सामाजिक सञ्जालः फिलिङ ह्याप्पीले निम्त्याउँदैछ फिलिङ स्याड

  २०७८ जेठ ८ गते १८:००     सुशिल घिमिरे ‘त्रैलोक्य’

खै, हजुर त कस्तो मान्छे …। अस्ति मेरो जन्मदिनमा पनि फेसबुकमा ह्यापीबर्थ डे बुढी भनेर दुई शब्द लेख्नु भएन् । मन्दिर त लानुभयो । फोटो पनि खिच्नुभयो तर फेसबुकमा राख्नुभएन ? हेर्नुत अरुका बुढाहरुले कत्ति आफ्नो र परिवारको फोटो राख्छन् ।

त्यो मेरो साथी छिन् नि शर्मिला, उसको बुढाले बुढाबुढीको कति फोटो राख्छन् । कत्ति माया है उनीहरुमा । कम्तिमा मेरो फोटो नराखे पनि छोरी आभ्याको त राख्नु नि हो । हजुर त खै कस्तो बुढा हो ? अचम्म ।

श्रीमतीले एकविहानै फतफताउदै चियाको कप डाइनिङ् टेवलमा राख्दा म झसंग भएँ । अनि श्रीमती रिसाएको भान भएर मैले फकाउँदै उसलाई मायालु पाराले भन्न थाले, फेसबुकमा फोटो राखेन भनेर नरिसाउन । माया त गर्छु नि औधी ।

जवाफमा उनले उल्टै खाउला झै गरेर मलाई हेर्दै भनिन्, माया मात्र गरेर हुन्छ ? जनाउनु पदैन ? जमाना देखावाको छ नि बुढा ।

म ट्वा परें र सोच्न थालें ।

आजका जमानामा धेरै मान्छे यस्ता छन्, जो नयाँ लुगा किने भने नयाँ लुगा लगाएर र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छन् । अलिकति घाम लाग्यो भने फिलिङ् गर्मी भन्दै, अलिकति जाडो भयो कि फिलिङ् कोल्ड भन्दै ।

आज मिठो र नौलो केही पकाए भने हत्तनपत्त फोटो अपलोड हुन्छ सामाजिक सञ्जालमा । र, आफनो सफलता र असफलता त्यही समाजिक सञ्जालमा पोस्ट भएको लाइक र कमेन्टबाट निक्यौल गर्छन् । छिमेकी को छ ? आफू बसेको घर वरपर कस्ता मान्छे छन् ? आफ्ना नातागोता इ्ष्टमित्र कहाँ छन् ? कसलाई आपत परेको छ ? यस्ता कुराहरुको रत्तिभर ख्याल नगरि एउटा दश एघार हजारको मोवाइलमा इन्टरनेट जोडेर नचिनेको मान्छेलाई साथी बनाएर घन्टौं कुरा गर्छन् र रमाउछन् भर्चुअल संसारमा ।

म सोच्छु, के मेरी श्रीमतीले भने झै म कस्तो मान्छे हो त ? मान्छेको आ-आफ्नो स्वाभाव र रुची हुन्छ । मलाई भर्चुअल संसारभन्दा वास्तविक संसार मन पर्दछ । तर, यो भनिरहँदा म सामाजिक सञ्जाल नचलाउने चाही होइन् । फेरि सामाजिक सञ्जालमा मेरो अफिसका कार्यालय सहयोगीदेखि उच्च लेवलका कर्मचारी पनि साथी छन् । नातागोता मात्र होइन्, नेतादेखि पत्रकार लगायत सबैथरिका साथीहरु गरि करिब एक हजारभन्दा धेरै छन् ।

मैले फिलिङ गर्मी भन्दै, फिलिङ कोल्ड भन्दै वा मोटर साइकल किने भने फिलिङ ह्यापी भन्दै नितान्त निजी कुरा सामाजिक सञ्जालमा राखे भने मैले आफनो स्तर बढाए कि घटाए ? मेरा हजारौं साथीमध्ये कतिलाई मेरो निजी कुरासँग सरोकार नहुन पनि त सक्छ । बरु मैले निजी कुराभन्दा आफू बसेको ठाउको नौलो कुरा, जानकारी र शिक्षाप्रद कुरा राख्दा त्यसले समाजलाई केही भएपनि फाइदा दिन्छ जस्तो लाग्छ ।

