नो भ्याक्सीन, नो भोट

  २०७८ जेठ १२ गते १३:२९     सुशिल घिमिरे ‘त्रैलोक्य’

समाचार नम्बर एक– पछिल्लो चौविस घन्टामा कोरोनाको कारणले देशमा १९० जनाको मृत्यु भएको छ भने देशभरि कोरोना सक्रंमितको सख्या ११५८५२ पुगेको छ । यसैगरि हालसम्म मृतकको संख्या ५८४७ पुगेको छ (जेष्ठ ६ गते, विकासन्युज डटकम) । पछिल्लो चौविस घन्टामा कोरोनाको कारणले देशमा १७७ जनाको मृत्यु भएको छ भने देशभरि कोरोना सक्रंमितको सख्या एक लाख सोह्र हजार नाघेको छ । त्यसैगरि हालसम्म मृतकको सख्या ६०२४ पुगेको छ (जेष्ठ ७ गते, विकासन्युज डटकम) ।

समाचार नम्बर दुई– देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर, नेताहरु शितल निवासमा (जेष्ठ ७ गते, विकासन्युज डटकम) । प्रधानमन्त्रीमा ओलीले पनि दावी गरे (जेष्ठ ७ गते, विकासन्युज डटकम) । प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मसिंर ३ मा चुनाव (जेष्ठ ८ गते, विकासन्युज डटकम) । ओलीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन (जेष्ठ ८ गते, विकासन्युज डटकम)

माथिको समाचार नम्बर एकमा देशको हालको कोरोनाको कारणले दिनानुदिन मृत्यु भएको खबर छ । जुन विकासन्युज डटकमसहित देशका प्रमख मिडियाहरुले प्राथमिकता साथ प्रकाशन प्रसारण गरेका छन् भने दोस्रो समाचारमा नेपाली जनताले निर्वाचनबाट देशमा अव स्थीर सरकार होस् भनेर बहुमत दिएको पार्टीभित्र आन्तरिक द्वन्द र सत्ता खिचातानीको कारणले वहुमतको कदर नभएको प्रस्ट देखिन्छ ।

नेपाली जनताका लागि न पहिलो समाचार पढ्न, हेर्न वा सुन्न रुचिकर छ, न दोस्रो नै । फगत राजनीतिक अदुरदर्शिताको कारण आम नेपाली यी दुबै समाचार पढ्न वाध्य भए । नेताहरुले बलजफ्ती समाचार पढाए ।

नेपालीमा एउटा भनाई छ– कसैलाई केको धन्दा को नि केलाई खानकै धन्दा । आज विश्व कोरोनाको यत्रो महामारीले दिनानुदिन देश गरिवीको रेखा मुन्तिर गइरहेका छन् । यो बेला देश र जनतालाई कोरोनाको महामारीबाट कसरी बचाउन सकिन्छ भनेर सम्पूर्ण शक्ति लगाउनु पर्ने आवश्यकता छ । देशको अर्थतन्त्र कसरी माथि लान सकिन्छ भनेर नेताहरु लाग्नुको साटो सत्ताको खिचातानीले ५ वर्षको स्थीर सरकारको लागि जनताले दिएको वहुमतको सरकार मध्यावधी निर्वाचन गर्न हौसिएको छ ।

जनता, संविधान, अर्थतन्त्र र परिवेशले नमागेको मध्यावधी निर्वाचनतिर देशलाई धकेलिएको छ । यस्तो बेलामा भोट किन दिने ? कसलाई जिताउने ? जिताएर जनताले के पाउने ? जनताका दैनिक आवश्यकता परिपूर्ति गर्न नसक्ने यही अनुहारलाई भोट दिने ? भन्ने प्रश्न सवै नेपाली सामु छ । कोरोना महामारीको बेला जनतालाई सुरक्षित राख्नु भन्दा, सवै नेपालीलाई कोभिड संक्रमण विरुद्धको खोप लगाउने वातावरण वनाउनुभन्दा अक्सजिन, अक्सिजन सिलिन्डर, आईसीयु बेड, भेन्टिलेटरको व्यवस्थापनको लागि सम्पूर्ण शक्ति र स्रोत परिचालन गर्नुपर्ने बेलामा अनावश्यक चुनावको लागि अरबौं रकम खर्च गर्न सरकार तयार भएको छ ।

अहिले जनतालाई व्यालेट होइन, भ्याक्सीन चाहिएको छ । पहिला जनता बचाउन लाग्नु जरुरी छ । न कि अनावश्यक चुनावको लागि अरर्बौ खर्च गर्न । यदि नेताहरुको रबैया यस्तै हुने हो भने, यसरकार यसरी नै अघि बढ्ने हो भने हामीले पनि भन्नु पर्ने हुन्छ– नो भ्याक्सीन, नो भोट । तिमीहरुले राजनीति भनेर अहिले जे गरिरहेका छौं, त्यो केबल लाजनीतिहरु नेताज्यू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.