संसद विघटनको असरः नेपाली हवाई क्षेत्र पुनः इयुको कालोसूचीमा

  २०७८ जेठ २१ गते १०:३९     विकासन्युज

काठमाडौं । विगत ८ वर्षदेखि नेपाली हवाई क्षेत्र युरोपेली संघ (इयु) को कालोसूचीमा छ । कालोसूचीबाट हटाउने संकेत दिएको इयुले पुनः ६ महिनाका लागि अन्तराष्ट्रिय उडान गर्दै आएका तीन वायुसेवा कम्पनीहरुलाई कालोसूचीमा नै राखेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण छुट्याउने दुई विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि आइकाओ दिवसको अवसरमा इयुले एक विज्ञप्ती जारी गर्दै कालोसूचीबाट हटाउने संकेत दिएको थियो । तर प्रधानमन्त्रीले संसद भंग गरेपछि विधेयकको प्रक्रिया लम्बिएपछि इयूको प्रतिबन्ध पनि थपिँदै गएको छ ।

संसद विघटन पछि राष्ट्रिय सभामा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ रोकिएको छ ।

इयुको मुख्य चासो नै नेपाल नागरिक उडड्यन प्राधिकरणको संरचनामा रहेको थियो । सेवा प्रदायक र नियामक निकाय एकै भएको भन्दै क्यान छुट्याउन संसदमा दर्ता भएको विधेयक पास नहुँदा कालोसूचीको अवधि लम्बिएको हो । इयुले ६/६ महिनामा प्रकाशन गर्ने सेफ्टी अडिट रिभ्यू अन्तर्गत मे महिनामा सार्वजनिक भएको प्रतिवेदन अनुसार पुनः नेपाली वायुसेवा कम्पनीहरु इयुको कालोसूचीमा परेका छन् ।

निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ११ फागुन २०७६ मा नेपालको ‘हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ राष्ट्रिय सभामा दर्ता गराएका थिए । सोही विधेयक ऐन बनेर नआउँदा नेपाली उड्डयन क्षेत्र ईयूको कालोसूचीबाट हट्न सकेको छैनन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीहरु भने इयुले तोकेअनुसारको सुरक्षा मापदण्ड पूरा गरेको भन्दै छिट्टै हट्ने दाबी गर्छन् ।
इयुले नेपाली आकाशलाई कालोसूचीमा राख्दा अन्तराष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स युरोपेली आकाशमा उड्न पाएका छैनन् । सरकारी स्वामित्वको निगमले लामो दुरीमा उडान गर्ने भन्दै ल्याएको दुई थान एयरबस ३३० (वाइडबडी) इयुको कालोसूचीका कारण गन्तव्य विस्तार गर्न सकेको छैन ।

सबै वायुसेवा कम्पनी कालोसूचिमा

उक्त सूचिमा नेपालका १८ वायुसेवा कम्पनीलाई पुनः कालोसूचिमा राखेको हो । इयुले हरेक ६/६ महिलामा यस्तो सूची अपडेट गर्ने गर्छ ।

इयुको कालोेसूचिमा आन्तरिक उडान गर्दै आएका एयर डाइनेस्टी, अल्टिच्यूड एयर, फिस्टेल एयर, समिट एयर, हेली एभरेष्ट, कैलास हेलिकोप्टर, मकालु एयर, मनाङ एयर, माउण्टेन हेली, प्रभु हेली, सौर्य एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स (गुण), सीता एयर र तारा एयर रहेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर तथा अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको यति एयरलाइन्स र श्री एयरलाइन्स पुनः कालोसूचिमा परेका छन् ।

इयुले किन राख्यो कालोसूचीमा ?

सन् २०१३ को जुलाईमा आइकाओकै अडिट टोलीले नेपालको वायु सेवा कम्पनीलाई दिइने सञ्चालन अनुमति पत्र दिँदा आइकाओको प्रक्रिया पूर्ण रुपमा परिपालन नभएको, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मपदण्ड परिपालन नगरेकोलगायत अन्य सुरक्षाका विषय न्युन रहेको भन्दै नेपाललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

आइकाओको रिपोर्टलाई आधारमा इयुले नेपालका सबै वायुसेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । इयुले नेपाललाई कालोसूचीमा राखेका कारण नेपालका कुनै पनि विमानले युरोपेली परिषद् सदस्य रहेका मुलुकमा सिधा उडान गर्न पाएका छैनन् ।

सन् २०१७ मा आइकाओको अडिटले कालोसूचीबाट हटाएपनि युरोपियन युनियनले अझै नेपाललाई उक्त सूचीबाट हटाएको छैन । आइकाओको रिपोर्टलाई आधार बनाएर नेपालले इयु उड्डयन सुरक्षा समिति बैठकमा नेपाललाई कालोसूचीबाट हटाउन आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.