देशभरका ६ महानगरः कोभिड नियन्त्रण, उपचार र रोकथाममा के गर्दैछन् ?

  २०७८ जेठ २३ गते १४:४८     राजिव न्यौपाने

काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण विश्व ठुलो सङ्कटमा छ । यो महामारीले प्रभाव पारेसँगै नेपाल पनि लामो समयदेखि कोरोना भाइरससँगको लडाईंमा छ । विश्वका धेरै देशहरू यस सङ्कटलाई परास्त गर्न लागि परेका छन् ।

नेपालमा दिनकै हजारौं संख्यामा संक्रमित भइरहेका छन् भने सयौं संख्यामा मानिसहरूको मृत्यु भइरहेको अवस्था छ । पछिल्लो समयमा कोरोना सङ्क्रमण दर र मृतकको संख्या कम भएको छ । तर, महामारी नियन्त्रण हुने अवस्थामा छैन । बरु भइरस संक्रमणको कारण नयाँ रोग र स्वास्थ्य समस्या देखा परेको तथ्यहरु सार्वजनिक भइरहेका छन् ।

महामारीका कारण बेरोजगारीको संख्या दिनप्रतिदिन बढ्दो छ । यसले सामाजिक, आर्थिक, विकास निर्माण आदि सबै क्षेत्रमा असर पुर्याए पनि स्थानीय तहहरू कोरोना रोकथाम र नियन्त्रण गर्नमा लागेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले दिन रात नभनि महामारी न्यूनिकरण गर्नको लागिपरेका छन् । पछिल्लो समयको अवस्था हेर्दा कोरोना भाइरस जित्नेको सङ्ख्या बढ्दै गएको छ । निषेधाज्ञालाई खुकुलो बनाउने तयारी पनि धेरै स्थानीय तहमा हुँदैछ ।

कोभिड महामारीकै कारण नेपालमा ठूलो आर्थिक क्षति पुगेको छ । व्यापार बन्द भएको कारण साना तथा घरेलु उद्योग मात्र नभई धेरै ठुलाठुला उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । उत्पादन भएका वस्तुको बिक्री तथा वितरण नभएको कारण उद्योगहरूले धेरै घाटा व्यहोरी रहेका छन् ।

कोभिड महामारी अहिले दुर्गम गाउँगाउँमा पुगेपनि बाक्लो बस्ती भएका र जनघनत्व बढी भएका क्षेत्रको यसको असर बढी देखिएको छ । महामारी नियन्त्रण गर्नको लागि अहिले ७ सय ५३ नै पालिकाहरू लागेका छन् । यो जटिल अवस्थामा नागरिकको नजिकको सरकार स्थानीय तह हो । नजिकैको सरकार स्थानीय तह भएका कारण जुनसुकै परिस्थितमा पनि नागरिकको सुरक्षाको लागि उभिन्छ भनेर प्रत्याभूति दिनका लागि जनप्रतिनिधिहरू लागेका पनि छन् ।

गत वर्ष लकडाउनको प्रारम्भदेखि नै स्थानीय तहहरुले राहतका कार्यक्रमहरू ल्याएका थिए । तर, यसपाली दैनिक कमाएर परिवार धान्दै आएका व्यक्ति र परिवारको लागि स्थानीय तहहरुले पनि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेका छैनन् ।

यो महामारीको असर कम गर्न संघीय सरकारले खोप किनेर दिनु पर्ने हो । तर, संघीय सरकारको विश्वास र भर पर्न नसकेर कतिपय स्थानीय तहहरू खोप किन्नमा जुटेका छन् । आफैले खोप किनेर स्थानीय सरकारलाई दिने संघीय सरकारले बताइरहेको छ । यही पृष्ठभूमिमा कोभिड नियन्त्रण, उपचार र रोकथामको लागि देशभरमा रहेका ६ महानगरपालिकाले के कस्तो काम गरिरहेका छन् भनेर यो सामग्री तयार पारेका छौं ।

