बजेटमा हवाई क्षेत्रलाई सम्बोधन भएनः वायुसेवा सञ्चालक

  २०७८ जेठ २० गते ११:५३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ कोे बजेटमा हवाई (वायुसेवा) क्षेत्रलाई सम्बोधन नगरेको जनाएको छ ।

अन्य क्षेत्रका उद्योगलाई विभिन्न खालका छुट दिदाँ सरकारले वायुसेवा क्षेत्रलाई सम्बोधन नगरेको संघका अधिकारीहरुले बताएका छन् ।

संघका प्रवक्ता योगराज कँडेल सरकारले पर्यटन मन्त्रालयलाई राम्रो बजेट उपलब्ध गराएपनि वायुसेवा क्षेत्रलाई नसमेटेको बताउँछन् ।

‘बजेट वक्तव्यमा कोभिड–१९ प्रभावित हवाई सेवा, होटल, ट्राभल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आ.व.२०७८/७९ मा तिर्नुपर्ने ईजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाइएको भनिएको छ तर नवीकरण छुट पाउँन हामीले विभिन्न खालको समस्या भोग्नुपर्छ’, उनले भने, ‘आयकर ऐनमा विशेष उद्योगमा समेटिएका क्षेत्रलाई मात्र कर छुट दिने भन्ने व्यवस्था छ । हाम्रो हवाई क्षेत्र विशेष उद्योगभित्र पर्दैन । आयकर ऐन संसोधन नहुँदासम्म हामीले नवीकरण छुट पाउने अवस्था छैन ।’

गत वर्ष पनि कोभिड प्रभावित उद्योगलाई ५ प्रतिशत व्याजदरमा दिइने पुनर्कर्जालाई निरन्तरता दिईएको भनिएको थियो । तर आmूहरुले गत वर्षपनि पुनर्कर्जा नपाएको र यसपाली पनि पुरानै कार्यक्रम नै दोहोरिएकोले पाइन्छ भन्ने नभएको उनको भनाई छ ।

गत वर्ष हवाई उद्योग २० करोडभन्दा माथि नपर्ने उद्योग हुँदा पुनर्कर्जा सुविधा नपाएको उनी बताउँछन् ।

विमानस्थल विस्तारदेखि पर्यटन प्रवद्र्धनमा सरकारले जोड दिँदा विदेशी पर्यटक उलेख्य रुपमा भित्र्छन भन्ने अनुमान छ । विदेशी धेरै आउँदा हामीलाई केही राहत हुन्छ ।

यस्तै सरकारले आगामी बजेटमा तारे होटेलका लागि आवश्यक पर्ने पहुँच मार्ग र प्रशारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेमा निर्माण लागतको ७५ प्रतिशत रकम शोधभर्ना दिने भएको छ ।

आईसोलेशन सेन्टरको रुपमा रहेका होटललाई सरकारले निर्धारण गरेको मापदण्ड बमोजिमको रकम उपलव्ध गराउने व्यवस्था बजेटमा गरिएको छ । होटललाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने तथा निषेधाज्ञा अवधिभरको विद्युत महसुल शुल्कमा छुट दिने व्यवस्था मिलाईएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट बक्तव्यमा उल्लेख गरेको छन् ।

होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक शाह होटल व्यवसायीको लामो समयदेखिको माग बजेटमा सम्बोधन भएको बताउँछन् । उनले होटल व्यवसायलार्ई उत्पादन उद्योगसरहको सुविधा उपलब्ध गराईने कुरा सकारात्मक भएको बताए ।

यस्तै सरकारले बजेटमा नेपालको पर्यटन प्रवद्र्धन गर्न विभिन्न ल्याएका विभिन्न कार्यक्रम राम्रो भएको भन्दै कार्यान्वयन हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.