कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो: डा. अनुप बास्तोला

  २०७८ जेठ २३ गते १०:२६     डा. अनुप बास्तोला

काठमाडाैं । अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।

यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं ।

टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमता बराबर सिकिस्त बिरामी उपचाररत छन् ।

अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौैं बाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँगाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ ।

दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बमध्यताले गर्दा धेरैको ज्यान गुमायौं । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं ।

दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।

खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ । कोभिड निमोनिया भएको ६-७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ ।

बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वास्प्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।

सम्भवत् दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्छ ।

(संक्रमण रोग विशेषज्ञ डा अनुप बास्तोलाको फेसबुकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.