बीरगन्ज महानगरपालिका

विश्व भर महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले बीरगन्ज महानगरपालिकामा पनि ठुलो असर पुर्याएको छ । बीरगन्ज महानगरमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण कमै मात्रामा देखिएको छ । कोरोनाको प्रभाव कम हुँदै गएपछि लकडाउनलाई खुकुलो बनाउने तयारी गर्दै गरेको महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सराबगी बताउँछन् ।

यो महानगर भारतसँग सिमाना जोडिएको कारण बोर्डर व्यवस्थापन गर्न पनि लागि परेको छ । भारतबाट फर्किने नेपाली नागरिकको संख्या सामान्य रहेको सराबगीले जानकारी दिए । महानगरले भारतबाट फर्किनेहरूको सिमानामा एन्टिजिन परीक्षण पनि गर्दै आएको छ । एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखियो भने महानगरले सञ्चालन गरेको आइसोलेसनमा अथवा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाएको पनि सराबगीले बताए ।

कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन परीक्षण र पीसीआर गर्ने व्यवस्था मिलाएको पनि सराबगीले जानकारी दिए । एन्टिजेन र पीसीआर परीक्षण महानगरले निःशुल्क गर्दै आएको छ ।

महानगरपालिकाले मास क्वारेन्टिन भन्दा होम क्वारेन्टिनलाई जोड दिएका थियो । होम आइसोलेसन बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्य शाखाले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेको पनि सराबगीले जनाए । महानगरपालिकाले कोरोना संक्रमित भएका बिरामीको घर घरमा अक्सिजनको आपूर्ति पनि गरेको छ ।

नारायणी अस्पताललाई ३ ओटा भेन्टिलेटर र विभिन्न स्वास्थ्य सामाग्रीहरू पनि महानगरले वितरण गरेको छ । अस्पतालमा उपचाररत कोभिड संक्रमणका बिरामी र उनीहरूका आफन्त तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाउन व्यवस्था मिलाएका पनि सराबगीले जानकारी दिए ।

महानगरपालिकाले १ हजार क्षमताको ठाकुरराममा होल्डिङ सेन्टर स्थापना गरेको थियो । तर, यो होल्डिङ सेन्टरमा कसैलाई पनि राख्नु पर्ने अवस्था आएको छैन । दैनिक कोरोनाको परीक्षण गर्दै आएर उनीहरूको गन्तव्यसम्म पुर्याउने व्यवस्था महानगरले मिलाएको कारण होल्डिङ सेन्टरमा धेरै मानिसलाई राख्नु पर्ने अवस्था आएको छैन ।

गोपाल मण्डलीमा कोभिड अस्पतालको निर्माण र २ सय ३० बेडको आइसोलेसन कक्ष तयारी गरी त्यही होडिङ सेन्टर बनाएको पनि सराबगीले जानकारी दिए ।

बीरगञ्ज महानगरले कोभिड रोकथाम र नियन्त्रणका लागि वडामा फोकल पर्सन चयन गरेको छ । उनीहरूले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क गरिरहेका छन् । होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य समस्या बारेमा थप परामर्शका लागि चिकित्सकले आवश्यक सहयोग गर्दै आएको छ ।

सरावगीका अनुसार होम आइसोलेसनमा बसेका करिब १२ सय संक्रमितलाई घरघरमा गई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । होम आइसोलेसनमा बसेका कोभिडका संक्रमितको स्वास्थ्यमा समस्या आयो भने महानगरपालिकाले बिरामीलाई उपचारको लागि अस्पतालसम्म पुर्याउने एम्बुलेन्सको व्यवस्था पनि मिलाएको आएको छ । महानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा छ ।

यो महामारीले महानगरपालिकाको सम्पूर्ण कामकाजमा पनि ठुलो असर पूर्याएको र विकास निर्माणको कामहरू पनि ठप्प भएको सराबगीले बताए । विकास निर्माणको काम गर्न केन्द्र र प्रदेश सरकारसँग ६ महिनाको समय थपिदिए महानगरपालिकाको सशर्त अनुदानका योजनाहरू पुरा गर्न सक्ने पनि उनले जनाए । केन्द्र र प्रदेशले समय नथपिदिए विकास निर्माणको काम पूरा गर्न समस्या हुने उनको भनाई छ ।

