सँगै ह्याप्पी वर्थ डे, श्रद्धाञ्जली र बधाई

  २०७८ जेठ ७ गते ११:२८     सन्तोष तिमल्सिना

मोबाइल तथा कम्प्युटरमा इन्टरनेटको माध्यमबाट आफूले प्राप्त गरेका सूचना, आफ्नो विचार, फोटो, भिडियो लगायतका सामाग्रीहरु आफन्त, साथीभाई र शुभेच्छुहरु माझ आदानप्रदानको लागि प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । वेबसाइट एवं इन्टरनेट माध्यमद्वारा प्रत्यक्ष संवाद, कुराकानी, आफ्ना रुची, विचार र अभिब्यक्ति व्यक्त गर्न, जुनसुकै स्थान, समयमा पनि प्रयोग गर्न सक्नु नै सामाजिक सञ्जालको बिशेषता हो । समुदायमा आधारित सामग्रीहरु आदानप्रदान गर्ने एक प्रकारको सञ्चार माध्यम भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । युट्युव, फेसबुक, भाइबर, ट्वीटर, इन्स्टाग्राम, टिकटक, थम्ब्लर, वीच्याट, स्क्याईप आदि सामाजिक सञ्जालका उदाहरणहरु हुन् ।

ग्रामिण भेगमा समेत इन्टरनेटको पहुँच विस्तार भएसँगै सामाजिक सञ्जाल प्रयोगको दायरा धेरै फराकिलो भएको छ । सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि बृद्धि भईरहेका छन् । युवाहरुको त कुरै छोडिदिऊँ, बालबालिकादेखि जेष्ठ नागरिकहरुको हातहातमा मोबाईल मात्र हैन सामाजिक सञ्जालबाट कोही पनि अछुतो छैनन् । सरल प्रविधिबाट प्रयोग गर्न सकिने भएकाले पनि बालबालिकाहरुदेखि बृद्धबृद्धाहरुमा समेत सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको हो ।

सामाजिक सञ्जाल मानिसहरुलाई जोड्ने एक माध्यम हो । यो अधिकांश मानिसहरुका लागि टाईमपासको साथी पनि हो । मानिसहरुले सामाजिक सञ्जालबाट नै धेरै सूचनाहरु लिने गरेका छन् । प्राय: मानिसहरुले सञ्चारमाध्यमबाट भन्दा पनि फेसबुक, ट्वीटरमा समाचारहरु हेर्ने गर्दछन् । पछिल्लो समय फेसबुक सूचनाको स्रोत नै बनेको छ । सामाजिक सञ्जाल प्रयोगको रफ्तारसँगै यसले सामाजिक चेतनाको स्तर बृद्धिमा सहयोग पुर्याएको छ । महामारीको समयमा सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले एकातर्फ हाम्रा दैनिकीलाई केही सरल बनाईदिएको छ भने अर्कातर्फ संवेदनशील घडीमा मानशिक त्रास र जोखिम समेत थपिदिएको छ ।

लेखक

आफ्नो अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पोख्दैमा कतिपय व्यक्तिहरु आफूलाई पत्रकार हुँ भन्ने सम्झिन्छन् । एउटा कुशल पत्रकारले कुनै पनि घटना, परिवेश र वस्तुस्थितिलाई मनन र विश्लेषण गरी स्रोत र साधनको प्रयोग गरी संयमतापूर्वक आम नागरीकहरुलाई सुसूचित गर्दछ । कतिपय ब्यक्तिहरुले फेसबुक, टिकटक, ट्वीटरहरुमा सचेतनामूलक, सन्देशमुलक, ज्ञानबर्धक भिडियो, पोस्टरहरु बनाएर नागरिकहरुलाई सुसूचित बनाईरहेका छन् भने कतिपयले अड्कलबाजी, सम्भावना र महामारीले निम्त्याएको केही घटनाहरुलाई बङ्ग्याएर अफवाह फैलाउने काम गरेका छन् । महामारी हामीले चाहेर निम्तिएको संकट होईन । यो एउटा प्राकृतिक विपत्ती हो ।

