काठमाडौंका अस्पतालमा दिनभर चक्कर, गरिबलाई पाइलै पिच्छे ठक्कर

  २०७८ जेठ ९ गते १७:३४      देव सिंह

तीन दिनदेखिको निरन्तर ज्वरो । शरिरको असाध्यै दुखाई । जेठ १ गते अकस्मात मलाई श्वासप्रश्वासमा समस्या आयो । अक्सिजनकाे लेभल नाप्न मसँग अक्सोमिटर थिएन । साथीहरुको सहयोगले तत्काल १३ सय ५० रुपैयाँमा अक्सिजन खरिद गरेँ र अक्सिजनको तह नापेँ ।
अक्सोमिटरमा मेरो अक्सिजनको लेभल ८५ देखियो । साथीहरुले अक्सिजनको तह धेरै तल आइसकेको बताउँदै अस्पताल जानु पर्ने सुझाव दिए ।

तत्काल नगरपालिकाबाट निःशुल्क रुपमा सेवा दिँदै आएकोे एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गरेँ । कोरोना भाइरस पोजेटिभको रिपोर्ट आएपछि मात्रै एम्वुलेन्स पठाउन सकिने नभए एम्बुलेन्स नआउने उताबाट जानकारी आयो । मैले अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भइरहेको भने पनि मेरो अनुरोधलाई स्वीकार गरिएन ।

मेरो मुटुको धड्कन् झन तीव्र गतिमा धड्किन थाल्यो । झन गाह्रो भइरहेको महसुस मैले गर्न थालेँ । साथीहरुले लगत्तै फेरि साही नम्बरमा फोन गरेर कोरोना पोजेटिभ रिपोर्ट आफुसँग भएको जानकारी गराए । त्यसको एक घण्टापछि एम्बुलेन्स आइपुग्यो । साँझको ६ बजिसकेको थियो । सो एम्बुलेन्सले मलाई भेनस अस्पतालमा पुर्यायो । त्यो बिचमा कुन अस्पताल जाने भन्ने विषय म काम गर्दै आएको संस्थाका मालिकले निर्णय गरिसेका रहेछन् ।

उनकै अनुरोधमा मलाई भेनस पुर्याइयो । भनेस पुग्ने बित्तिकै मलाई अस्पतालको ईमरजेन्सी कक्षमा अक्सिजन दिन थालियो । तर, अन्य कुनै उपचार भने मलाई गरिएन । अक्सिजन दिएको केही समयमै एक जना काला वर्णका मानिसले पीसीआर रिपोर्ट नभएको भन्दै उपचा। गर्न नसकिने बताए । म सँगै मेरा मालिक ( वुद्धि श्रेष्ठ) पनि सँगै हुनुहुनथ्यो ।

श्रेष्ठ सर ती व्यक्तिको कुरा सुनेर काउन्टरतर्फ लाग्नु भयो । काउन्टरमा उहाँलाई एक लाख रुपैयाँ खर्च लाग्ने भन्दै तत्कालै बुझाउन भनियो ।
श्रेष्ठ सरले अहिले ४० हजार मात्र आफुसँग रहेको र बाँकी भाेलि दिने बताउनु भयाे । त्यो शब्द सुन्ने बित्तिकै अघिका काला वर्णका मानिसले पीसीआर परीक्षणको रिपोर्ट नभएको कुनै हालतमा उपचार नहुने अडान लिए । काउन्टरमै बसिरहेका अर्का व्यक्तिले साहानुभुति जनाउँदै हामीलाई तुरन्त सिभिल अस्पताल जान सुझाव दिए ।