बजार अनुगमनको लागि सहायक सिडिओको संयोजकत्वमा टोली बनेको छ । सिडिओको टोलीले बाजार मात्र नभई अस्पतालमा स्वास्थ्य सेवा राम्रो छ कि छैन भनेर अनुगमन गर्दै आएको सराबगीले जानकारी दिए । अनुगमन गर्ने क्रममा अस्पतालले महानगरपालिकाले बनाएको स्वास्थ्य कार्यविधि पालन गरे नगरेको, स्वीकृति लिए नलिएको लगायत विषय बारे पनि अनुगमन गरिएको छ ।

महानगरले बिहान ६ बजेदेखि १० बजेसम्मको लागि बजार खुल्ला गर्न दिएको छ । श्रम गरी खाने विपन्न वर्गको लागि महानगरले दैनिक ५ हजार मानिसलाई निःशुल्क खाना पनि खुवाउँदै आएको छ ।

यो जोखिम न्यूनिकरण गर्नको लागि प्रदेश र केन्द्रको जुन खालको सक्रियता हुनुपर्ने थियो त्यति नभएको महशुस भएको मेयर सरावगीको भनाई छ ।

कोरोना संक्रमण सुरु भएसँगै स्वास्थ्य सामाग्री तथा अक्सिजन अभाव रहेको थियो । सुरुसुरुमा महानगरमा अक्सिजनको अभावका कारण ७ जनाको मृत्यु भएको थियो । अहिले अस्पतालहरुमा अक्सिजनको माग घट्दै गएको छ । हाल महानगरपालिकामा अक्सिजनको अभाव र स्वास्थ्य सामाग्रीको अभाव छैन ।

पछिल्लो समयमा कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ । पछिल्ला दिनहरुमा दैनिक ७ देखि ८ जनासम्म मात्र नयाँ संक्रमित देखिन थालेको सरावगीले जानकारी दिए ।

नारायणी अस्पतालमा महानगरपालिकाले नै ल्याबको स्थापना गरी दिएको छ । महानगरलाई केही एन्टिजेन परीक्षण गर्ने किट पनि नेपाल सरकारबाट प्राप्त भएको छ । नेपाल सरकारबाट प्राप्त भएको किटले भारतबाट आएका नागरिकको परीक्षण हुँदै आएको छ । महानगरले एक घर एक एन्टिजेन परीक्षण गर्ने तयारी गरेको छ । नारायणी अस्पतालमा नै पीसीआर परीक्षण हुँदै आएको छ ।

पछिल्लो समयमा भारतबाट मुख्य सडक हुँदै आउनेको संख्या १० देखि ५० जनासम्म मात्र रहेको र खुल्ला सिमाना भएको कारण भारतबाट आउने नागरिक र आवतजावत गर्ने मानिसहरूलाई रोक्न नसकिने पनि उनले बताए ।

काठमाडौं महानगर

तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसले काठमाडौं महानगरपालिकामा ठूलो असर पारेको छ । जोखिम न्यूनिकरण गर्न महानगरले विभिन्न प्रयासहरू गरिरहेको छ ।

कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारको लागि महानगरभित्र रहेका सामुदायिक र सरकारी अस्पतालहरूको बारेमा सुरुमा राय सुझाव लिएको उप–प्रमुख हरिप्रभा खड्गी बताउँछिन् । सामुदायिक र सरकारी अस्पताललाई महानगरले कस्तो सहयोग गर्न सक्छ भनि छल्लफल गरिएको थियो ।

महामारीको यो समयमा महानगरको लगानीमा तत्काल ठूलो अस्पताल बनाउन नसकिने उनले बताइन् । काठमाडौं महानगरले वीर अस्पताललाई १५ ओटा भेन्टिलेटर सहित ५० ओटा मनिटर पनि दिएको छ । वीर अस्पतालमा स्वास्थ्य सामाग्री र अन्य समस्या पर्यो थप सहयोग पनि गर्ने उपप्रमुख खड्गीले जानकारी दिइन् ।

