरे क्षेत्रको संरक्षण तथा सम्वर्द्दनमा सरकार प्रतिवद्ध भएको बताएका हुन् ।
‘चुरे क्षेत्रको संरक्षणमा सरकार प्रतिवद्ध छ, चुरेको संरक्षण गर्नु सरकारकोे दायित्व हो, चुरे क्षेत्र सिँगो राष्ट्रका लागि महत्वपूर्ण हो, चुरेलाई प्राकृतिक रुपमा हराभरा बनाउन लागि परेका छौं,सरकार चुरेबाट एक डोको बालुवा पनि उठाउँदैन,’ उनले भने ।
यस्तै, उनले केही मानिसहरूले बजेटमा कुनै खोट नदेखिएपछि अतिरञ्जित पारिएको बताए । ‘बजेटले सबैका माग र समस्याहरुलाई सम्बोधन गरेको छ , केहीले अतिरिञ्जत पार्न पूराना तस्वीर तथा भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट गरेर सरकारको विरोध गर्ने काम गरे । तर वास्तकि रुपमा त्यस्तो होइन,’ उनले भने ।
यस्तै बजेटको कार्यान्वयनमा सरकार प्रतिवद्ध भएको पनि उनले बताएका छन् । चुनाव र सरकारको बजेट कार्यान्वयनको पाटोलाई सँगै जोड्न नहुने बताउँदै उनले बजेटको कार्यान्वयन सरकारले सुरु गरिसकेको उल्लेख गरे ।
‘बजेटले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सम्बोधन भएको छ, कीर्तिपुरमा अस्पताल र भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा विस्तारका लागि पूर्वाधार निर्माणमा बजेटले बोलेको छ, स्वास्थ्य क्षेत्र र स्वास्थ्य पूर्वाधारका क्षेत्रमा बजेट केन्द्रित छ, अब हाम्रो सम्पूर्ण ध्यान बजेटको कार्यान्वयनमा जानेछ,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.