सन्ध्या सन्देश निर्माण सेवाले पायाे ढुङ्गा, गिटी र बालुवा उत्खननकाे अनुमति

  २०७८ जेठ २१ गते १३:५८     विकासन्युज

दमौली । ढुङ्गा, गिटी र बालुवा उत्खननका लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खननको अनुमति दिएको हो ।

गाउँपालिकाले २०७७ माघ १४, फागुन १३ र २०७८ वैशाख ६ गते सूचना प्रकाशित गरेको थियो । तीनैपटक कसैको बोलपत्र नपरेपछि उक्त कम्पनीलाई ३० लाख रुपैयाँमा अनुमति दिइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । गत आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवा उठाउन सोही कम्पनीले ठेक्का पाएको थियो । कोरोना कहर र निषेधाज्ञाका कारण नदीजन्य पदार्थ सङ्कलन नभएपछि गाउँपालिकालाई राजश्व घाटा लागेको थापाले बताए ।

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा देवघाटस्थित स्वतन्त्र युवा समूहले विरोध जनाएका छन् । स्थानीयवासीको विरोध रहिरहे आगामी आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवाको ठेक्का नलाग्ने निश्चित भएकाले सचेत हुन थापाले आग्रह गरे । उनले खुल्ला र प्रतिस्पर्धात्मक रुपमा घाट बोलपत्रमा लैजाने वातावरण सिर्जना गर्न आग्रह गरे । नदीजन्य पदार्थ उत्खनन्बाट सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका काममा लगानी गरिने थापाले भने । “देवघाट गाउँपालिकाको वनपैदावर, ढुङ्गा, गिटी, बालुवा, विकास निर्माण कार्यमा देवघाटका युवालाई प्राथमिकता दिन्छौं,” उनले भने ।

देवघाटस्थित स्वतन्त्र युवाहरुको समूहले भने जथाभावी रुपमा उत्खनन् गरेको भन्दै गाउँपालिकासमक्ष विरोधपत्र बुझाएका छन् । गाउँपालिकाका मुख्य घाटहरुबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन् रोक्न माग गर्दै विरोधपत्र बुझाइएको युवा गणेश थापाले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.