काठमाडौं महानगरले टिचिङ अस्पताललाई पनि १० ओटा भेन्टिलेटर सहयोग गरेको छ । क्षेत्रपाटी चिकित्सालयमा आइसोलेसन सहितको भेन्टिलेटर राखिएको छ । यस चिकित्सालयमा महानगरले निःशुल्क खाना, खाजा खुवाउँदै आएको छ । नरदेवी आयुर्वेद चिकित्सालयमा पनि आइसोलेसन कक्ष सहित खानाको व्यवस्था मिलाएको छ ।

काठमाडौं महानगरभित्र रहेका सबै सामुदायिक अस्पतालमा पनि २÷२ ओटा भेन्टिलेटर दिएको खड्गीले बताइन् । कोरोनाका कारण महानगरभित्रका सबै विकास निर्माणको कामहरू रोकिएका छन् । विकास निर्माणको बजेटबाट कोभिड नियन्त्रण गर्नका लागि महानगरले खर्च गरेको छ । जनताको जीवन रक्षा गर्नको लागि आवश्यक कामहरू गर्दै आएको खड्गीले बताइन् । महानगरपालिकाले राधा स्वामीमा ७८ ओटा आइसोलेसन कक्ष पनि तयार गरेको छ ।

संघीय सरकारले सामुदायिक र सरकारी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आवश्यक रहेको उनले बताइन् । भेन्टिलेटर महानगरपालिकाले अस्पतालाई दिएता पनि बिरामीको चाप अस्पतालमा बढ्दै गएपछि अक्सिजनको अभाव हुने गरेको छ । खड्गीले नेपाल सरकारसँग पनि अक्सिजन प्लान्ट अस्पतालमा जडान गर्नको लागि आवाज उठाउँदै आएकी छिन् । अक्सिजन र घर घरमा कोरोना विरुद्धको खोप पुर्याउनको लागि नेपाल सरकरले स्थानीय सरकारले जिम्मा दिए जिम्मा लिन तयार रहेको उनको भनाई छ ।

नेपाल सरकारले पहिले कोरोना विरुद्धको खोप लगाउनको लागि स्थानीय सरकारलाई दिएको भए भिडभाड नहुने र भिडभाड भएको कारणले नै नागरिकहरू कोरोनाको खोप लिनका लागि डराएको पनि खड्गीले बताइन् । स्थानीय सरकारलाई खोप लगाउने अधिकार दिएको भए यो महामारलिाई केही हदसम्म रोक्न र मृत्यु दर पनि कम हुने उनको अनुमान छ ।

पछिल्लो समय संक्रमितको संख्या पनि दिन प्रतिदिन घट्दै गएको छ ।

होम आइसोलेसन बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाकाले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिइरहेका छन् । बिरामीको स्वास्थ्य समस्या भए महानगर वा वडा कार्यलयमा सम्पर्क गरे अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाइएको छ । अस्पतालको क्षमता बढाउने र संक्रमण दर घटाउने कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको उपप्रमुख खड्गीको भनाई छ ।

महानगरमा अहिले निषेधाज्ञा जारी रहेको अवस्था छ । संक्रमण दर घटाउने र महामारी नियन्त्रणमा लिने हो भने निषेधाज्ञालाई कडाई गर्न र लम्ब्याउन आवश्यक रहेको उनको सुझाव छ ।

विकास निर्माणको बजेटबाट नै कोरोना महामारी र नियन्त्रण गर्नका लागि महानगरले खर्च गरेको छ । यो समयमा महानगरले कुनै पनि राहतका कार्यक्रमहरू ल्याएको छैन । तर, प्रत्येक वडालाई थोरै रकम राहतको लागि छुट्टाएको छ । यदि कसैले खानै नपाउने अवस्था सिर्जना भयो भने उनीहरुले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएर राहत लिन सक्ने व्यवस्था मिलाईएको उनले बताइन् ।