राष्ट्रिय विपदमा पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ । पत्रकार आचार संहिता अनुसार पत्रकार तथा सञ्चारमाध्यमले जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नुहुँदैन भनिएको छ ।

स्वास्थ्य संवेदनशिलतालाई प्रतिकुल हुनेगरी फैलिएको महामारीको समयमा सत्य र तथ्य सूचना संप्रेषण गर्दागर्दै पनि आम मानसमा त्यसको नकारात्मक असर पर्न सक्छ । सिङ्गो विश्व नै कोभिड–१९ को महामारी विरुद्ध युद्ध मैदानमा होमिइरहेको बेला हामी सामान्य नागरिकहरुको फेसबुकमा स्ट्याटसमा राख्न आतुर हुन शोभनीय नहोला । फेसबुकको वालमा एउटा २५ बर्षिय युवकको कोरोनाकै कारण मृत्यु भएको खबर देख्दा आइसोलेसनमा कोभिडसँग लडिरेका ५० बर्षका मानिसलाई अवश्य पनि जीवनप्रति मनोवल उच्च रहन सक्दैन । वर्तमान अवस्थामा कसैलाई पनि मृत्युको समाचार हेर्ने रहर छैन । हरेक व्यक्तिले आफ्नो मनोबल उच्च राख्ने सामाग्रीहरुको खोजी गरिरहेका छन् । ‘अचानोको पीडा खुकुरीलाई के थाहा ?’ भनेजस्तै भोग्नेहरुका लागि महामारी भयङ्कर छ, भुक्नेहरुका लागि सामान्य छ ।

यो बेला मानव जीवन अत्तालिएको बेला, कति मानिस पीडामा छट्पटाईरहेको बेला, सबैले सजगता अपनाउनुपर्ने बेला, आत्मविश्वास र धैर्यतामा अडिग रहनुपर्ने बेला हो । पछिल्लो समयमा मानिसहरु यति त्रसित भएका छन् की कसैको फोटो फेसबुकमा अपडेट गरेर बर्थडे विस गर्यो वा बधाई दियो भने पनि त्यो तस्वीरमा नजर पर्नासाथ मुटु कमाएर, छातिमा हात राखेर स्ट्याटस तिर नजर लगाउँछन् र लामो श्वास फेर्छन् । कोभिडका कारण मृतक ब्यक्तिको तस्वीर राखेर श्रद्धाञ्जली व्यक्त गर्दा मृतकका परिवार र आफन्तजन प्रति समवेदना हैन पीडा थपिएको छ । एकै ठाउँमा छिनमा नै ह्याप्पी वर्थ डे, छिनमा नै श्रद्धाञ्जली र छिनमा नै बधाई । फेसबुक प्रयोगकर्ता तपाईंहामीले गरेका यस्ता पोष्टले सूचना संप्रेषण भन्दा पनि समुदायमै मानसिक सन्त्रास फैलाएको छ ।

सामान्य अवस्थामा फेसबुकमा राखिएका यस्ता पोष्टहरुले सूचना सम्प्रेषण गर्ला तर यो बिषम परिस्थितीमा यस्ता खालका पोष्टहरु नराख्दा नै बुद्धिमानि होला । हामी सबै कोरोना भाईरसको रोकथाम, नियन्त्रण र निराकरणको मार्गमा छौं । उच्च मनोबल, ढृढ संकल्प, धैर्यता र सकारात्मक सोचबाट नै आफु, आफ्नो परिवार र समाजलाई जोगाउन सक्छौं । अब डराएर होइन मनोबल बढाएर कोभिडसँग युद्ध लड्न तयार हौं ।

(लेखकः काभ्रे सन्देश साप्ताहिकका सह–सम्पादक हुन् ।)

One comment on "सँगै ह्याप्पी वर्थ डे, श्रद्धाञ्जली र बधाई"

  • शुकदेव थपलिया says:

    समसामयिक विषययक लेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.