त्यसपछि श्रेष्ठ सरले मलाई सिभिल अस्पताल लिएर जानु भयो । करिब ८ बजे सिभिल अस्पताल पुगियो । सिसभिल सुनसान थियो । त्यहाँ पनि बेड खालि नभएको भन्दै अन्तै लिएर जान सुझाव दिइयो । अब हामीलाई फसाद पर्यो । श्रेष्ठ सरले विभिन्न व्यक्ति र ठाउँमा फोन घुमाउन थाल्नु भयो । श्रेष्ठ सरले बसुन्धारमा रहेको कान्तिपुर डेन्टल सेन्टरमा जानु पर्ने बताएसकेपछि हामी सिभिलको गेटमा रेहका ट्याक्सीहरुलाई सहयोग माग्न थाल्यौं ।

ट्याक्सीले पनि सिभिलबाट बसुन्धाराको ५ हजार रुपैयाँ माग्यो । बार्गेनिङ गर्दै जाँदा १ हजार रुपैयाँमा कुरा मिल्यो र हामी ९ बजे कान्तिपुर डेन्टलमा पुग्यौं । त्यहाँ पनि फेरि एक जना नर्सले बेड खाली नभएको जानकारी दिइन् । हामी फेरि अतालियौं । ती नर्सलाई धेरै आग्रह गर्यौं । उनले पनि डाक्टरहरु किन भर्ना गरेको भनि आफुसँग रिसाउने भन्दै भर्ना गर्न नसकिने जवाफ दिइन् । पछि धेरै ठाउँ फोन गर्दा ति नर्सकै मोबाइलमा फोन आयो र हामीलाई भर्ना गर्न लगाइयो ।

मलाई इमरजेन्सी कक्षमा लिइयो । त्यहाँ ७ वटा बेडहरु खालि नै थिए । तर, मलाई अगाडि बेड खालि छैन भनेर अर्कै अस्पतालमा जान सुझाइएको थियो । मेरो उपचारको प्रक्रिया सुरु भयो । पीसीआर परीक्षणदेखि विभिन्न १५ वटा टेष्ट गर्ने भन्दै काउन्टरबाट १५ हजार ७ सय रुपैयाँको बलि आयो । फार्मेसीबाट ८ हजार २ सय रुपैयाँको औषधी तत्काल सरले ल्याउनु भयो ।

केही घण्टापछि अस्पतालमा नर्सले विभिन्न औषधि र उपचारको नाम लेख्दै प्रति घण्टा अक्सिजन चढाएको ५ सय रुपैयाँ, प्रति दिनको ईमरजेन्सी वार्डको १५ हजारका दरले दुई दिनको ४० हजार हुने बताइन् । उनले अझ आईसीयुमा राखेको २८ हजार, प्रतिदिन वार्डमा भएमा न्यूनतम १५००० हजारका साथै साथै छातीको एक्सरे दिनहुँ र अन्य पनि टेष्टहरु दिनै हेर्नु पर्ने भनेपछि अहिलेसम्मको रकम साहुले चुक्ता गरेर सर फेरि अर्को अस्पतालको खोजिमा लाग्नु भयो ।

उहाँले अब कान्तिपुर डेन्टलबाट पनि टिचिङ्ग अस्पतालमा जानु पर्ने भन्दै मलाई एम्बुलेन्समा राख्नु भयो । केहि छिनमै म एम्बुलेन्सबाट टिचिङ्ग अस्पतालको गणेशमान भवनको प्राङ्गणमा पुग्यौं । मलाई अझै श्वास फेर्न समस्या भइरहेको थियो । तर, देशकै ठुलो मध्येको सरकारी अस्पतालमा पुगेपछि निको हुने कुरामा म ढुक्क थिएँ ।