विराटनगर महानगरपालिका

तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले विराटनगर महानगरपालिकामा पनि ठुलो असर पुर्याएको छ । महानगरले कोरोना रोकथाम र नियन्त्रणको लागि जनचेतनाका कार्यक्रमहरू गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत बताउँछन् ।

एन्टिजेन र पीसीआर परीक्षण पनि महानगरले निःशुल्क गर्दै आएको छ । महानगरले आइसोलेसन कक्षको स्थापना पनि गरेको छ । महानगरपालिका भित्रका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजनको व्यवस्थापन पनि गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेत बताउँछन् । वडा तथा समुदाय र नागरिकहरूलाई पनि मास्क, सोनिटाइजर आदि वितरण गरिएको छ ।

नगर प्रमुख भीम पराजुलीले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएका छन् । महानगरपालिकाले बिरामीलाई निःशुल्क एम्बुलेन्सको प्रयोग गर्न दिएको पनि बस्नेतले बताए ।

स्वाब संकलन गरी तोकिएको ल्याबमा परीक्षण गर्न लैजानको लागि पनि गाडीको व्यवस्था गरिएको छ । मेयर पराजुली पनि अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिनको लागि विभिन्न ठाउँमा पहल गरेको बस्नेतले बताए । उप–मेयरको संयोजनमा अक्सिजन उपलब्धता जस्ता विषयमा अनुगमन गर्न टोली बनाइएको छ । एन्टिजेन र पिसीआर गर्ने कीट महानगर आफैले खरिद गरेको छ । स्वास्थ्य सामाग्रीको खरिद गरी वडा कार्यालय, अस्पतालमा वितरण गरिएको पनि बस्नेतले जानकारी दिए । प्रदेश आपूर्ति केन्द्रले पनि स्वास्थ्य सामाग्रीहरू महानगरलाई दिएको छ ।

विराटनगर महानगरले निषेधाज्ञालाई कायम नै राखेको छ । कोशी अस्पतालमा अक्सिजन र स्वास्थ्यका सामाग्रीहरू पनि वितरण गरेको बस्नेत बताउँछन् । महानगरले यो समयमा कुनै पनि राहतको कार्यक्रमहरू ल्याएको छैन । सार्वजनिक विकास निर्माणको कामहरू नरोकिएको र निर्माणका सामाग्रीहरू ओसारपसार गर्नको लागि सहज भएका कारणले श्रमजीवी वर्गको पनि काम नरोकिएको कारण राहतको कार्यक्रम नल्याएको बस्नेत बताउँछन् ।

महानगरको कामकाजमा असर पुगेको छ । वडा कार्यालयरु बन्द भएको कारण राजश्व सङ्कलनमासमस्या रहेको बस्नेत बताउँछन् । विकासका योजनाहरू सञ्चालन गर्न, कार्यान्वयन गर्नमा पनि असर पुगेको छ । आन्तरिक राजश्व ९५ करोडको अनुमान गरेर कार्यक्रम बनाएको तर ३० करोडमा गएर राजश्व अड्केको पनि बस्नेतको भनाई छ ।

पछिल्लो समय संक्रमितहरु घट्दै गएको र अक्सिजन, बेडको समस्या नभएको बस्नेतले बताए । उपमेयरको संयोजकत्वमा महानगरपालिकाले बजार अनुगम गर्ने कामलाई पनि तीव्रता दिएको छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकामा पनि कोरोनाको संक्रमण उच्च रहेको छ । महामारी नियन्त्रण र रोकथामको लागि थुप्रै प्रयासहरू भइरहेका छन् । नयाँ भोरियेन्टको कोरोना भाइरसको प्रभाव महानगरपालिकामा पर्न थालेपछि २ ओटा आइसोलेसन सेन्टर स्थापना गरेको महानगरकी उपमेयर गीता सत्यालले जानकारी दिइन् । यी २ ओटा आइसोलेसन सेन्टरमा महानगरले ५ जना डाक्टरको दरबन्दी पनि राखेको छ ।