सायद यही सोचले होला, म र मेरो श्रीमतीको अक्सर यहि कुरामा ठाकठुक परिरहन्छ ।

हामी किन भर्चुअल संसारमा अनावश्यक समय दिएर रमाइरहेका छौं ? के यो चलाएर अनावश्यक व्यस्त हुनुभन्दा यसलाई सीमित चलाएर ज्ञान वा जानकारीको लागि मात्र चलाएर बाँकी समय यसमा खेर नफाल्दा हुन्न ? बरु आफ्नो करेसाबारीमा तरकारी रोप्नु राम्रो होइन् ? बरु फूल लगाउनु राम्रो होइन ? अध्ययन गर्नु राम्रो होइन ? छिमेकीसँग टोल विकासका कुरा गर्नु राम्रो होइन ?

यस्तो कोरोनाको समयमा मृत्युसँग लडिरहेको मानिसले कोरोनाको कारणले मेरो फलानो मरे, हार्दिक श्रद्धाञ्जली भनेर राख्नुभन्दा मर्ने मरिगए भनेर यसो हौशला दिने र हिम्मत दिने कुरा राख्नु राम्रो होइन ?

नेतालाई गाली गरेको कुरा राख्नुभन्दा यो नेताले यो काम राम्रो गर्यो, यो पक्ष राम्रो छ, यसो गर्नु पर्छ भनेर राख्नु राम्रो होइन ? कुनै समाजसेवीले यो काम राम्रो गरे भनेर किन सकारात्मक कुरा राख्न हिचकिचाउँछन् भर्चुअल संसारका प्रयोगकर्ताहरु ?

आफूले पोष्ट गरेका कुरा कस-कसले पढ्छन् भन्ने ख्यालै नगरि अरुले गाएको गितलाई, अरुले दिएको डाइलगलाई अनावश्यक टिकटक बनाउनुभन्दा आफ्नै वरिपरि लुकेर रहेका मानिसहरुको प्रतिभालाई उर्जागर गर्दै सामाजिक सञ्जालमा राखे हुँदैन ?

म यस्तै यस्तै सोच्दै थिएँ । यत्तिकैमा अचानक श्रीमती हस्याङ्फस्याङ् गर्दै मलाई सुनाउन थालिन्, थाहा छ, हिजो त्यो परको आशा दिदीकोमा चोरी भएछ नि ? म छक्क पर्दै भन्न थाले, अनि घरमा कोही थिएनन् ?

जवाफमा उसले, होइन आशा दिदी सपरिवार घुम्न जानु भएको थियो, फेसबुकमा घुमेको फोटो थियो…। अनि मैले भन्न थाले, देख्यौं चोरहरुले पनि त फेसबुक चलाउछन् नि । घुमेको फोटो राखेपछि कोही छैन भनेर चोर्यो होला नि चोरले ।

अनि उनले फेरि सुनाइन् । थाहा छ, त्यो शर्मिलाको त डिर्भोस भएछ नि, आज फोटो राखेको थियो फिलिङ् स्याड भनेर ।

उनले यसो भनिरहदा मैले जिस्काउँदै उसलाई भने अनि शर्मिलाको त बुढाबुढीले फेसबुकमा सँधै फोटो राख्छन् भनेको होइन ? धेरै माया गर्छन् भनेको होइन ?

मैले यसो भनिरहँदा उनी मलाई भन्दै थिइन्, त्यो त देखावा रहेछ बुढा । देखावातिर जानु हुँदैन रहेछ । बरु मेरो र छोरीको फोटो समाजिक सञ्जालमा नराख । तर, माया चाही यस्तै गरिराख है भन्दै मलाई अंगालो हालिन् ।

मैले पनि होइन, व्यक्तिगतभन्दा पनि तिमी र हाम्रो छोरीले समाजको लागि केही राम्रो गरेउ भने म हालिहाल्छु नि तिम्रो फोटो फिलिङ ह्याप्पी बुढी भन्दै भनेँ । अनि हामी दुवै जना हाँस्दै मोबाइललाई सोफातिर मिल्काएर कुटो बोकेर करेसाबारीतिर लाग्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.