अब स्वास्थ्यकर्मी माथि आक्रमण गरे तीन वर्ष कैद र तीन लाख जरिवाना

  २०७८ जेठ २३ गते १८:३४     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो ।

उक्त अध्यादेशको नेपाल चिकित्सक संघले स्वागत गरेको छ । संघका अध्यक्ष डा लोचन कार्की विगत ५ वर्षदेखि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी’ ऐन ल्याउनुपर्ने विषयमा संघले प्रयास गरेको बताउँछन् ।

‘हामीले धेरै अगाडीदेखि उक्त ऐन ल्याउनुपर्छ भन्दै आएका थियौँ, म संघको महासचिव हुँदादेखिको प्रयास हो । संसद नभएका अवस्थामा अध्यादेशमार्फत भएपनि स्वास्थ्यकर्मीका लागि अतिआवश्यक ऐन ल्याईयो । यो एकदम सरहानिय काम हो’, उनले भने ।

के छ अध्यादेशमा ?

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी’ अध्यादेशमा जारी भएसँगै अब स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख देखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था रहेको छ ।

यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पु¥याउने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने कार्य गरेमा तीन वर्षसम्म कैद, तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्ने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पु¥याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्ने, अभद्र वा अपमानजनक व्यवहार गनेलाई एक वर्षसम्म कैद, एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.