महानगर र २६ नम्बर वडाको संयुक्त प्रयासबाट ५० बेडको आइसोलेसन तयार पारिएको हो । महानगरले बनाएको आइसोलेसन बसेका धेरै संक्रमितहरु निको भइसकेका छन् । बागडोल स्थित ज्यापु समाजको बृद्धा आश्रममा महानगरले १ सय १० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको पनि उपप्रमुख सत्यालले जानकारी दिइन् ।

केही समयअघिसम्म ललितपुरभित्रका सामुदायिक र सरकारी अस्पतालमा अक्सिजनको अभाव भएको थियो । अक्सिजन अभाव कम गनै महानगर क्षेत्रमा रहेका अक्सिजन उत्पादकसँग अक्सिजन आपूर्ति कसरी गर्न सकिन्छ भनेर छलफल चलाइएको थियो । महानगरभित्रका अस्पताललाई प्राथमिकतामा राखेर अन्य स्वास्थ्य सामाग्री वितरण गरेको सत्यालले जानकारी दिइन् । पहिलेको जस्तो हाल महानगरमा अक्सिजनको अभाव रहेको छैन ।

कोरोना महामारीको कारण विकास निर्माण लगायत सबै काममा असर पुगेको छ । गत वर्ष जस्तो वर्ष श्रमजीवी वर्गको लागि राहतको कार्यक्रम महानगरपालिकाले ल्याउन सकेको छैन । दैनिक खानको लागि समस्या परेका व्यक्तिहरुले सम्पर्क गरे राहतको व्यवस्था गरेको सत्याल बाताउछिन् ।

होम आइसोलेसनमा बसेकाहरुलाई अस्पताल लैजानु पर्ने अवस्था आएमा महानगरले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । होम आइसोलेसनमा बस्नुभन्दा महानगरले बनाएको सुविधा सम्पन्न आइसोलेसन कक्षमा बस्नु राम्रो हुने पनि सत्यालले बताइन् ।

महानगरले कन्ट्याक्ट ट्रेसिङलाई फराकिलो बनाई कोभिड–१९ सँग सम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन्ट वा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

महानगरमा कोरोनाका संक्रमण सुरु भएसँगै निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा मात्र गर्दै जाँदा धेरै जनाको रोजगारी गुम्ने र श्रमगरी खानको लागि समस्या हुने भएकोले अब निषेधाज्ञालाई खुकुले बनाउँदै जानु पर्ने पनि उनले बताइन् । निषेधाज्ञा लम्बिँदै गयो भने राहतका कार्यक्रम ल्याउनु पर्ने आवश्यकता रहेको पनि उनको धारणा छ ।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकामा पनि कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ । कोरोना भाइरसले महानगरमा बसोबास गर्ने धेरै नागरिकको ज्यान गएको छ । यो क्षेत्रफलको हिसाबले ठुलो, जनसङ्ख्याको दोस्रो स्थान र गण्डकी प्रदेशको पनि राजधानी भएको महानगरपालिका हो ।

महानगरले कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि सम्पूर्ण प्रयास गरेको उपप्रमुख मञ्जुदेवी गुरुङ बताउँछिन् । महानगरले कोरोना रोकथाम तथा नियन्त्रण व्यवस्थापन समिति पनि बनाएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि प्रत्येक वडाको अध्यक्षको संयोजकतामा ४ जना सदस्य सहितको फोकल पर्सन चयन गरी रोकथाम तथा नियन्त्रण व्यवस्थापन समिति बनाएको पनि गुरुङले जानकारी दिइन् । उनीहरूले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क गरिरहेका छन् ।

संक्रमितको स्वास्थ्य समस्याको बारेमा थप परामर्शका लागि महानगरको सहकार्यमा हरेक वडामा चिकित्सकले आवश्यक सहयोग गर्दै आएका छन् । यो समितिले नियमित फोन परामर्श, निःशुल्क एम्बुलेन्स सेवा, सेनिटाइजर, हाईजिन किट वितरणका कार्यक्रम जारी राखेका छन् । नगरभित्र निःशुल्क पीसीआर परीक्षण तथा एन्टिजेन परीक्षण भइरहेको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको घरमा वडाध्यक्ष पुगि संक्रमितको स्वास्थ्य अवस्था बरे लिइरहेको उपप्रमुख गुरुङले बताइन् ।