टिचिङ्ग पुग्दा ठूलो भिड थियो । कोभिड लेखिएको कोठाभित्रको हुललाई छिचोल्दै दुई डाक्टर दुई नर्स देख्दा रातो मछेन्द्र नाथको रथ तानी रहँदा खटभित्र रहेको मछेन्द्रनाथ नै देखे जस्तो लाग्यो मलाई । करिब दश जना विरामीका मान्छेलाई एकजना डाक्टरले जवाफ दिंदै थिए ।
अस्पतालको आँगनदेखिको विरामीको चाप र बाटैमा पल्टिरहेका विरामी र तिनका कुरुवा देख्दा मलाई गोंगबु बस अड्डामा बस पर्खेका र छुटेर भोली गन्तव्य जान बिश्राम गरिरहेका यात्रीको जमात जस्तै कल्पना गर्न थालेँ ।

म पनि त्यही हुलको एक कुनामा लम्पसार परिहालेँ । ‘यहाँ त धेरैले आफैले अक्सिजन बोकेर आउँछन्’ पीपीए लगाएका एकजनाले मसिनो स्वरले जानकारी गराउँदै थिए । तर केहि छिनमै मैले पनि अक्सिजन लगाउन पाएँ मेरो भाग्य बलियो नै रहेछ जस्तो लाग्यो । टिचिङ्गमा दुई दिनसम्म बसेँ । २ दिनपछि मेरो अक्सिजन निकालियो र ६ गते त डिस्र्चाज गर्नु पर्यो को छ तपाईको मान्छे बोलाउनु भनेपछि मैले भने खोई त डाक्टर साब मलाई छातीमा ईन्फेक्सन देखियो निमोनियालाई के गर्ने ? खोकी अझै छ भन्दै गर्दा मसँग कुरा गर्दै गरेका डाक्टर अर्को विरामी हेर्न फर्किए ।

मैले मेरो सरलाई यो कुरा बताएँ । उहाँले पनि नर्सलाई सोध्दा अब निमोनिया त कोभिड लागे पछि भई नै हाल्ने र यो निको हुन ६ हप्तासम्म लाग्ने हुन्छ अब घरमा गई आराम गर्ने भनेपछि मैले सहज महसुस गरेँ । म भारतीय नागरिक । भारतिय नागरिक भएकै कारण अक्सिजन लगाएकोे ३ हजार ५ सय र सामुहिक वार्डमा राखिएपनि बेड चार्ज पनि ३ हजार ५ सय गरी ४ दिनको १७ हजार ५०० तिर्न लगाइयो । तर नेपाली भएमा चाहिं निशुल्क हुने रहेछ ।

कुन मुलुकको भनि चेक जाँच गर्ने कुनै ठोस आधार नहेर्ने भएपनि मेरो सरले चाहिँ झुठो विवरण दिन हुन्न भन्दै पैसा तिर्न बाध्य हुनु अब हामी अस्पतालबाट घर फर्किने भयौं । ट्याक्सीमा चढेर घर फर्कियौं । ट्याक्सीमा मेरो मनमा अनेकन कुराहररु खेद्यन थाले । चिनजान भएको व्यक्तिले ७ दिन मात्र प्राईभेट अस्पतालमा ज्यान बचाउन बस्नु पर्ने भएमा कति लाख खर्च हुँदो हो ? अझ ज्यान बच्ने नबच्ने कुरा र परिवारसँग पर रहँदाको कहाली लाग्दो स्मरणको कम्पन मनमा छुट्टै छ ।

अस्पतालमा आएको बिल मेरो मालिकले ममाथि नै थुपार्यो भने मेरो हाल के होला ? एकदिनमा ५० हजार रुपैयाँको बील तिर्नु त मेरा लागि आकाश पातल हो । यो भनेको म जस्ता निम्न आयश्रोत भएकाहरुलाई पशुपति आर्यघाट नै जा भने जस्तो लाग्यो । सरकारी अस्पताल भर्ना हुन पनि चिनजान नै चाहिने रहेछ । आज म बीमारी पर्दा जे दुःख अप्ठेरो भोगेँ मेरो गरिबीले हो मेरो नाता गोता र चिनजानको कमिले भएको जस्तो मलाई महसुस भयो ।

(प्रस्तुतीःअजय श्रेष्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.