महानगरमा ६ ओटा एम्बुलेन्स सेवा रहेको छ । एम्बुलेन्स व्यवस्थापन वडा नं. ९ का वडा अध्यक्षले गर्दै आएका छन् भने आइसोलेसन र क्वारेन्टीन व्यवस्थापनको लागि वडा नं. १९ का वडाध्यक्षलाई जिम्मा दिइएको छ । अस्पतालको अवस्था बुझ्ने र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिनको लागि फोकल पर्सन चयन गरी स्वास्थ्य अधिकृतलाई जिम्मा लगाएको पनि गुरुङले बताइन् ।

गत वर्षको कोरोनाको लहर फैलिँदा नै चालु वर्षको बजेट ल्याइएको थियो । त्यो बेला नै महानगरको आफ्नै अस्पताल हुनु पर्छ भनेर निर्णय पारित गरेको र यो वर्ष १ सय बेडको आइसोलेसन सहितको अस्पताल निर्माण गरी उद्घाटन गरेको र अब सञ्चालन गर्ने तयारी हुँदै गरेको पनि गुरुङले जानकारी दिइन् ।

महानगरले २ सय बेडको क्वारेन्टीनको व्यवस्था गर्दा ५० बेडको महिला क्वारेन्टीन र आइसोलेसन व्यवस्थापन गरेको छ । गर्भवती महिलाको सुरक्षाको लागि विशेष जोड दिएको पनि गुरुङले जानकारी दिइन् । बन्दाबन्दीले बजारमा कालो बजारी नहोस्, महँगी नबढोस् भनेर दैनिक अनुगमनको कामलाई पनि तीव्रता दिएको उनको भनाई छ ।

सुरु सुरुका दिनमा अक्सिजन अभाव पनि भएको थियो । महानगरपालिका भित्र २ ओटा अक्सिजन प्लान्ट रहेका छन् । अक्जिनको अभावको कारण एक जना सुत्केरी महिलाका ज्यान पनि गएको थियो । सुरुका चरणमा जस्तो हाल महानगरपालिका अक्सिजनको अभाव नभएको पनि गुरुङले बताइन् ।

कोरोना रोकथाम र नियन्त्रणतर्फ वडा कार्यालयहरूको सक्रियता बढेको छ । महानगरपालिकाले बिरामीले बेड, अक्सिजन नपाएको खण्डमा यसलाई सहजीकरण पनि गर्दै आएको छ । महानगर भित्र धेरै जना संक्रमित भए पनि निरन्तर कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कामहरू भइरहेका छन् । महानगरसँगै वडाहरूमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । वडा अध्यक्ष र वडा सदस्यहरूले अनुगमनका कामहरू पनि गरिरहेका छन् ।

महानगरपालिमा हाल पनि निषेधाज्ञा कायम नै गरिएको छ भने अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको अवस्था छ । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै गुरुङले जनाइन् ।

दोस्रो चरणमा फैलिएको कोरोना भाइरसले महानगरको कामकाज र विकास निर्माणको काममा पनि ठुलो असर पुर्याएको छ । महानगरमा निषेधाज्ञाका कारण राजश्व सङ्कलन पनि भएको छैन । महानगर भित्र हुँदै गरेको विकास निर्माणको काम पनि ठप्प भएको र सबै क्षेत्रहरूमा प्रभावित भएको गुरुङले जानकारी दिइन् ।

महानगरलाई कोरोना संक्रमितको शव व्यवस्थापन गर्नको लागि चुनौति रहेको पनि गुरुङले जनाइन् । महानगरमा शव व्यवस्थापन गर्नको लागि एउटा मात्र गाडी थियो तर, मृतकको संख्या बढ्दै गएपछि २ ओटा गाडी शव व्यवस्थापनका लागि प्रयोग गर्दै आएको उपप्रमुख गुरुङले बताइन् ।

भरतपुर महानगरपालिका

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण भरतपुर महानगरपालिका सङ्कटलाई परास्त गर्न लागिपरेको छ । महानगरपालिकामा कोरोनाको संक्रमण दर उच्च छ भने मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दैछ । महानगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सम्पूर्ण प्रयास जारी राखेको महानगरकी उप–प्रमुख पार्वती शाह ठकुरीले बताइन् ।

महानगरमा कोरोना भाइरस फैलिएपछि वडा नं. १४ र १९ मा सुरुवातमा १५ बेड कोभिड अस्पतालको निर्माण गरेको पनि ठकुरीले जानकारी दिइन् । १४ नं. वडामा नै आयुर्बेदिक अस्पताल सुरु गरिएको छ ।

महानगरपालिकाको ८ देखि १० नं. वडासम्म एन्टिजेन परीक्षण भइरहेको छ । महानगरमा ३ ओटा एम्बुलेन्स छन् । कोरोनाको बिरामीहरूले यो निःशुल्क प्रयोग गर्न सक्ने पनि उनले जानकारी दिइन् । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल लैजानको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरिएको छ । महानगरले होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउँदै आएको उपप्रमुख ठकुरीले जानकारी दिइन् ।

महानगरले नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेका गर्दै आएको छ । पालिकाका धेरैभन्दा धेरै कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेका नागरिकहरूको स्वास्थ्य बुझ्नको लागि स्वास्थ्य शाखाको टिमले सधै सम्पर्क गरिरहको हुन्छ ।

महानगरले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि गरिरकहेको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी परीक्षण गरिने भएको हो । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउनको लागि पनि जोड दिएको छ । अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण पनि गरिँदै आएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि वडा कार्यालयहरूको सक्रियता बढेको छ । बिरामीले बेड, अक्सिजन नपाएको खण्डमा महानगरले यसलाई सहजीकरण गर्दै आएको छ ।

बन्दाबन्दीको समयमा बजारमा कालोबजारी नहोस् महंगी नबढोस भनेर सिडिओको नेतृत्वबाट दैनिक बजार अनुगमनको कामलाई पनि तीव्रता दिएका ठाकुरीले बताइन् ।

महानगरपालिकासँग नगरका वडाहरूमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । चिकित्सकसहितको घरदैलो कार्यक्रम गरी निःशुल्क औषधी, एक्सरे र अक्सिजनको व्यवस्था गरिएको छ । नियमित फोन परामर्श, निःशुल्क एम्बुलेन्स सेवा, सेनिटाइजर, हाईजिन किट वितरणका कार्यक्रम जारी रहेका छन् । नगरभित्र निःशुल्क पीसीआर परीक्षण तथा एन्टिजिन परीक्षण गरिएको छ ।

गत वर्षको जस्तो यो वर्ष महानगरपालिकाले कुनै राहतको कार्यक्रम ल्याएको छैन । राहत कार्यक्रममा ध्यान दिन नसकेको उनको भनाई । कोभिड संक्रमणका कारण महानगरको कामकाज र विकास निर्माणका काममा पनि असर परेको उपप्रमुख ठकुरी बताउँछिन् । आफूहरुको २ वर्षको कार्यकाल कोभिडकै कारण फलदायी हुन नसकेको उनको गुनासो छ ।

कोभिड रोकथाम र नियन्त्रणका लागि वडामा फोकल पर्सन चयन गरिएको छ । उनीहरूले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क पनि गरिरहेका छन् । अस्पतालमा उपचाररत कोभिड संक्रमणका बिरामी र उनीहरूका आफन्त तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाउन व्यवस्था मिलाइएको छ ।

अक्सिजन अभावकै कारण धेरै नागरिकले ज्यान पनि गुमाएका छन् । यसलाई सहजीकरण गर्नका लागि सुरुको चरण भन्दा हाल अक्सिजनको अभाव नभएको पनि उनले जनाइन् । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागि कुनै पनि सहयोग प्राप्त नभएको उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.